सिडिओ र एसपीको संरक्षणमा जुवाको खाल !

सिडिओ र एसपीको संरक्षणमा जुवाको खाल !

जुवाडेहरू खुलेआम तास खेल्ने, सिडिओ र एसपी अनदेखा गर्ने !, दिनहुँ तास खेल्ने जक्सनबारे जानकारी हुँदाहुँदै पनि लाचार बनेर बसेका धनकुटाका प्रमुख जिल्ला अधिकारी विनाेदकुमार खड्का र प्रहरी प्रमुख शरद थापाको प्रसंग हो, यो । 

धनकुटा नगरपालिका-१ स्थित हिले बजारमा लामो समयदेखि जुवाको अखडा बन्दै आएको छ- एवान रेष्टुरेण्ट होटल एण्ड लज । होटल सञ्चालक सुवास घिसिङले दिउँसोमात्रै होइन, रातभरसमेत जुवा खेलाइरहेका छन् । जुवाडेहरूको होहल्लाले छिमेकीहरु त हैरान छन् नै, सोही भवनमा रहेको बैंक र एटिएमको सुरक्षासमेत खतरामा परेको स्थानीय बताउँछन् । 

यस्तो अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायले जुवा खेलाउने र खेल्नेलाई कारवाहीको दायरामा ल्याएर समाजमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने हो । तर, यसबारे पूर्ण जानकारी हुँदाहुँदै पनि न सिडिओ खड्कालाई चासो छ, न एसपी थापालाई ।

एवान रेष्टुरेण्ट होटल एण्ट लजको कारण सामाजिक सद्भाव नै विथोलिदै गएपछि आइतबार सिडिओ खड्काको ध्यानाकर्षण गराइएको थियो । उनले तत्काल प्रहरी संयन्त्र परिचालन गरेर जुवाडे नियन्त्रणमा लिने प्रतिवद्धता पनि जनाए । तर, कार्यान्वयन भएन । 

भोलिपल्ट सोमबार एसपी थापालाई समेत जुवा जक्सनका कारण छिमेकीलाई असर परेको जानकारी गराइयो । उनले पनि ‘आजै म टोली पठाउँछु’ भन्ने आश्वासन दिए । तर, दुई दिन बितिसक्दासमेत प्रहरी टोली पुगेको छैन । बरु दिनहुँ जुवाडेको होहल्ला बढिरहेको स्थानीयकाे गुनासो छ । 

इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीलाई पनि यसबारे जानकारी नभएको होइन । एक स्थानीय भन्छन्, ‘उनीहरु त्यही बाटो हिँड्छन्, तर भित्र छिर्दैनन्, सबै थाहा हुँदाहुँदै पनि अनदेखा गरिरहेका छन् ।’
 
यसरी प्रशासन र सुरक्षा संयन्त्रलाई होटलमा खुलेआम जुवा चलिरहेको जानकारी हुँदा पनि वेवास्ता गरेपछि यतिबेला सिडिओ खड्का र एसपी थापा नै प्रभावमा परेका त होइनन् ? भन्ने प्रश्न स्थानीयले उठाउन थालेका छन् । होटलनजिकै घर भएका एक छिमेकीको आशंका छ, ‘होटलमा चल्ने धन्दा माथिदेखि तलसम्मका सबै निकायलाई थाहा छ, तर केही गर्दैनन्, मिलेमतो हो कि !’

टिप्पणीहरू