ठेगान छैन, के हुन्छ दुर्गा प्रसाइँको
केपी ओली र प्रचण्डलाई एकसाथ मार्सी चामलको भात खुवाएर चर्चामा छाएका दुर्गा प्रसाइँ अनेक फण्डा गर्छन् । उनको पछिल्लो ध्यान कहिले बालेनतिर त कहिले गुण्डुतिर छ । सुकुम्बासी उकास्नेदेखि भक्तपुरमा लर्को लाउनेसम्मका क्रियाकलाप हेर्दा उनी के गर्न खोजिरहेका छन् भनेर कतिपयलाई अनुमान लाउन गाह्रो परिरहेको होला । उपचारका नाममा दिल्ली र उत्तर प्रदेशतिर धाइरहने उनी पहिले आसाम पनि पुगे । अहिले भारतले निगरानी राख्न थालेपछि उताको च्याप्टर बन्द हुने खतरा छ । तैपनि हर्कत कायमै छ ।
सानैदेखि चिन्नेहरू उनी यस्तै थिए भन्छन् । के गर्छन्, गर्छन् ? थाहै हुँदैन । सँगै पढेका साथी भन्छन्– ऊ पहिलेदेखि नै यस्तै हो । न राजनीतिक शैली, न कूटनीतिक चातुर्यता । मेडिकल कलेज खालेपछि रनाहा लागेका उनी त्यो चलाउने चक्करमा के भए, भए । राजनीतिक प्राणीको संगतले मान्छे बिग्रन पनि सक्छ । राजनीतिकसँग लागेर कमै मान्छे सप्रिन्छन् वा उनीहरू जस्तै बन्छन् । एकजना नामी विद्वानले कतै गरेको यो तर्क दुर्गा प्रसाइँलाई नै हो कि भन्ने पनि लाग्छ । धान काटिसकेर गर्नेे आन्दोलनले के माग्दैछ ? त्यसले के फल दिन्छ ? वा उनको कद मात्र बढाउँछ ? यस्ता प्रश्न गर्न त यसै सकिएला तर पूर्व एमाले र त्यसअघि माओवादी हुँदाका मजाले भने यसै छाड्दैन नै ।
आफ्ना अन्नदाता सासूससुरा भगवान र चन्द्रमाया गिरीका नाममा अस्पताल खोल्दादेखिका रड सिमेन्ट, ठेकेदारका पैसा अझै नतिर्दा भने ती व्यापारीले के भन्दै होलान् ? चोक चोकमा चिया गफको शीर्षक बनेका उनी टिकटकमा छाउँदा त आनन्दै होला किनभने उनको बोल्ने शैलीले हँसाउछ मात्र होइन खित्का नै छोडाउँछ । झापा एमालेलाई ओलीले एकै पटक दुर्गा प्रसाइँको नाम केन्द्रीय सदस्यमा राख्दा मात्र थाहा पाउनुपर्ने र केन्द्रीय सदस्य भएपछि मात्र सदस्यता मिलाउनुपर्दा कति असजिलो भयो होला ? पछि उद्योग विभागको उपप्रमुख भएर आएपछि त असली एमालेहरू हेरेका हेर्यै ।
त्यसपछि उनै प्रसाइँ बाविरुद्ध उत्रिँदा अझै पीडा । बालाई चढ्न दिएको २ करोडको गाडी फिर्ता लिन गरेको उनको हर्कतबारे नजान्ने एमालेजन झापातिर छैनन् । तैपनि उनको गतिविधि राजनीतिक छैन । मेडिकल कलेजले स्वीकृति पाएपछि खुरुक्क राम्ररी चलाएर बसे हुने नि ! यसो भन्ने त चोकै पिच्छे भेटिन्छन् । राजनीतिको लत हो कि पागलपन ? वा बदलाभाव । उनमा हुर्किएको कार्यशैलीप्रति दिक्क मान्ने झापाली धेरै भेटिन्छन् । झापाले जन्माएका नेताहरू अरू पनि छन् । तीमध्ये कोही नाम, कोही बदनाम भए त कोही गुमनाम । दुर्गा प्रसाईं के हुने हुन् ? थाहा छैन ।
टिप्पणीहरू