आसन ग्रहणमा ढिलाइपछि कार्यक्रम बहिष्कार

आसन ग्रहणमा ढिलाइपछि कार्यक्रम बहिष्कार

रोल्पामा एउटा कार्यक्रम निर्धारित समयभन्दा ढिला सुरु भएको भन्दै राजनीतिक दलहरुले बहिष्कार गरेका छन् । परिवर्तन गाउँपालिका–४, पाछावाङमा रहेको जलजला युवा क्लबको कार्यक्रम सुरु हुन ढिला भएपछि नेताहरु मञ्चबाट ओर्लिएर भुइँमा बसेका हुन् । 

बताइएअनुसार क्लबले १९औँ वार्षिकोत्सवमा आजदेखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको छ । उद्घाटनको लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई दिउँसो १२ बजे कार्यक्रमस्थलमा पुग्न पत्राचार गरिएको थियो । सोही अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीसहित विभिन्न राजनीतिक दलका नेताहरु पनि समयमै कार्यक्रमस्थल पुगेका थिए । तर कार्यक्रम निर्धारित समयभन्दा तीन घण्टा ढिलो (३ बजे) सुरू भएपछि मञ्चमा बसिसकेका नेताहरु पनि भुइँमा ओर्लिएर मैदानमा बसेका हुन् । 

ढिलो सुरु भएको कार्यक्रममा उद्घोषकले बारम्बार नाम लिएर अतिथि आसन ग्रहण गराउँदा पनि नेताहरूले भुइँ छाडेनन् । केही समयपछि उनीहरू कार्यक्रम बहिष्कार गर्दै त्यहाँबाट फर्किएको बताइन्छ ।

टिप्पणीहरू