कसले चोर्यो एनसेलको तीन वटा सेफ ?
परिवर्तनका लागि जेनजी पुस्ताले गत भदौ २३ र २४ गते गरेको प्रदर्शन हिंसा,लुटपाटसहित सरकार परिवर्तन र २७५ साँसदको रोजगारी हरणमा गएर टुंगिएको छ । प्रदर्शनको नाममा सार्वजनिकदेखि निजी सम्पत्तिसम्म लुट्ने काम भएको छ । भदौ २३ गते जेनजीले राजधानीको माइतीघर मण्डलाबाट प्रदर्शन शुरु गर्यो । सो प्रदर्शनमा १९ जनाको ज्यान गएपछि भोलिपल्ट मुलुकभर आगो बालियो ।
त्यसकै फाइदा उठाएर लुटपाट गरिएको हो । बोक्न सक्ने सामान घरतिर लगेर भवनमा आगो झोसियो । खाद्यान्न, भाँडाकुँडादेखि फर्निचर र पैसा राख्ने सेफसम्म चोरिएको छ । प्रदर्शनमा भएका यस्ता लाजमर्दो गतिविधिका कारण समग्र जेनजी पुस्ताकै बदनाम भएको छ । प्रदर्शनको अगपंक्तिमा रहेकैहरुले लामो हात गरेकोसमेत पाइएको छ ।
राष्ट्रिय झण्डा ओढेर प्रदर्शनमा आएकी एक कलेजकी विद्यार्थीले भाटभटेनी स्टोरबाट ब्याग,जुत्ता,खेलौनालगायतका सामान चोरेकी थिइन् । त्यसपछि भाइरल बनेकी उनले गल्ती स्वीकार्नुको साटो फेसबुकमा लाइभ आएर ठुल्ठूला कुरा गरिन् । उता,काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट टिभीसहित ८८ बोरा चामल र मासुसमेत चोरियो । दशैंका लागि भनी किनेर राखिएको चामल प्रदर्शनकारीले गाडी ल्याएर ओसारे ।
सिंहदरबारबाट चोरी भएका विद्युतीय उपकरणहरु बागबजारस्थित एक कन्सल्टेन्सीमा भेटिएको छ । यता,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट उठाइएको शंख,मूर्तिलगायत व्यक्तिको घरबाट बरामद भएको छ । एनसेलमा करोडौंको क्षति हुनुका साथै सेफ पनि चोरी भएको छ । एनसेलले ७८ करोडको क्षति भएको भन्दै बीमा दाबी गरेको छ ।
प्रदर्शनकारीले ७ र ९ तलामा भएको सेफ लुटेर लगेको प्रहरी श्रोतले जनाएको छ । सो सेफमा भएको रकम र सम्पत्तिको कुनै हिसाबकिताब छैन । फलामबाट बनेको उक्त भारी सेफ कसरी उठाएर लगियो ? कहाँ लगियो ? कल्पनासमेत गर्न सकिँदैन । भाटभटेनीको दर्जनौं भवनमा क्षति पुर्याइएको छ । भाटभटेनी लुट्ने क्रममा १३ जनाको ज्यान गएको छ । प्रदर्शनमा बैंकहरुबाट रकम लुटपाट भएको छ ।
यी घटनाले प्रश्न उठ्छ–एउटा गुडिया त नछोड्नेले देश चलाउने चाबी पाए भने केही बाँकी राख्लान् ? उनीहरु अहिलेका नेताभन्दा पनि बढ्ताको भएर निस्किनेमा कुनै शंका छैन भन्नेहरु थुप्रै छन् । भदौ २३ र २४ गतेको घटनाले जो पनि मौका नपाउँदासम्म मात्र ठूला कुरा गर्ने हुन् भन्ने पुष्टि गरेको छ ।
टिप्पणीहरू