भयावह दुर्घटनामा संयोगले टरेको मानवीय क्षति

भयावह दुर्घटनामा संयोगले टरेको मानवीय क्षति

मेची राजमार्गमा भयावह सवारी दुर्घटना भएको छ । तेह्रथुमबाट झापातर्फ आउँदै गरेको मे.१ ज ३१३७ नम्बरको यात्रुवाहक बोलेरो र इलामबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१–०१–०१६प १३६७ नम्बरको पल्सर मोटरसाइकल एकापसमा ठोक्किँदा देउमाई नगरपालिका–१, कुखुरेस्थित राजमार्गमा आज बिहान दुर्घटना भएको थियो । 

बोलेरो सडकबाट १० मीटर तल खसेकोमा प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षक रोजन नेम्वाङको कमाण्डमा खटिएको टोलीले तत्काल उद्धार गरेको बताइन्छ । बोलेरोमा सवार सबै यात्रुको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । जसअनुसार घाइते १० जनाको जिल्ला अस्पताल, इलाममा उपचार भइरहेको छ ।

झापाको बिर्तामोड नगरपालिका–६ की ३० वर्षीया सुशिला तिमल्सिना, तेह्रथुमको आठराईत्रियुग गाउँपालिका–१ का ६५ वर्षीया छविलाल गुरुङ्ग, ३० वर्षीय प्रकाश शेर्पा, ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका–१ की ६४ वर्षीया डम्मरकुमारी गुरुङ्ग, ३० वर्षीय इन्द्र गुरुङ्ग, २८ वर्षीया अञ्जना गुरुङ्ग, धनकुटाकी ३२ वर्षीया सुस्मा लिम्बु, पाँचथरको फालेलुङ गाउँपालिका–६ की २३ वर्षीया असिना तामाङ्ग र बुद्धशान्ति गाउँपालिका–४ की २७ वर्षीया चन्द्रकला कालिकोटेको उपचार भइरहेको छ ।

उनीहरुको निधार, हात, नाक, घुँडामा सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी, मोटरसाइकल चालक लक्ष्मीप्रसाद मैनालीको दाहिने हातको हत्केलामा चोट लागेको छ । प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका–६ का उनी र बोलेरो चालक तेह्रथुमको आठराई गाउँपालिका–२ का २६ वर्षीय रविन तामाङ्गलाई नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको छ । 

मोटरसाइकल चालकको साथमा कागजपत्र नभेटिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू