ल्हासाको मध्यभागमा पुरानो मन्दिर झल्झलाकार
चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको राजधानी ल्हासाको मध्य भागमा अवस्थित ऐतिहासिक जेबुम–गाङ ल्हाखाङ मन्दिरलाई आधुनिक कला केन्द्रको रूपमा पुनर्जीवित गरिएको छ। करिब दुई सय वर्ष पुरानो यो मन्दिरले इतिहासको कालखण्डमा खाद्यान्न भण्डारणस्थलको रूपमा पनि भूमिका खेलेको थियो । तर अहिले नयाँ पुस्ताका लागि सांस्कृतिक जीवनको केन्द्र बनेको छ ।
चिनियाँ वास्तुकार सिया युजुनका अनुसार मन्दिरमा छिङ राजवंश (सन् १६४४–१९११) कालका प्राचीन भित्तेचित्रहरू छन्। करिब तीन हजार ६५० मिटर उचाइमा रहेको यो मन्दिर ल्हासाको ऐतिहासिक व्यवसायिक गल्ली र आवासीय क्षेत्रको बीचमा अवस्थित छ। गोलाकार संरचना, ऐतिहासिक तिब्बतीकलायुक्त स्तम्भ र बार्दली, शताब्दी पूरानो भित्तेचित्रले मन्दिरलाई अद्वितीय बनाएको छ ।
१९औँ शताब्दीको अन्त्यतिर निर्माण गरिएको जेबुम–गाङ मन्दिर तिब्बती बौद्ध परम्पराको प्रतीकात्मक ‘मण्डलिक’ शैलीमा बनेको एक मात्र भवन हो। लामो समयसम्म गोदामका रूपमा प्रयोग भएको यो स्थल सिया र उनको टोलीको पाँच वर्षे प्रयासपछि आधुनिक कला प्रदर्शनस्थलमा रूपान्तरण गरिएको छ ।
मन्दिरको भित्तेचित्र र काठका कलाकृतिहरू निकै सावधानीपूर्वक मर्मत गरिएको बताइन्छ । मूल ढाँचा, बनावट र ऐतिहासिक स्वरूपलाई जस्ताको तस्तै राख्दै मन्दिरमा नयाँ जीवन भरिएको वास्तुविद्हरुको भनाई छ ।
सियाको टोलीले मन्दिरलाई सुरक्षित राख्न प्राविधिक सुधार पनि गरेको छ। छानामा तीन तहको वाटरप्रुफ प्रणाली जडान गरी भित्तेचित्रहरूलाई क्षतिबाट जोगाइएको छ। पुराना बल्बहरू हटाएर सङ्ग्रहालय–स्तरका विशेष बत्ती जडान गरिएको छ । यसले भित्री वातावरणलाई झन् मनमोहक बनाएको उनीहरुको दाबी छ ।
सियाका अनुसार तिब्बती परम्परागत वास्तुकलाको प्रभाव पाँचदेखि छ इन्द्रियसम्म फैलिएको हुन्छ । गन्ध, ध्वनी, प्रकाश र इतिहास सबैले भवनलाई ‘बहुआयामिक’ बनाएको छ । सोही धारणा अनुसार मन्दिरलाई पुनर्जीवित गरिएको हो । यसमा आधुनिकता र परम्परा बीचको संवेदनशील संवाद देख्न सकिन्छ ।
पुरानो धार्मिक संरचनालाई आधुनिक कला केन्द्रमा रूपान्तरण चिनियाँ पहलले युवापुस्तामा वास्तुकला संरक्षणप्रतिको चेतना जगाउने विश्वास लिइएको छ ।
स्रोत : चाइना न्युज सर्भिस ।
टिप्पणीहरू