कसको कुरा पत्याउने ?

कसको कुरा पत्याउने ?

सर्वोच्चमा भदौ २४ को आगो चार दिनपछि कर्मचारी र वकिलहरूले गएर निभाए तर नेपाली सेनाले भोलिपल्ट आगो निभाउन दमकल पठाएको हचुवा घोषणा गर्‍यो । प्रधानन्यायाधीशले सर्वोच्चकै आँगनबाट अन्तर्वार्ता दिँदै तीन दिनपछि ललितपुर महानगरपालिकाको दमकल मगाएर आगो निभाएँ भनिरहेका छन् । यसमा प्रधानन्यायाधीशको कुरा पत्याउने कि नौजवान जर्नेलको माझबाट बोल्ने युद्धकार्य महानिर्देशक अनुपजंग थापाको ?

किन बाझिन्छन् राज्यका निकायहरूबीच कुरा ? के अब यसैको पनि छानबिन गर्नुपर्ने हो ? नत्र त न्यायालयलाई झुटो ठहर्‍याइदियो सेनाले । प्रधानन्यायाधीशलाई होचो देखाउँदै न्यायालयप्रतिको जनआस्था खल्बलिने स्थिति निम्त्याइयो । 

सेना सुरक्षामा त चुक्यो चुक्यो । सहजीकरणका नाममा भएको राजनीतिले पनि राम्रो गरेन । माओवादी द्वन्द्वकालमा यहाँबाट हेलिकप्टरमा कमल थापाहरू र प्रकाशचन्द्र लोहनीहरू दाङतिर वार्ता गर्न जान्थे । कृष्ण सिटौलाले सिक्लेसबाट प्रचण्डलाई हेलिकप्टरमा ल्याएर बालुवाटारमा वार्ता गरेकै हुन् तर यसपटक वार्ताको अवमूल्यन गरियो । जेनजीका त धेरै अगुवा थिए तर किन सुदन गुरुङलाई मात्रै फोकस गरियो ? गुरुङलाई जेनजी भनेर इस्ट्याब्लिस गर्ने नै सेना हो ।

चैत १५ गतेको घटनामा फोहोर गरेको भन्दै ज्ञानेन्द्र शाहलाई पत्र लेख्ने बालेन आज देश खरानी बनाउनेहरूलाई किन पत्र लेख्दैनन् ? बालेनमाथि उब्जिएको प्रश्न हो यो । हामी नेपाल बकाइदा दर्ता छ– समाज कल्याण परिषदमा । रानीबारीमा अफिस छ । त्यसले जिम्मेवारी लिएको छ, पानी बाँडेको छ अनि यत्रो परिचय खुल्दा पनि बालेनले किन तिनलाई उक्त ठेगानामा चिठी काटेनन् ? 

आन्दोलनको खरानी सफा गर भन्दा नमान्ने, पार्टीहरूलाई चाहिँ आमसभा गरेको ठाउँ सफा गर भन्दै लाखौं दण्ड तिराउने ? आगो लागेको ठाउँबाट खरानी उठाउन नलगाउने ? यसैले यहाँ षड्यन्त्र नै षड्यन्त्र भएको छ ।

- माधव बस्नेत
 

टिप्पणीहरू