दलाई लामाका दूत नेपालबाट दम्पच
नेपालका निम्ति तिब्बती धर्मगुरु दलाई लामाका आधिकारिक प्रतिनिधि ङवाङ छोक्डुपको नागरिकतामाथि छानबिन शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले उनले नेपाली नागरिकता र राहदानी कसरी हात पारे भनेर अनुसन्धान अगाडि बढाएको छ । तिब्बती मूलका उनले नेपाली नागरिकता किनेको विषयमा जेनजी आन्दोलनमा संलग्न तेञ्जिङ्ग दावा पक्राउ परेलगत्तै जनआस्थाले गत कात्तिक २ गते ‘दलाई लामाका दूतलाई समेत कसले दियो नेपाली नागरिकता ?’ शीर्षकअन्तर्गत समाचार प्रकाशित गरेको थियो ।
समाचार छापिनासाथ प्रशासनबाट उनको नागरिकतामाथि छानबिन थालिएको हो । छोक्डुप फ्रि तिब्बत अभियानका अवैधानिक ‘राजदूत’ हुन् । सेन्ट्रल टिबेटन एडमिनिस्ट्रेशनले उनलाई सन् २०२२ अगष्ट १९ मा काठमाडौंस्थित टिबेटन रिफ्युजी कम्युनिटी अफिसका लागि प्रतिनिधि नियुक्त गरेको थियोे । काठमाडौं महानगरपालिका–१०, लाजिम्पाटमा अवस्थित सो कार्यालयले विभिन्न सरकारी कार्यालय र नेपालस्थित कूटनीतिक नियोगसँग समन्वय र तिब्बती शरणार्थीलाई अह्रनखटनको काम गर्दछ ।
अगष्ट ३१ मा दलाई लामालाई भेटेर शपथ लिएपछि उनले सन् २०२२ नोभेम्बर ३ मा नेपाल आएर पदभार ग्रहण गरेका थिए । रोचक प्रसंग त के भने, नेपाल आउनुअगावै सोलुखुम्बूबाट नागरिकता लिइसकेका थिए । तीन वर्षे कार्यकालका लागि आएका उनको नेपाली नागरिकता नम्बर १११००३–४४ रहेको छ, जसमा थर शेर्पा उल्लिखित छ । सोही नागरिकताको आधारमा सन् २०१४ मा राहदानी बनाएका हुन् । ०७७०३३८१ नम्बरको सो पासपोर्टको म्याद सन् २०२४ अगष्ट २ तारिखमा सकिएको र त्यसअगावै अर्को राहदानी निकालेको पाइएको छ ।
सन् २०१९ अप्रिल १ मा जारी भएको दोश्रो राहदानीको नम्बर ११३८१८१० हो । सो राहदानीको म्याद अबको ३ बर्षपछि सन् २०२९ मार्च ३१ मा मात्रै सकिन्छ । उक्त राहदानी बोकेर उनी दर्जनौंपटक विदेश गइसकेका छन् । सोलुखुम्बुमा जन्मिएको कुनै व्यक्ति अन्यत्रका हिमाल आरोहण र पर्यटन प्रवद्र्धनको कामबाहेक लगातार विदेश भ्रमणमा जानुले अनेक सवाल खडा गर्छ । स्रोतका अनुसार नागरिकतामाथि छानबिन शुरु भएपछि उनी सुटुक्क भारतको राजधानी नयाँ दिल्ली र हिमाचल प्रदेशस्थित दलाई लामाको मुख्यालय धर्मशाला गएका छन् । जनआस्थामा समाचार छापिएको तीन दिनपछि अर्थात कात्तिक ५ गते उनी सडकमार्गबाट त्यता गएका हुन् । स्रोत भन्छ, ‘प्रशासनबाट नागरिकतामाथि छानबिन हुने भएपछि पक्राउ पर्ने डरले भारत पसिसकेका छन् ।’ सन् १९८२ मे ११ मा जन्मिएका उनी शुरुमा सोलुखुम्बुस्थित ‘देलेक्लिङ्ग चिल्सा तिब्बती शरणार्थी शिविर’ मा बसोबास गर्थें ।
सो शिविर नेपालमा रहेका १२ तिब्बती शरणार्थी क्याम्पमध्ये एक हो, जुन सन् १९६२ मा स्थापना भएको थियो । सोलखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले उनको नागरिकतामाथि अनुसन्धान अगाडि बढेको पुष्टि गरिन् । छोक्डुपलाई बयानमा पनि बोलाइसकेको जानकारीसमेत दिइन् ।
जनआस्थासँग भनिन्, ‘गृह मन्त्रालयको आदेशानुसार हामीले छानबिन अगाडि बढाइसकेका छौं । अनुसन्धान जारी नै छ । उनलाई बयानका लागि बोलाएका छौं ।’यसबारे गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र आचार्यले भने, ‘जुन जिल्लाबाट नागरिकता जारी भएको हो, त्यही जिल्लाले अनुसन्धान गर्ने हुँदा सोलुखुम्बुबाटै अहिले यो काम भैरहेको छ ।’
(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू