आन्दोलनमा मासु र चामल चोर्ने हो ?
नेपालीमा एउटा भनाइ छ, ‘नपाउँदासम्म मात्र हो, पाएपछि सबै उस्तै ।’ यो भनाइसँग ठ्याक्कै मिल्दोजुल्दो गतिविधि भदौ २३ र २४ गते देख्न पाइयो । नेताहरूले देश लुटे भनेर विरोधमा उत्रिएकाहरूको चरित्रमा पनि केही फरक देखिएन । परिवर्तनका लागि सडकमा आएका उनीहरूले चामल र फ्रिजमा भएको मासुसमेत छोडेनन् । प्रश्न उठ्छ–चामल र मासुसमेत लुट्नेले पाए भने अरु के बाँकी राख्लान् ?
आन्दोलनमा सरकारी कार्यालयहरू ध्वस्त मात्र बनाइएन, भित्र भएका सामान पनि लुटियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट दशैंमा महँगी नहोस् भनी अगाडि नै किनेर राखिएको खाद्यान्न सामग्रीसमेत चोरी भएको छ । आन्दोलनकारीहरूले गाडी ल्याएर चामल ओसारेका थिए । क्यान्टिनमा ८८ बोरा चामल थियो– दशैंमा भाउ बढ्छ भनेर पहिल्यै किनिएको ।
त्यसैगरी, दाल, गेडागुडी र फ्रिजभित्र मासु भण्डारण गरिएको थियो । ती सबै लुटिएका छन् । आन्दोलनकारीले भाँडाकुँडा, ग्याँस सिलिण्डर पनि लगेका छन् । ५५ ईञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप, कुर्सी, टेबललगायत लैजान मिल्ने सबै सामान लगेर कार्यालयको भवनमा आगो लगाइएको थियो । स्रोत भन्छ, ‘भाडाकुँडा केही पनि छैन । चामल, दाल, फ्रिजमा भएको मासु जम्मै बोकेरै गएछन् । चामलदाल त चोर्नेहरूले पाए भने अर्थोक छोड्छन् ?’ कार्यालयका सूचना अधिकारी एसएसपी शेखर खनालले खाद्यान्न सामग्री चोरी भएको पुष्टि गरे । ‘सामानहरू मेसमा थियो । सबै चोरेर लगेका छन् । त्योसँगै ल्यापटप, कम्प्युटरलगायत चोरी भएको छ,’ उनले भने ।
डढे दुई दर्जन सवारी, जोगियो सिसिटिभी
आन्दोलनकारीहरूले कार्यालयमा भएको सामान लुटपाट र चोरी गरेपछि आगजनी गर्दा कम्पाउण्डमा भएका २८ वटा चार पाङ्ग्रे सवारी साधन ध्वस्त भएको छ । मोटरसाइकल पनि थुप्रै जलेका छन् । एउटा ब्यारेक, एउटा हल र कर्मचारी प्रशासन शाखा खरानी बनेको छ । सिसिटिभीको कन्ट्रोल रुम अघिल्लै महिना जिल्ला प्रहरी परिसर, काठमाडौंमा सारिसकेकाले जोगिएको छ । नत्र ठूलै क्षति व्यहोर्नुपथ्र्यों । स्रोत भन्छ, ‘उपत्यकाभरको पाँच हजार सिसिटिभी क्यामेराको कन्ट्रोल रुम यहाँ थियो । धन्न, परिसरमा सारिसकिएको थियो र जोगियो । नत्र अकल्पनीय क्षति हुन्थ्यो ।’
आफ्नै भवनमा फर्कियो कार्यालय
आगजनीपछि उपत्यका प्रहरी कार्यालय महेन्द्र पुलिस क्लबमा सरेको थियो । नागरिकस्तरको सहयोगले कार्यालय आफ्नै ठाउँमा फर्किएको छ । स्थानीयहरूले आफैं रकम संकलन गरेर कार्यालय पुनर्निर्माण गरिदिएका हुन् । त्यसैगरी, उनीहरूले टेबलकुर्सीलगायत फर्निचर, कम्प्युटर, ल्यापटपको पनि व्यवस्थापन गरिदिएका छन् ।
एसएसपी खनाल नागरिककै सहयोगका कारण आफूहरू पुरानो भवनमा फर्किन सकेको बताउँछन् । ‘यहाँ मात्र होइन, उहाँहरूले धेरै ठाउँमा स्वतःस्फूर्त रूपमा प्रहरी कार्यालयहरूको पुनर्निर्माण गरिरहनुभएको छ । उहाँहरूकै सहयोगले प्रहरी कार्यालय पुरानै अवस्थामा फर्किंदैछन्,’ उनले भने ।
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू