सचिवालय फेर्ने तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय हेरफेरको तयारी गरेको बुझिएको छ । प्रमुख सल्लाहकार र सचिवालयका सदस्यहरू एकपछि अर्को विवादमा मुछिएपछि अप्ठेरोमा परेकी उनले हाल कार्यरत सबैलाई हटाएर नयाँ टीम ल्याउन लागेको बालुवाटार निकट स्रोतले जानकारी दिएको हो ।
आज बस्ने क्याविनेट बैठकले यससम्बन्धी निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र मुख्य स्वकीय सचिव आदर्शकुमार श्रेष्ठमाथि सरकारका निर्णय र महत्वपूर्ण नियुक्तिमा अनावश्यक हस्तक्षेप गरेको आरोप लागिरहेको छ ।
केही दिनअघि प्रमुख स्वकीय सचिव श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको समाचार बाहिरिएको थियो । सिंहदरबार र बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका मान्छेहरूको दबदबा बढेको भन्दै जेनजीहरूले चर्को असन्तुष्टि जनाइरहेका छन् ।
जेनजी फ्रन्ट लगायत जेनजीका विभिन्न समूहले प्रधानमन्त्रीको राजीनामा मागेको छ । केही जेनजी युवाले हिजो हिजो बालुवाटार घेराउसमेत गरेका थिए ।
सुशासन, पारदर्शीता र मितव्ययिता कायम गर्नुपर्ने जिम्मेवारीसहित सडकको बलमा सत्तामा पुगेकी प्रधानमन्त्री कार्की दबाबमा परेकी छन् । जसका कारण प्रमुख सल्लाहकारसहित सबैलाई हटाएर सेटै नयाँ ल्याउने गृहकार्यमा उनी रहेको बताइएको छ ।
टिप्पणीहरू