तिहारमा स्मार्ट सिटीको हालत

तिहारमा स्मार्ट सिटीको हालत

हिजो भाइटीकाको दिन दिउँसो सार्वजनिक सवारी साधनहरू खासै चलेका थिएनन्। अरु बेला चितवन सदरमुकाम भरतपुरको पुलचोकमा यात्रु चढाउँदै गर्दा स्थानीय बसपार्कबाट अर्को म्याजिक गाडी पनि पालोमा आइपुग्थ्यो तर हिजो त्यस्तो देखिएन। 

गैंडाकोट र कावासोतीतर्फ छुट्ने केही अटो र एउटा मिनिबस मात्र चले। अटोचालकले चार किमी यात्राको हाकाहाकी दुई सय रुपैयाँ भने । मिनिबसले नारायणगढ पुलचोकदेखि विजयचोकसम्म सीधै ३० रुपैयाँ भाडा असूल ग¥यो। सामान्यतयाः सो मार्गमा म्याजिक यात्रामा २५ रुपैयाँभन्दा बढी लिँदैनन् ।

भरतपुर बसपार्कदेखि गैंडाकोटको थुम्सीसम्म यात्रु बोक्ने ९ नम्बर म्याजिकले थुम्सीदेखिकै मात्र रु. ३० लिएपनि जयश्रीपुलयता विजयचोक, कांग्रेसचोक कालीगण्डकीचोक, भृकुटीचोक जहाँबाट चढेपनि–नारायणगढ–शहीदचोकसम्म २५ रुपैयाँमात्र लिँदै आएको छ। तर हिजो नारायणगढबाट विजयचोकसम्म बढी भाडा असूल गरेको उजुरी परेको छ। गैंडाकोटदेखि विजयचोकसम्म उभिएर यात्रा गर्ने यात्रुले मिनीबसमै ३० रुपैयाँ तिर्नुपर्यो ।

भाडा बढी भएको भन्दै उनीहरुले ५ रुपैयाँ फिर्ता माग्दा कन्डक्टरले अस्वीकार गरे। यात्रुले तत्काल कारबाहीको चेतावनी दिए पनि चालक पक्ष नमानेपछि विवाद चर्कियो। गैंडाकोट पुल पारेर केही टाढा पुगेपछि मिनिबस चालकले यात्रुलाई बीचैमा झार्ने प्रयास गरे। यात्रु ओर्लिन नमानेपछि उनले विजयचोकसम्मै यात्रा गरे र त्यहाँ पुगेर मिनिबसको फोटो खिचे। 

सो क्रममा चालकले गाडी तीब्र गतिमा हिँडाउँदा यात्रु किचिने स्थिति बनेको थियो। यात्रुले तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय गैंडाकोटमा जानकारी दिए। मिनिबसको नम्बर बागमती प्रदेश ०३–००१–ख ०७९९ रहेको र पछाडि रातो अक्षरमा राईकोट, दमार, कोथर, अरुणखोला, कावासोती हुँदै नारायणगढ–भरतपुर लेखिएको थियो। 

चितवनका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिल थापाले भने, “त्यो गाडी नारायणगढ फर्किएपछि कारबाही हुन्छ,” भन्दै तत्कालीन समयमा संयुक्त प्रहरी टोलीमार्फत चेकजाँच र सचेतना अभियान सुरु गरिएको जानकारी दिए। उक्त मिनिबसलाई हिजै बेलुकी भरतपुर फर्किएपछि नियन्त्रणमा लिइएको र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम २४ घन्टे पुर्जी जारी गरिएको ट्राफिक प्रमुख थापाले बताए। 

ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा बढी भाडा लिने, विद्यार्थी वा अपाङ्गता छुट कार्यान्वयन नगर्ने र यात्रुसँग गैरजिम्मेवार व्यवहार गर्ने उजुरी आए तत्काल ऐनअनुसार कारबाही गरिने प्रतिबद्धता दोहो¥याएको छ। तर स्मार्ट सिटी भनिने भरतपुर महानगरपालिकामा यातायातमा अझै अव्यवस्था व्याप्त छ। 

बिहान चौबीसकोठीमा नयाँ भकारी किनेर फर्किँदै गरेकी एक महिलाको भकारी मिनिबस चालकले तानेर आफ्नै गाडीमा चढाइदिए। महिलाले म्याजिकमै यात्रा गर्ने अडान गरेपछि पुनः भकारी उतारेर म्याजिकको छतमा राख्नुप¥यो। यातायातकर्मीहरूको यात्रुप्रति व्यवहार पनि सभ्य छैन। बाटो हिँड्ने यात्रुलाई समेत परैबाट “कता जाने?” भन्दै झोला तान्ने, पछाडिबाट धकेल्दै जबरजस्ती गाडीमा चढाउने जस्ता क्रियाकलाप आम दृश्य बनेका छन्। 

चितवनका नयाँ ट्राफिक प्रमुख अनिल थापाले भने, “यातायात क्षेत्रमा देखिएका यस्ता विकृत प्रवृत्तिहरू नियन्त्रण हाम्रो प्राथमिकता हो। हिजो र अस्ति मात्रै पनि केही चालक र सहचालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ।”

टिप्पणीहरू