सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न रोक

सार्वजनिक स्थलमा देउसी-भैलो खेल्न रोक

भक्तपुरका सार्वजनिक स्थलमा तिहारको देउसी-भैलो खेल्न नपाइने भएको छ । 

स्थानीय प्रशासनले सूचना जारी गर्दै सार्वजनिक स्थान, पदमार्ग, सडक मार्गजस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी देउसी भैलो नखेल्ने आग्रह गरेको हो । त्यस्तै, पूजा मण्डप वा उत्सव नमनाउन पनि भनिएको छ । 

देउसी-भैलो लगायतका सांस्कृतिक कार्यक्रम राती ९ बजेसम्म मात्र गर्न र कसैलाई अप्ठेरो नपर्न पनि प्रशासनले सूचित गरेको छ ।  त्यस्तै, मैनबत्ती, बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भूईंचम्पा वा अन्य विस्फोटक पदार्थको किनबेच, ढुवानी, भण्डारी, प्रयोग नगर्नसमेत सचेत गराइएको छ । 

चाडपर्वको समयमा चोरीको सम्भावना अधिक हुने भएकाले घर खाली नहुनेगरी रेखदेख गर्न, घर छोड्नु परेमा छिमेकीलाई जानकारी गराउन, शंकास्पद व्यक्ति आएमा नजिकको प्रहरी एवम् सुरक्षा इकाईमा खबर गराउन सिडिओ कार्यालयको अपिल छ । 

अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बेचबिखनजस्ता उपभोक्ता हित विपरितका गतिविधि वा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी गाडी नचलाउन, बढी भाडा नलिन चेतावनी दिइएको छ ।

‘चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भाव खलल पुग्ने कुनै पनि गतिविधि नगर्न नगराउनु हुन,’ प्रशासनको अनुरोध छ, ‘गैरकानूनी रुपमा चिठ्ठा, जुवातास,  र अनलाइन सपिङ्गका नाममा हुने अवैध कारोबार तथा विद्युतीय हुने ठगीबाट बच्ने ।’

कोही कसैले सूचनाको अवज्ञा हुनेगरी कुनै गतिविधि गरेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी गराउन पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू