भवन स्कुलको, रजाइँ अरुको
कास्कीका दुई विद्यालयका पदाधिकारी तथा सञ्चालक भ्रष्टाचारमा तानिएका छन् । सरकारी स्कुलको भवन निजी विद्यालयलाई कानूनविपरीत भाडामा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाउपर मुद्दा चलाएको हो ।
मुद्दा चलाइएकामा पोखरा महानगरपालिका–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, सदस्यहरु बरुणाविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं, अञ्जुली बोर्डिङ्ग स्कुलका सञ्चालक राजु केसी, प्रिन्सिपल सुनिता कुँवर केसी र वडा नम्बर १, की अध्यक्ष शाहारा प्रधान छन् ।
अख्तियारका अनुसार उनीहरुको मिलीभगतमा राष्ट्रिय माध्यमिक विद्यालयको भवन र पूर्वाधार अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई १२ वर्षका निम्ति भाडामा दिने सम्झौता गरिएको पाइएको छ । पोखरा महानगरपालिकाको चेतावनी र करार रद्ध गराउन भएको निवेदनपछि समेत अटेरी गरेर १५ लाख बढीको सरकारी सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू