अम्बा भन्दै केराको धन्दा, राजस्वको फन्दा
बेलौती (अम्बा) भनेर केराको भन्सार जाँच गरिएको भारतीय ट्रक राजस्व कार्यालयको फन्दामा परेको छ । प्लान्ट क्वारेन्टाइन विभागले भारतबाट आयात रोक्का गरेको केरालाई कृष्णनगर भन्सार कार्यालय तथा कृष्णनगर प्लान्ट क्वारेन्टाइन कार्यालयको मिलेमतोमा अम्बा (बेलौती) भनेर जाँचपास र भन्सार गरिएको छ ।
गत शुक्रबार शिव फ्रुट सेन्टरका लागि आएको ५७ हजार ८ सय किलो केरा बोकेका ६ वटा ट्रक कृष्णनगर भन्सार कार्यालयले बेलौती बनाएर भन्सार प्रज्ञापन पत्र प्रदान गरेको थियो। भन्सार स्रोतका अनुसार उक्त मालसामान विवादित भारतीय व्यापारी विमलको हो।

उनकै अनुरोधमा भन्सार अधिकृत मयंक कुमार कर्णले केरालाई बेलौती बनाएर जाँचपासमा हस्ताक्षर गरेका थिए। अरू आयात हुने सबै खाद्यान्न, तरकारी र फलफूल जाच गर्ने निकाय प्लान्ट क्वारेन्टाइनले समेत ती गाडीहरूमा केरा नभई बेलौती भएको प्रमाणित गरेर पठाएको छ। स्रोतका अनुसार कार्यालय प्रमुख राजेन्द्र यादवले व्यापारी विमलसँगको मिलेमतोमा केरालाई बेलौती बनाएका थिए।

राजस्व अनुसन्धान विभाग काठमाडौंलाई शुक्रबार नै उक्त सूचना पुगेको थियो। तर, विभागले शनिबार मात्र थानकोटबाट युपी ७३ टि ३१५३ नम्बरको ट्रक समात्न सफल भयो भने अन्य ५ वटा ट्रक सजिलै उम्किएको बताइन्छ । कार्यालयका सूचना अधिकारी नवराज अधिकारीका अनुसार, व्यापारीले प्लान्ट क्वारेन्टाइन विभागबाट केरा आयातको अनुमति नलिएको हुँदा बेलौतीमा केराको नाममा भन्सार पास गरेको हुनसक्ने बताए। यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

टिप्पणीहरू