नेपालको जेनजी ‘विद्रोह’ र चीनको मौन संकेत
अझै पनि दल र नेताका भाषण सुन्न जनता तयार छैनन् भन्ने कुरा उनीहरूका अहंकार र भयले अत्तोपत्तो नै नभएझैँ गर्छन् । जेनजी ‘विद्रोह’ को आधार २० वर्षे सरकारको सिण्डिकेटतन्त्र र भ्रष्ट सत्ता हो । परिवर्तनको बाइ–प्रोडक्टले पैदा गरेको शून्यताले विद्रोहको आधार तयार गरेको थियो । दलमा कार्यकर्ता नभई भक्तजन मात्रै भएपछि आलोचनात्मक चेत र धरातलीय अवस्था बोध गर्ने क्षमता हरायो । त्यसले सामाजिक गति र मनोविज्ञान बुझ्न सकेन । आन्तरिक लोकतन्त्रको अभावले आत्मबल रित्तिएका थप्पडबाज भीड बन्नुको परिणाम जेनजीको जन्म भएको हो । अर्को अप्रत्याशित संकटको संकेत संघारमा उभिएको छ । जेनजी ‘विद्रोह’ आयो, गयो, सकियो होइन — अब त्यो नयाँ रूप र स्तरमा देखिँदैछ । पात्र फेरिन्छन्, रूप फेरिन्छ, नारा फेरिन्छन्, प्रायोजक शक्तिमा हेरफेर हुन्छ । कारक पक्ष — प्रायोजक शक्तिमा वर्चस्वको खटपट हुन्छ र नयाँ शैलीमा विकास हुन्छ । हरेक विषयको प्रयोगशाला त बन्दै थियो, गत वर्ष चैत १५ गतेबाट भने महाशक्तिहरूले नेपाललाई रणक्षेत्र नै बनाए ।
हिजो जडीबुटीमा आगो लगाएर संकेत दिएका थिए, अहिले चीनले बनाइदिएको संसद भवन र कार्यकारी थलो सिंहदरबार जलाए । शक्तिले अन्धो बनेको सरकार भने त्यो सन्देश बुझ्न सकेन । संकेतले चेत्ने मान्छे हुन्छ, परिणामले चेत्ने पशुचेत हो । नेपालमा हाल देखिएको ‘जेनजी विद्रोह’ असन्तुष्ट युवाको आकस्मिक प्रतिक्रिया मात्र होइन, यो नेपालको राजनीतिक–सांस्कृतिक थकान, वैचारिक अविश्वास र सत्ता विफलताको संयुक्त प्रतिफल हो । यसबीच चीनको मौन तर संकेतपूर्ण सक्रियता, पूर्वराजाका विश्वस्त अधिकारीहरूको ‘राजनीतिक भ्रमण’, र दलहरूको दिशाहीनता — सबैले एउटा नयाँ शक्तिसमीकरणको संकेत देखाइरहेका छन् ।
सानो भूगोल, सानो अर्थतन्त्र भएका भूपरिवेष्ठित देशका भूसंवेदनशीलता जटिल हुन्छन् । अझ विश्व–महाशक्ति बनिसकेको चीन र ठूलो देश, ठूलो अर्थतन्त्र, विशाल बजार, उदीयमान शक्तिको बीचमा स्वाभिमानपूर्वक खडा रहनु नेपालजस्ता देशलाई अत्यन्तै चुनौती हुन्छ । दुबै महाशक्तिको हृदय कति विशाल छ र आफ्ना कूटनीतिक चातुर्य कति रहन्छ भन्नेमा भर पर्छ । नेपाल धेरै दिनदेखि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रयोगशाला बन्दै आएको छ । धेरै औषधि फ्रिमा बाँडेर प्रयोगशालाका अभ्यास भए । असीको दशकमा टिबीको औषधि एम्ब्रेस्टिन सुईको बदलामा इथामबुटल ट्याब्लेट संसारमै पहिलो पटक चितवनको टाँडीमा प्रयोग भयो । जुम्लामा मौरीमा प्रयोग गरिएको नयाँ जातले पुरानो जात लोप भयो । अझ सामाजिक, सांस्कृतिक र भाषा–धर्मका क्षेत्रमा नेपाल संसारकै एक एन्थ्रोपोलोजिकल म्युजियम हो ।
१. युवा पुस्ताको असन्तोषले सत्ताको वैचारिक ढाँचा र दलहरूको विश्वासयोग्यता दुवैमा प्रश्न खडा ग¥यो । तर विडम्बना के छ भने, आम मानिसहरू नयाँ परिस्थितिमा नयाँ सोच्न पनि डराउँछन् । विचार स्वतन्त्रताको साटो, हामी अरूले बनाइदिएका सोचमा रम्न सिकेका छौँ । दलहरूमा पनि नयाँ चेत खुल्ने संकेत छैन । आफ्नै असफलता र जिम्मेवारी स्पष्ट हुँदा पनि दोष अरुलाई दिएर जोखिने अहंकार र ऐंठन मडारिरहेको छ ।
२. चीन मौन कूटनीति गर्छ — मौन हुनु थाहा नपाउनु होइन । चीनको कूटनीति ‘शान्त–सक्रियता’ मा आधारित छ, युद्ध नलडी पनि विजय हासिल गर्ने उसको नीति हो । यसको जरो सुन्जुको आर्ट अफ वारमा छ । यही सन्दर्भमा चीनले हालै पूर्वराजा ज्ञानेन्द्र शाहका एडीसी विवेक शाह र राजकालीन पूर्व–गुप्तचर प्रमुख देवीराम शर्मालाई ‘रातो कार्पेट’ ओछ्याएर स्वागत गरेको घटना सामान्य वा नियमित मात्रै होइन । यो केवल औपचारिकता होइन, संकेत हो — चीनले नेपालको राजनीतिक नक्सामा फेरबदलको सम्भावना नियालिरहेको छ ।
३. लोकप्रियताको राप र जनमतको डरले सरकार दुवैतर्फबाट दबाबमा परेको छ । जेनजी ‘विद्रोह’ को न्यारेटिभ आफ्नै पक्षमा पार्ने जोखिम लिँदै सरकारले स्थायित्व र अस्तित्व बचाउने प्रयास गरिरहेको छ । तर उसको संरचना कमजोर छ — अख्तियार, सम्पत्ति शुद्धीकरण र अन्य संवैधानिक निकाय कार्यान्वयनभन्दा अझै प्रतीकमा सीमित छन् ।
माओवादीको कमजोर कडी कृष्णबहादुर महरामाथि आक्रामक तर अरूलाई छुन डराइरहेको छ । बेचन झा र केशव दुलालले लगाएका आरोपमा अख्तियार प्रवेश गर्ने आदेश छैन । प्रधानमन्त्री कार्कीको अवस्था नेपथ्यको हुकुम उल्लंघन गर्न नसक्नु, कानुनी पृष्ठभूमिका कारण विवेकले त्यसलाई स्वीकार गर्न पनि नसक्नु हो ।
४. अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओली र उनका सहयोगीहरूको विश्वास छ — ‘आक्रमण नै सुरक्षाको पहिलो हतियार हो ।’ त्यसैले दुबैपक्षको तर्कभन्दा प्रतिक्रिया, नीतिभन्दा प्रतिशोध, र समाधानभन्दा संघर्ष प्राथमिकता पाएको छ ।
५. नेपालमा सिद्धान्तको राजनीति क्रमशः सुविधाको राजनीतिमा फेरिएको छ । राजनीतिक दलहरू साइनबोर्डमा बाँकी रहेका छन् — वैचारिक गहिराइ, नीति–दिशा र आत्म–नियन्त्रण हराइसकेका छन् । उनीहरूका लागि इतिहास बोझिलो हुँदैछ; संकटको सामना तत्कालीन भूमिकाले मात्रै तय गर्छ ।
पूर्व–जर्नेलहरूको राजनीतिक सक्रियता एकाएक बढेको छ । धार्मिक अतिवादीहरूको पुनर्संरचना र राजावादी शक्तिको संगठित मिडिया अभियानले यही रिक्तता भर्न खोजिरहेका छन् । दुर्गा प्रसाईंको एकाएक हैसियत र बढेको भूमिका पछिका प्रायोजक नियाल्न आवश्यक छ । जंगी अड्डाले एकातर्फ चैत्र १५ को निरन्तरता स्वीकार्नु, राजनीतिक रिक्तताको यही क्षणमा पुरानो सत्ता–संरचना पुनः प्रवेश गर्ने संकेत देखिनु — कहिले ‘संविधान सुधार’ को नाममा, कहिले ‘संस्कृति र राष्ट्रिय पहिचान’ को आवरणमा । यो भनेको लोकतान्त्रिक व्यवस्थामाथि गहिरो संकटको संकेत हो ।
६. राजनीतिक दल जेनजी आन्दोलनको मूल कारण आफ्नै असफलता हो भन्ने यथार्थ स्वीकार्न अझै हिचकिचाइरहेका छन् । शक्तिको अहंकार र जनताको निराशाबीचको यो द्वन्द्व समाधान नभएसम्म न जेनजी आन्दोलन थामिन्छ, न त लोकतन्त्रप्रति विश्वास फर्किन्छ । इतिहासले सिकाउँछ — अहंकार ढलेपछि मात्र चेत जाग्छ ।
जेनजी ‘विद्रोह’ कुनै आकस्मिक घटना थिएन; यो नेपालका युवाहरूको धेरै दिनदेखिको निराशा, अपमान र विश्वासघातको प्रतिक्रिया हो । यसले एकपटक फेरि सन्देश दिएको छ — अब राजनीति ‘सुविधा’ होइन, ‘सिद्धान्त’ मा फर्किनुपर्छ । विचार र विचारअनुसारको व्यवहार — अर्थात् भन्ने, गर्ने, देखिने र हुने बीचको विरोधाभास मेटिनुपर्छ । नत्र, विदेशी प्रायोजन, धार्मिक अतिवाद, र राजावादी पुनरागमनको त्रिकोणीय गठबन्धनले नेपाललाई पुनः अधिनायकवादी अँध्यारोमा धकेल्न सक्छ । ‘राजनीतिले जब सिद्धान्त हराउँछ, विद्रोह केवल विकल्प होइन — चेतनाको पुनर्जन्म बन्छ ।’ समयमै चेतना भया !
टिप्पणीहरू