खगेन्द्र सुनारलाई धरौटीमा छोड्न आदेश

खगेन्द्र सुनारलाई धरौटीमा छोड्न आदेश

काभ्रेपलाञ्चोक जिल्ला अदालतले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश गरेको छ । 

‘विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर’ मा न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले ५० हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश गरेको हो । 

‘निज प्रतिवादीले खगेन्द्र सुनार नामको फेसबुक खाता आफ्नो होइन भनि बयान गरेको तथ्यलाई प्रमाण मूल्याङ्कनको रोहमा परीक्षण गरी पछि ठहरेबमोजिम हुने नै हुँदा हालै यी प्रतिवादीलाई थुनामै राखि मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्थाको विद्यमानता रहेको नदेखिदाँ मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम निज प्रतिवादी खगेन्द्र सुनारबाट रु ५० हजार नगद धरौट वा जमानत तथा जेथा जमानत दिए लिई प्रस्तुत मुद्दाको रोहमा मुद्दा पुर्पक्षमा तारेखमा राख्नु’,आदेशमा भनिएको छ ।

दैलेखको नारायण नगरपालिका–३ का सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले गत साउन २ गते ‘विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतका कसुर’ मा मुद्दा दायर गरेकी थिइन् । आज बयान र थुनछेक बहसपछि अदालतले उनलाई छोड्ने आदेश गरेको हो । सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । 

मुद्दा र विभिन्न ठगीमा मुछिएका कारणले उनको नाम मन्त्रीको लिष्टबाट काटिएको थियो ।

टिप्पणीहरू