विश्वासको संकट झन्झन् बढ्दै
पार्टीभित्र विश्वासका संकट छताछुल्ल भए । टुटफुटका कारण गम्भीर बहस तपसिलमा परे । कांग्रेस र एमालेमा महाधिवेशनको श्रृंगारपटार चल्दै गए । पाखुरे र तिघ्रेहरूको भूमिका बढ्यो ।
मित्रहरू प्रतिस्पर्धी बन्दैछन्, विरोधी र शत्रु बढ्दैछन् । सिद्धान्तका लागि मृत्युवरण गर्न जनयुद्धमा होमिएकाहरूले त अझ तमाशा नै देखाउँदैछन् । पात्र र चिन्तन हेर्दा जनयुद्ध आफैंमा प्रश्न बनेर उभिएको छ । नेपथ्यको हुकुमअनुसार जङ्गी अड्डाले बनाएको सुशीला कार्की सरकार ‘जेनजी’को हुकुम पालन गर्न सक्ने अवस्थामा छैन, अस्वीकार गर्न सक्ने अवस्थामा त झनै छैन ।
अहङ्कार टुट्न सक्छ तर सहमति र आत्मस्वीकार गर्न सक्दैन । यसबीच एमालेले राजनीतिक परिदृश्यमा आक्रामक रणनीति अपनायो । यो मुख्य रूपमा सत्तामाथि दबाब सिर्जना गर्ने, कार्यकर्तालाई सडकमा उतार्ने, र संस्थागत रूपमा शक्ति प्रदर्शन गर्नेमा केन्द्रित छ । अध्यक्ष केपी शर्मा ओलीको रणनीति ‘रक्षात्मक आक्रमण’का रूपमा विकसित भएको छ । ‘सुरक्षाको पहिलो तरिका आक्रमण हो’ भन्ने कथनसँग जोडेर हेर्दा, एमालेले विपक्षीका कमजोरीहरूलाई निशाना बनाएर आफ्नो स्थिति मजबुत पार्ने प्रयास गरेको स्पष्ट छ । एमालेले ‘जेन–जेड’ ‘बिद्रोह’लाई आफ्नो आक्रामक अभियानको आवरण बनाएको छ । शुरुमा युवा असन्तुष्टिको प्रतीक बनाइए पनि, हाल यो सरकारविरुद्धको हतियार बनेको छ । ओलीले बारामा नेताहरूमाथि भएको आक्रमणलाई राज्यको ‘संगठित आक्रमण’ भनेका छन् तर मधेशको राजनीतिमा सरकार बनाउने खेलको प्रतिकार पनि हो भनेरचाहिँ स्वीकार्न सकेका छैनन् ।
कार्यकर्ताहरूलाई सत्तासँग भिड्न उक्साउँदा सरकारको स्थिरतालाई चुनौती दिन्छ । एमालेले ‘नेशनल भोलेन्टियर्स फोर्सले गठन गरेर संस्थागत आक्रमणको संरचना तयार पारेको छ । यो फोर्सलाई ‘हिंसा र अराजकताविरुद्ध’ भनिए पनि, यसको मुख्य उद्देश्य नेतृत्वको ‘सुरक्षा’का नाममा आक्रामक कारबाही हो । ओलीले यसलाई ‘कसैविरुद्ध नभएर हिंसाविरुद्ध’ भनेर बचाउ गरे पनि वास्तवमा अर्धसैनिक दस्ता नै हो ।
भृकुटीमण्डप र च्यासल जस्ता ठाउँमा आयोजित र्याली र जनसभाहरूमा ओलीको ‘हुँकार’ले सुरक्षा निकायप्रति ‘सफ्ट’ तर सरकारप्रति कडा धारणा देखाएको छ । युट्युब भिडियोहरूमा ओलीले प्रतिसोधको संकेत दिएका छन् । ईश्वर पोखरेलको चुनौतीलाई ओलीले ‘विपक्षीको षड्यन्त्र’ भनेर चित्रण गरिरहेका छन् । यो ध्रुवीकरण प्रयास ओली खेमालाई मजबुत बनाउने र विपक्षीलाई कमजोर पार्ने रणनीति पनि हो । विभाजनका पुराना घाउहरूलाई नयाँ सन्दर्भमा प्रयोग गरेर एकताको नाममा आन्तरिक शुद्धीकरण चलिरहेको छ ।
यो ‘उत्तेजना’ले हिंसा निम्त्याएर एमालेलाई ‘अराजक’ को ट्याग दिन पनि सक्छ । साथै, पार्टीभित्रको ध्रुवीकरणले थप फुटको खतरा निम्त्याउन सक्छ । समग्रमा यो रणनीतिलाई छोटो अवधिमा शक्ति सुदृढीकरणको लागि प्रभावकारी भए पनि दीर्घकालमा सहमति र संस्थागत स्थिरताको आवश्यकता नहुँदा अदूरदर्शी अभ्यास भन्न सकिन्छ । यो ‘ध्यान भड्काउने’ र ‘आक्रमण गर्ने’ संयोजन हो ।
राजनीति व्यवसायमा फेरिएपछि पार्टीहरूमा पसल खोल्ने होडबाजी चल्ने नै भए । कुन विचार, उद्देश्य, सोच र मनोविज्ञानले अहिले १२५ पार्टी दर्ता भए ? हिजो खाँटी क्रान्तिकारी देखिन चुनाव बहिष्कार गर्नेहरू पनि आज किन बहादुर भवनतिर लाइन लागे ?
हिजोका शत्रु आज मित्र र हिजोका सहयोद्धा एकाएक किन शत्रु बने ? परिस्थितिमा हेरफेर आएपछि भूमिका फेर्नु स्वाभाविकै हो । तर त्यस्तो परिस्थिति कुन कारणले आयो र विचार र व्यवहार नै फेर्नुपर्यो ? पक्कै पनि, विचार र व्यवहारमा टिक्न नसकेपछि नामको लोकप्रियतामा फस्नुहुँदैन । ठोकुवा गरेर भन्न सकिन्छ:नेपाली कम्युनिष्टहरूको अवस्था बुर्जुवा प्रजातान्त्रिकहरूको जति पनि छैन । यो भनेको विश्वासको सङ्कट हो । त्यसका मनोवैज्ञानिक असर चौतर्फी देखिएका छन्् ।
नेपाली समाज र राजनीति विश्वासको चरम सङ्कट र क्षयको ठूलो पीडाबाट गुज्रिरहेको छ । जे छैन त्यो देखाउनुपर्ने, जे छ त्यो लुकाउनुपर्ने अवस्था छ । विश्वास मानिसको चेतनामा सबैभन्दा प्रभावशाली संरचना हो । हामी जन्मँदा नै अस्तित्व अर्को मान्छेप्रति पूर्ण निर्भर हुन्छ । त्यही निर्भरतालाई ‘भरोसा’ भन्छौं । मानिसको अस्तित्व नै अर्काको उपस्थिति, सहयोग र भरोसामा टिकेको हुन्छ । हन्ना अरेण्ड्ट भन्छिन्— सबैभन्दा ठूलो राजनीतिक कर्म भनेको वाचा गर्नु हो । किनकि वाचाले अनिश्चित भविष्यलाई स्थिर बनाउन खोज्छ । विश्वास नहुने मान्छे भविष्यसँग अति डराउँछ । भोलि के हुन्छ ? अर्काले के गर्छ ? सम्बन्ध, सत्ता, निर्णय— केही पनि अनुमान गर्न सकिँदैन । त्यसैले नेतृत्वहरू भविष्यसँग डराउँदा कसैगरी पनि कुर्सी छाड्न चाहाँदैनन् । पूर्वानुमानबिना कुनै समाज टिक्दैन । विश्वासले सामाजिक जटिलता घटाउँछ । विश्वास नहुने हो भने हरेक निर्णयमा शङ्कैशङ्का उब्जिएर सामाजिक प्रणाली नै ठप्प हुन्छ । समाज संवादमा टिक्छ ।
धोका पाउँदा अर्को व्यक्ति मात्र होइन, आफैंप्रतिको भरोसा पनि टुट्छ । भरोसा हराएपछि व्यक्तिमा तीन कुरा देखा पर्छन्— अपराधबोध (‘म त मूर्ख रहेछु’), स्वसंरक्षण (अरूलाई नजिक आउन नदिने), र आक्रमण–रक्षाको द्वन्द्व बढ्दा ‘सबै शत्रु हुन्’ भन्ने मनोस्थिति । त्यसैले विश्वासको सङ्कट मनोविज्ञानमा लाग्ने सबैभन्दा ठूलो चोट हो । अहिले समाज र पार्टीहरू त्यही मार्गबाट गुज्रिरहेका छन्, सत्ताच्युत शीर्षस्थहरू त झन् । विश्वास भत्किँदा सम्बन्धमा दूरी आउँछ । प्रेमभन्दा डर बढी, संवादभन्दा अनुमान बढी हुन्छ । यी मनोवैज्ञानिक चोटहरूले मानिसलाई ‘सामाजिक व्यक्तित्व’बाट स्वार्थतर्फ धकेल्छन् ।
अविश्वास फैलियो भने मान्छेहरू हुन्छन्, समाज हुँदैन । जुन समाजमा धोका, राजनीतिमा झुट, न्यायमा पक्षपात, सामाजिक संस्थामा भ्रष्टाचार सामान्यजस्तै लाग्न थाल्छ, त्यहाँ ‘सामूहिक अविश्वासको संस्कृति’ जन्मिन्छ । यो नै समाजको सबैभन्दा खतरनाक मोड हो । वैधताको पतन राजनीति ‘संस्था’ होइन— एक प्रकारको ‘सहमति’ हो । विश्वासको पतन भएपछि जनताको सोच बन्छ— ‘सबै एउटै हुन्’, ‘कोही फेरिँदैन’, ‘राजनीति स्वार्थ मात्र हो’ । यसबाट राजनीतिक शक्तिले ‘वैधता’ गुमाउँछ । राजनीतिमा विश्वास नहुँदा प्रणालीले काम गर्न छाड्छ । राज्यलाई ‘समस्या समाधान गर्ने सङ्गठन’ होइन, समस्या उत्पन्न गर्ने संस्थाको रूपमा हेर्न थालिन्छ ।
यही भइरहेको छ— न्याय, निर्वाचन, दलहरू, नेतृत्वप्रति अविश्वास भएपछि राज्यको अस्तित्व नै ‘थोत्रो र खिया लागेको औजार’ जस्तो लाग्न थालेको छ ।
जेनजेडको ‘बिद्रोह’ले नयाँ चेत त खोल्यो, चिन्तन भने फेरिएन । लोकलम्पट नेतृत्वको उदय, भावनामा खेल्ने, झुट बेच्ने, ‘भीड’को मनोविज्ञान प्रयोग गर्ने नेताहरू शक्तिशाली बन्छन् भन्ने देखायो । पार्टीहरू विचारका आधारमा होइन, गुटबन्दी र ‘कसलाई विश्वास गर्ने’ भन्ने सोचमा विवश भए ।सरकार फेरिँदा नीति फेरिन्छ; दीर्घकालीन योजना असम्भव बन्छ । शक्ति संस्थामा होइन, व्यक्ति–केन्द्रित हुन्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच अविश्वास बढ्दा शक्ति टसल, किचलो र अदृश्य द्वन्द्व शुरु हुन्छ । अहिले त्यस्तै भइरहेको छ । दलभित्र गुटयुद्धः मुद्दा, विचार, नीति बहाना मात्र बन्छन्, असली समस्या ‘कसैले कसैलाई विश्वास नगर्नु’ हो ।
विश्वास पुनर्निर्माण कठिन छ, तर असम्भव छैन । तर देश, समाज, विचार र पार्टीभन्दा माथि उठेर अहङ्कार र आग्रह तोड्न आवश्यक छ । अहंकारी नेतृत्व यसको सबैभन्दा ठूलो बाधक हो । पुनर्निर्माणका लागि चाहिन्छः शक्तिहरूबीच खुला संवाद, अस्मिता र सम्मानको पुनस्र्थापना, भावनात्मक पारदर्शिता र आघात थेरापीको स्वीकार्यता, न्यायको समान पहुँच, पारदर्शी सार्वजनिक सेवा, भ्रष्टाचारमा कठोर दण्ड, साझा नियमको पुनस्र्थापना, संस्थागत स्थिरता, नीति, निरन्तरता, वैचारिक स्पष्टता, उत्तरदायित्वको संयन्त्र, संवादको नैतिकता र नागरिकसँगको सक्रिय संवाद । विश्वास नै समाजको ‘अदृश्य संविधान’ हो । मान्छे बिना विश्वास केवल जीवित प्राणी हो, सामाजिक प्राणी होइन । समाज बिना विश्वास केवल भीड हो, समुदाय होइन । राजनीति बिना विश्वास केवल पदको खेल हो, शासन होइन । शक्ति बिना विश्वास केवल बल हो, वैधता होइन । विश्वास भत्कियो भने— प्रेम अर्धशत्रुता बन्छ, समाज त्रासमा डुब्छ, राजनीति नौटङ्की बन्छ, शक्ति अराजकता बन्छ । त्यसैले विश्वास केवल भावनात्मक कुरा होइन, सभ्यताको पहिलो संविधान हो, जुन कागजमा होइन, मानिसको चेतनामा लेखिएको हुन्छ । विश्वासको पुनर्जागरणले नै राष्ट्र र पार्टीको आत्मबल र जोश पैदा गर्छ । समयमै चेतना भया !
टिप्पणीहरू