बालेनको आडमा डोजर आतंक, नागरिकमाथि खतरा

बालेनको आडमा डोजर आतंक, नागरिकमाथि खतरा

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको भनाइ र व्यवहारमा आकाश–पातालको अन्तर भेटिएको छ । तिहारको बिदा र पर्वका बीच अदालत बन्द भएको मौका छोपेर कात्तिक २ गतेदेखि ११ गतेसम्म पटक–पटक पुराना र रैथाने उद्योगपति पीयूषबहादुर अमात्यको बानेश्वरस्थित घर जग्गामा बलमिच्याइँपूर्वक ३ वटा डोजर चलाइँदा वरपरको पर्खालसँगै घरको केही भाग भत्काइएको घटनाले कानुनी र व्यावहारिक रूपमा चर्को विवाद निम्त्याएको छ । नयाँबानेश्वर, वडा नम्बर–१० स्थित मदन भण्डारी पथमा अमात्यले ४२ वर्षअगाडि ०४० सालमा घर बनाएका थिए । भिरालो जग्गामा रहेको घर भत्किन नदिने उद्देश्यले छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा खरिद गरी पर्खाल निर्माण गरिएको थियोे ।

तर, लालपुर्जा बनिसकेपछि जग्गाधनीले उक्त जग्गा बिक्री गरिदिए । अहिले आएर इन्टरनेशनल स्कूल अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) ले उक्त जग्गाको स्वामित्व आफूसँग रहेको दावी गरेको छ । बीचमा आइएसएमटीले त्यहाँ भवन निर्माणको तयारी गर्दै महानगरको न्यायिक समितिमा मुद्दा दायर गरेको प्राप्त कागजातमा देखिन्छ । मेयर बालेनको इजलासले वैशाख ११ गते पर्खाल भत्काउन आदेश दिएको पनि स्कूल पक्षले बल्ल बाहिर ल्याएको छ । सोउपर अदालतमा पुनरावेदन चलिरहेकै बेला कात्तिक २ गते आफ्नै लेटरप्याडमा पत्र लेखेर आईएसएमटीले डोजर चलाउँदै लगातार पर्खाल भत्काएको हो । अमात्यका कानुनी प्रतिनिधि वीरेन्द्र पाठकले भनेका छन्, ‘प्रक्रिया पूरा गरी, महानगरका प्रतिनिधि राखेर मात्र घर भत्काउन पाइने हो तर यस्तो नियमको कत्ति पनि पालना भएको छैन । प्रहरीको सुरक्षा माग्दा बालेन रिसाउने डरले कोही वरपर देखा नै पर्दैन ।’

अमात्यले बलजफ्तीपूर्ण विध्वंशविरुद्ध प्रहरी वृत्त बानेश्वरमा उजुरी दर्ताको प्रयास गरे पनि प्रहरीले ‘हात हालाहालको स्थिति बनेपछि मात्र आउन’ गैरजिम्मेवार जवाफ दिएर रित्तो हात फर्काइदिएको पीडित परिवारको गुनासो छ । उता, राजु पाण्डेमातहतको महानगर प्रहरी बलका बानेश्वर एरिया इञ्चार्ज शिव पौडेलले डोजर लगाए पनि आफूहरू त्यसमा संलग्न नभएको दावी गरेका छन् तर जनआस्थासँग रहेका प्रमाण र तस्बिरअनुसार अमात्यको घर भत्काउने क्रममा उनीहरू नै बर्दी लगाएर त्यहाँ उपस्थित भएका थिए । त्यस दिन बिहान सवा ६ बजे नै आफूहरू भत्काउन जान लागेकाले साथ दिन बानेश्वर वृत्तका प्रहरी डिएसपी हरि खतिवडालाई खबर गर्ने यिनै पौडेल हुन् । दिनको घामजत्तिकै छर्लंग यो तथ्यलाई उनका हाकिम राजु पाण्डेले भने ठाडै छोप्न खोजेका छन् ।

उनले यस प्रकरणमा आफूहरूको कुनै संलग्नता नरहेको र अदालतमा मुध्दा चल्दाचल्दै केही गर्नै नमिल्ने दावीसमेत गरेका छन् । तर स्थानीय बासिन्दाहरुद्वारा तस्वीरमा कैद गरिएका यी पात्र उनका कर्मचारी नभए को हुन् ? भन्ने सम्बन्धमा महानगर मौन छ । कि जेनजी आन्दोलनमा महानगर प्रहरी बलको पनि बर्दी लुटिएको थियो र स्कूल परिवारको सहयोगार्थ काभ्रेबाट ल्याइएका बाहुबलीहरू त्यही पोशाक पहिरी अनुहारमा प्लास्टिक सर्जरी गराएर अमात्यको घर भत्काउनमा सामेल भएका हुन् ? खोजी गर्नैपर्ने भएको छ ।

यस घटनाले राजधानीको मुटुमै नागरिकको सुरक्षा, न्यायिक प्रक्रिया र सरकारी निकायको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । अदालतमा पुनरावेदन जारी रहँदा, चाडबाड र बिदा छोपेर घर भत्काउने कार्यले वृद्धवृद्धा बस्ने घरमा अप्रिय घटना हुनसक्ने जोखिम बढाएको छ । स्थानीय छिमेकी भन्छन्, ‘यदि यस प्रकारको दादागिरीमा संलग्नहरूलाई बेलैमा कारबाही नगरिए भविष्यमा अन्य नागरिकको सम्पत्ति र जीवन पनि जोखिममा पर्न सक्ने खतरा छ ।’

(जनआस्था साप्ताहिकको कात्तिक १२ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू