जेनजी विध्वंशका प्रमाणहरु प्रहरीको ई–लाईब्रेरीमा
नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ गतेको विध्वंशका प्रमाणहरु ‘इन्ट्रानेट पोर्टल (नेपाल.सीडी)’ को ई–लाईब्रेरीमा रहेको जनाएको छ । घटनाबारे सर्वसाधारणबाट प्राप्त तस्बिर,भिडियो, समाचार,सिसिटिभी फुटेजलगायतका प्रमाणहरु अपराध अनुसन्धान विभागको कार्यविधिअनुसार राखिएको मुख्यालयको भनाइ छ ।
आईजीपीको सचिवालय,सबै विभाग, ब्यूरो,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल,काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई आज पत्राचार गर्दै मुख्यालयले सोबारे जानकारी गराउन भनेको छ । ‘इन्ट्रानेट पोर्टल (नेपाल.सीडी) को ई–लाईब्रेरीभित्र अपराध अनुसन्धान विभागअन्तर्गत कार्यविधि–कार्यादेशमा राखिएको व्यहोरा सम्पूर्ण प्रहरी कार्यालयहरुलाई जानकारी गराईदिनहुन...’,पत्रमा उल्लेख छ ।
मुख्यालयले भदौ २४ गते प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने, सवारी साधन जलाउने,प्रहरीको पोशाक लुट्ने र प्रहरीको हत्या गर्नेहरुको तस्बिर, भिडियो, सिसिटिभी फुटेज उपलब्ध गराउन आग्रह गरेको छ । प्राप्त विद्युतीय प्रमाणहरु संकलन, संरक्षण र भण्डारणका लागि ‘विद्युतीय प्रमाण संकलन तथा संरक्षणसम्बन्धी कार्यादेश, २०८२’ बनाइएको छ ।
टिप्पणीहरू