‘इञ्जिनियरिङमा महिलाको कोटा ३३ प्रतिशत पुर्याउनैपर्छ’
कोशी प्रदेश सरकारको मनमोहन प्राविधक विश्वविद्यालयकी डिन डा. रेखा श्रेष्ठ इन्जिनियर मात्र नभएर नेपालमा न्यून संख्यामा रहेका महिलाहरुको तर्फबाट स्ट्रक्चरल इन्जिनियरिङ (भौतिक संरचनात्मक) को अनुभवी विज्ञ पनि हुन । रसियाबाट इन्जिनियरिङमा मास्टर्स र स्ट्रक्चरल इन्जिनियरिङमा पिएचडी गरेकी रेखा सिभिल, इण्डस्ट्रियललगायतका इञ्जिनियरिङमा पनि विशेष दक्षता राख्छिन् ।
नेपाल इन्जिनियरिङ कलेजमा सात वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेकी उनले १० वर्ष युएनको संयुक्त राष्ट्र सुरक्षा नेपालमा वरिष्ठ संरचनात्मक इन्जिनियरको रुपमा पनि काम गरेकी छिन् । उनको नाम (सूचीकृत विशेषज्ञ) मा समावेश गरिएको छ । संरचनात्मकसँगै भूकम्प–मूल्याङ्कनमा पनि उनको विज्ञता छ । राष्ट्रिय कलेज अफ इन्जिनियरिङको बोर्ड सल्लाहकारसमेत रहिसकेकी डा. रेखा आफ्नो कन्सल्टेन्सी कम्पनीमार्फत संरचनात्मक डिजाइन र परामर्श–परियोजनाहरूमा संलग्न छिन् ।
अन्तर्राष्ट्रियस्तरमा महिला इन्जिनियरिङको पक्षमा पटकपटक वकालत गरेकी उनले इन्जिनियरिङ मञ्चहरूमा प्रस्तुति दिइसकेकी छिन् । त्यस्तै, नेपालको पोस्ट–भूकम्प रिकभरी दस्तावेजमा पनि उनको नाम लेखिएको छ । नेपालमा २०७२ मा गएको ठूलो भूकम्पपछि भएका अध्ययन रिपोर्ट विकास कार्यक्रममा डा. रेखाले सक्रिय सहभागिता जनाएकी थिइन् । उनीसँग जनआस्थाकर्मी गणेश लम्सालले गरेको कुराकानीको सम्पादित अंशः
केही गरेर देखाउन मनमोहन आएँ
कोशी प्रदेशमा पूर्वाधार विकासको प्रचुर सम्भावना छ । तर, आफनै दक्ष इञ्जिनियरहरु कम छन् । सडक, भवन, स्वास्थ्य–शिक्षा, जलविद्युत र जलस्रोत व्यवस्थापनमा अझै धेरै ठूला संरचनाहरुको खाँचो छ । म भक्तपुरकी रैथाने । काठमाडौं बसेर धेरै समय जिम्मेवारी वहन गरे । यस विश्वविद्यालयको बजेट सीमित छ ।
चुनौती धेरै छ भनेर यहाँ आएकी हुँ । चुनौती मोलेर काम गर्न मलाई आनन्द आउँछ । फेरि मनमोहनको ऐनमा पनि डिन हुन अनुभवी पिएचडी भनेकोले धेरैले आवेदन नै दिन सकेनन् । म महिला र दक्ष विशेषज्ञ भएकोले पनि प्राथमिकतामा परेको हुनसक्छु । कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयको दोस्रो डिन हुन पाउँदा म दंग छु । पदाधिकारी र कर्मचारीहरुसँग सहकार्य राम्रो छ । युनिभर्सिटीको परीक्षा, पढाइ र ल्याबहरु पनि राम्रा छन् । विज्ञ र अनुभवी अनि निरन्तर आफनो काममा मात्र प्रतिबद्ध भएकोले म मनमोहनमा केही गरेर देखाउने अठोट लिएर आएकी हुँ । चार वर्षे कार्यकालमा कम्तीमा दुई वटा इन्जिनियरिङको मास्टर्स कार्यक्रमहरु सञ्चालन गराउँछु । एमटियूलाई उद्योग र सरकारसँग जोडछु । अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहल गर्छु ।
महिलामैत्री संरचनाका लागि महिला इञ्जिनियरहरु नेतृत्वमा पुग्नुपर्छ
नेपालमा महिला इञ्जिनियरहरुका लागि चुनौती धेरै छन । सामाजिक र लैङ्गिक बाधाहरुले धेरै महिलालाई इञ्जिनियरिङ पेशामा आउन अझै कठिन बनाइदिन्छ । तर, पछिल्लो समय महिलाहरु इञ्जिनियरिङमा भर्ना हुँदैछन् । मध्यम वर्गीय शिक्षित परिवार भएको र स्कुलदेखि नै गणितमा दक्ष भएकोले मैले इन्जिनियर पढेकी हुँ । रसियाबाट मास्टर्स अनि पिएचडी सकेपछि मैले सन् १९९८ देखि प्राध्यापन पेशा थाले । सोसल इञ्जिनियरिङका लागि ऐच्छिक कोर्स तयार गरे ।
मेरो अनुभव र विज्ञताले महिला इञ्जिनियरहरुसँग नेपालको पूर्वाधार विकास ( भौतिक संरचना, ऊर्जा , वातावरण) मा योगदान दिन महत्वपूर्ण अवसर छ । तर, लैङ्गिक समानता र विकास दुवैका लागि महिला इञ्जिनियरहरुको संख्या १३ प्रतिशतमा सीमित नराखेर ३३ प्रतिशत पुर्याउनुपर्छ । अझैपनि कार्यालय र मन्त्रालयहरुमा महिला इञ्जिनियरहरु नेतृत्वमा पुगेका छैनन् । निजी र सरकारी दुवै क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्याउनुपर्छ । महिला इञ्जिनियरहरु नेतृत्वमा पुगे भने सबै संरचनाहरु महिलामैत्री बनाउन सकिन्छ ।
जस्तो प्रकाशनयुक्त सडक, गल्ली, पार्क, बसपार्क–महिला सुरक्षा डेस्कसहित बसपार्क, स्ट्रीट लाइटसहित सुरक्षित सडक, महिला–मैत्री सार्वजनिक शौचालय, महिला आराम कक्ष , स्तनपान कक्ष, सिटी टिभीसहित सुरक्षित पार्क, महिलाका लागि साइकल लेन, अस्पतालमा मेटेरिनरी प्रतिक्षालय, बजारमा महिला उद्यमीलाई सेफ भेन्डिङ एरिया, शिक्षालयहरुमा महिनावारी व्यवस्थापन सुविधा अनि अँध्यारा मोडहरु हटाउने, सिसीटिभी अनिवार्य राख्ने, खुला र दृश्यता बढी हुने संरचना निर्माण गर्ने, राति हिँड्न सहज पथहरुको डिजाइन गर्ने आदि ।
असल इञ्जिनियर बन्ने योग्यता
इञ्जिनियर धेरै प्रकारका हुन्छन् । सिभिल, ईलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर, मेकानिकल, एप्लाईड सफटवेयर, वातावरण, बायोमडिकल, एग्रिकल्चर, वाटर रिर्सोट केमिकल, इण्डस्ट्रियलआदि । तर, इञ्जिनियर पढेर र सफल भएर मात्र पुग्दैन, असल पनि हुनुपर्छ ।
गणित, भौतिकशास्त्र र तर्क मापनमा अनुशासित हुनुपर्छ । हरेक इञ्जिनियरले कसरी दिगो डिजाइन बनाउने भनेर सोच्नुपर्छ । सूक्ष्म विवरण बुझेपछि सही विश्लेषण गरेर मात्र निर्णय लिनुपर्छ । यो वा त्यो बहानामा प्रभावित हुनुहुँदैन । सानो गल्तीले पनि भवन भत्किन सक्छ । विद्युत लाइन सर्ट हुन सक्छ । मेसिन बिग्रन सक्छ । योजना–परियोजना प्रभावित हुन्छन् । त्यसैले इञ्जिनियरको डिजाइन, रेखाचित्र मापन सबै अत्यन्तै शुद्ध हुनुपर्छ ।
अर्को, इञ्जिनियरको हस्ताक्षर उनीहरुको इमानदारिता र पेशागत निष्ठासँग जोडिन्छ । भ्रष्टाचार, गुणस्तरहीन काम र कागजी खेलबाडले मानिस मात्र नभएर अन्य जीवहरुको पनि ज्यान जोखिममा पार्न सक्छ । दक्ष इञ्जिनियरहरुमा व्यवहारिक सीप, सर्भे क्षमता, आईसिटीको ज्ञान, परियोजना र संरचना विश्लेषण, डेटा विश्लेषण, सर्भे उपकरणहरु अनि नापजाँच तथा मापनका औजारहरुको राम्रो ज्ञान हुनुपर्छ ।
प्रविधि हरेक वर्ष बदलिन्छ, त्यसैले निरन्तर सिकिरहने, कमजोरी सुधार्ने र अनुसन्धान गरिरहने बानी बसाल्नुपर्छ । वातावरण, पानी, ऊर्जा दिगोपन, मजदुर, ठेकेदार, सरकारी अधिकारी, ग्राहक सबैलाई स्पष्ट बोल्न र बुझाउने क्षमता हुनुपर्छ । अरुले बुझेनन् भने परियोजना बिग्रन्छ । पैसा र समय अनि मेहिनेत खेर जान्छ । टिममा काम गर्ने क्षमता हुनुपर्छ । कुनै परियोजना होस वा निर्माण,इञ्जिनियरले एक्लै बनाउन सक्दैनन् ।
इन्जिनियरहरुले सामाजिक दायित्व पूरा गर्नुपर्छ
इञ्जिनियरहरु पनि यही समाजका अंग हुन् । कुनै अर्को ग्रहबाट आएका होइनन् । समाजको विकास भनेकै देशको विकास हो । आफ्नो मात्र विकास भएर देशको विकास हुँदैन । अझ इञ्जिनियर त भौतिक विकासको मेरुदण्ड नै हुन् । यसैले हामी इञ्जिनियरहरु नाफामुखी मात्र हुनुहुँदैन । आफनो समाजमा पूर्वाधार संरचनाहरु बनाउन सकेको सहयोग गर्नुपर्छ ।
मन्दिर, श्यामसानघाट, रंगशाला, सामुदायिक भवन, साना सडक, नालाकल्भर्टलगायत अनेक निर्माणको नक्सार बनाउन, डिपीआर गर्न र बनाउन संरचनाहरुबारे सल्लाह दिन र बनेकाहरुको अनुगमन गरिदिएर सामाजिक उत्तरदायित्व पुरा गर्न सकिन्छ । जस्तो पश्चिम जाजरकोटमा रहेको ऐतिहासिक भव्य दरबार किन खण्डहरमा परिणत भयो ? किनकि, त्यसको संरक्षणका लागि पुर्वाधार बनेकै थिएनन् ।
इञ्जिनियरहरुले भ्रष्टाचारलाई सहयोग गर्नुहुँदैन
हामी इञ्जिनियरहरुले भ्रष्टाचारलाई सहयोग गर्नु आचारसंहिताविपरीत हो । आफनो अनुशासन (ईथिक्स) मा बस्नुपर्छ । मैले आजसम्म भ्रष्टाचार नगरेकोले इञ्जिनियरले के–कसरी भ्रष्टाचार गर्छन् भन्ने धेरै थाहा छैन । तर, हामी इञ्जिनियरहरुले जानाजानी कमजोर डिजाइन बनाउने, आवश्यकभन्दा धेरै र कम अनि गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्न दिनुहुँदैन ।
गुणस्तरहीन र असुरक्षित रुपले बनेका संरचनाहरुमा कुनै सम्झौता गर्नुहुँदैन । बिल भुक्तानीमा हेरफेर गर्नुहुँदैन । ठेक्काप्रक्रिया खुलाउने, निर्माणमा ढिलासुस्ती गर्ने र परियोजना लम्ब्याउने, अवैध कमिसन माग्ने भूकम्प प्रतिरोधी नभएका संरचनालाई ठिक हो भन्ने, मनपरी गलत टेस्टिङ भएका र टेस्टिङ नै नभएका मटेरियलहरु प्रयोग गर्न स्वीकृति दिनुहुँदैन ।
प्रक्रिया पुगेका फाइलहरु रोक्नुहुँदैन । डिजाइन महँगो बनाउने, अनावश्यक कन्टसटेन्सी थप्ने, फिल्डमा जान अल्छी गर्ने अनि ठेकदारहरुसँग मिलिभगत गर्ने कुराहरु पनि इञ्जिनियरको अनुशासनविपरित कार्य हो । निर्माण कार्य, डिपिआर, टेस्टिङ प्रतिवेदन, लागतसहितको सम्झौता पत्र र गुणस्तर प्रतिवेदन सबै पारदर्शी गराउनुपर्छ । इञ्जिनियर गलत परे भने व्यक्ति, संस्था वा सरकारको लगानी मात्र खेर जाँदैन, विकास नै धेरै वर्ष पछि धकेलिन्छ ।
कोशी सरकारले चाहेमा पुनःर्निर्माणमा सघाउँछौ
जेनजी आन्दोलनमा भदौ २४ गते कोशी प्रदेशको राजधानी विराटनगर र मोरङ जिल्लाका महत्वपूर्ण सार्वजनिक संरचनाहरु जलेर ध्वस्त भएको सुनेपछि मन मारेर बसिरहन सकिएन । यसैले हामीले सामाजिक उत्तरदायित्व ठानेर विश्वविद्यालयमा पढाउने शिक्षक– इञ्जिनियरहरुले सल्लाह गरेर जलेका भवन महानगरपालिका, मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु अनि सुन्दरहरैंचा नगरपालिका भवनको निःशुल्क अनुगमन गर्यौं ।
त्यसको विस्तृत प्रतिवेदन पनि तयार पार्यौं । इन्जिनियरिङ भाषामा सामान्य क्षति पुगेको संरचनालाई हरियो, विस्तृत अध्ययनपछि सृदृढिकरण गरेर बस्ने मिल्नेलाई पहेँलो र धेरै क्षति भएकोलाई रातो स्टिकर लगाइन्छ । हामीले पनि त्यसै गर्यौं । सरकारले हतारमा लतारपतार गरेर पुनःर्निर्माण गर्नुहुँदैन र पुनःर्निर्माणको बहानामा नष्ट गर्न नहुने मूल्यवान संरचनाहरु पुरै भत्काउन पनि हुँदैन ।
विज्ञ इञ्जिनियरहरुको सल्लाहअनुसार ऐतिहासिकता र जोखिम विश्लेषण गरेर पुनःर्निर्माण गर्नुपर्छ । इञ्जिनियरहरुले त विश्लेषणसहित प्रतिवेदन दिने हो, निर्णय गर्ने अधिकार त सरकारसँग मात्रै हुन्छ । कोशी प्रदेश सरकारले चाहेमा हामी पुनःर्निर्माणका लागि सहयोग गर्न तयार छौं ।
टिप्पणीहरू