कर अधिकृतसँग मिलेर एक करोड गोलमाल
आन्तरिक राजस्व कार्यालय धरानका तत्कालिन कर अधिकृत तिलक आले भ्रष्टाचारमा तानिएका छन् ।
राजस्व चुहावट गरेको आरोपमा उनीसहित स्वामिनारायण निर्माण सेवाका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । उनीहरुले आपसी मिलेमतोमा खानी उत्खनन् वापत सरकारलाई तिर्नुपर्ने कर हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोला बालुवा गिट्टी उत्खनन्का निम्ति सो निर्माण कम्पनीलाई भ्याटबाहेक नौ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २०७७ जेठमा ठेक्का दिएको थियो । भ्याट रकमसहित कम्पनीले आन्तरिक राजस्व कार्यालयमा एक करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ दाखिला गर्नुपर्नेमा कर अधिकृत आले र प्रबन्ध निर्देशक बस्नेतको मिलीजुलीमा फर्जी कागजात बनाएर राजस्व चुहावट गरेको अख्तियारको ठहर छ ।
विशेष अदालतमा दायर अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम एक करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।
टिप्पणीहरू