पर्सि बन्ला डा. बाबुरामको नयाँ पार्टी ?
डाक्टर बाबुराम भट्टराई,जनार्दन शर्मा र सन्तोष परियारले गठन गर्न लागेको गैरकम्युनिष्ट पार्टीको नेतृत्व चक्रिय प्रणालीका आधारमा हुने भएको छ ।
एकीकृत पार्टीको नेतृत्व तीन वटै घटकले पालैपालो गर्नेगरी सहमति जुटेको बताइएको छ । बाबुरामको नेसपा (नयाँ शक्ति),जनार्दनको प्रगतिशील अभियान र रास्वपा छोडेका सन्तोषबीच कात्तिक २८ गते पार्टी एकता गर्ने सहमति भएको थियो ।
बाबुराम र जनार्दनलाई साक्षी राखेर प्रगतिशील अभियानका संयोजक सुदन किराती,नयाँ शक्तिकी संयोजक दुर्गा शोव र सन्तोषले पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । जसमा पार्टीको नाम र चुनाव चिन्ह यौटै बनाउने र मङ्सिर ७ गते औपचारिक घोषणा गर्ने उल्लेख भए पनि अहिलेसम्म त्यसबारे टुंगो लागिसकेको छैन ।
देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक,वामपन्थी,देशभक्त र जेनजी युवाहरूलाई समेटेर बनाउने भनिएको पार्टीमा आवद्ध हुन वैकल्पिक शक्ति र नवयुवाहरूलाई हातेमालो गर्न आह्वान गरिएको छ । तर, पार्टीको नीति र नेतृत्व कस्तो हुने भन्ने सहमति पत्रमा उल्लेख छैन । मार्गदर्शक सिद्धान्त, राजनीतिक कार्यक्रम र संगठनात्मक संरचनाबारे सहमति जुट्न बाँकी रहेको बताइएको छ ।
माओवादी पुनर्गठन त परको कुरा उनी उल्टै गैरकम्युनिष्ट पार्टी बनाउनतिर लागेका छन् ।
फरक बैचारिक स्कुलिङबाट आएकाहरूको मिलनलाई कतिपयले पुराना पार्टीप्रतिको असन्तुष्टि केन्द्रीकरण गर्ने थलोको रूपमा हेरेको पाइन्छ । हुन पनि यौटै राजनीतिक विचारधाराबाट आएको भए पनि बाबुराम र जनार्दन पछिल्लो समय फरक कित्तामा उभिएका थिए ।
नेकपा एकीकृत समाजवादीसहित १० वटा वामपन्थी घटकसँग एकता गर्ने पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई चुनौती दिँदै नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध नभएका जनार्दनले मार्क्सवाद, लेनिनवाद र माओवाद छोडेको औपचारिक घोषणा गरेका छैनन् । प्रचण्डले माओवाद छोडेको आरोप लगाउँदै एकतामा सहमति जनाएका उनले माओवादी केन्द्रलाई नै पुनर्गठन गर्ने बताएका थिए । तर, माओवादी पुनर्गठन त परको कुरा उनी उल्टै गैरकम्युनिष्ट पार्टी बनाउनतिर लागेका छन् ।
बाबुरामको सन्दर्भमा उनले १० वर्षअघि नै मार्क्सवाद त्यागेका हुन् । तत्कालीन एकीकृत माओवादीबाट बाहिरिँदा उनले मार्क्सवादको औचित्यमाथि प्रश्न उठाएका थिए । मार्क्सवाद पुरानो भैसकेको भन्दै नयाँ गर्न हिँडेका उनी १० वर्षको यो अवधिमा आधा दर्जन पार्टीको नेता भए ।
शुरुमा आफ्नै नेतृत्वमा नयाँ शक्ति गठन गरेका बाबुरामले चुनावमा नराम्रो धक्का खाएपछि उपेन्द्र यादवसँग मिलेर संघीय समाजवादी फोरम बनाए । त्यसपछि राजपा, जसपा, नेसपा हुँदै पुन: नेसपा (नयाँ शक्ति) मा आइपुगे । जेनजी आन्दोलनपछि त्यो पार्टीको अध्यक्षबाट राजीनामा दिएर दुर्गा शोवलाई संयोजक बनाएका उनी अब बन्ने पार्टीमा सल्लाहकार बसेर छोरी मानुषी यमी भट्टराईलाई अघि बढाउने सोचमा रहेको बताइन्छ ।
टिप्पणीहरू