हमासले बुझाएका शव तेलअभिभमा, अमेरिकी राष्ट्रपति दौडधुपमा
इजिप्टमा हिजोदेखि शुरु भएको गाजासम्बन्धी शिखर सम्मेलनसँगै यता नेपाली युवक विपिन जोशीसहित चार जना मृतक बन्धकका शव रेडक्रसमार्फत इजरायली सेना (आईडीएफ) ले बुझेको छ ।
हिजो साँझ दक्षिण गाजामा हमासले हस्तान्तरण गरेका शव आईडीएफले औपचारिक रूपमा बुझेको हो । नेपाली युवक विपिन जोशी,इजरायली नागरिक गाइ इलौज,योसी शाराबी र इजरायली सेनाका क्याप्टेन ड्यानियल पेरेजको शव बुझिएको बताइएको छ ।
आईडीएफका अनुसार कफिनहरूलाई तेलअभिभस्थित अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा राखिएको छ । जहाँ शवहरूको पहिचान तथा डीएनए परीक्षण गर्न दुई दिनसम्म समय लाग्न सक्ने छ ।
आईडीएफले मृतकहरूको सम्झनामा एक धार्मिक समारोह आयोजना गर्दै सैन्य रब्बीको नेतृत्वमा कफिनहरूमा इजरायली झण्डामा बेरिएर सैनिक सलामीका साथ श्रद्धाञ्जली अर्पण गरिएको थियो। उता, गाजाको परिदृश्यमा राहत र वार्ता प्रयाससँगै करिब २ हजार प्यालेस्टिनी कैदीहरू रिहा गरिएको छ । रिहा भएकामध्ये २५० जना आजीवन कारावास सजाय पाएका कैदीहरू समेत छन् ।
यो घटनाक्रम इजिप्टमा भइरहेको गाजा–सम्बन्धी शिखर सम्मेलनकै बीचमा भएको हो । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका दर्जनौं नेताहरू उपस्थित भए । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने सम्मेलनमा अनुपस्थित छन् ।
त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको संसद बैठकलाई सम्बोधन गरेका थिए । सो क्रममा संसदभित्रै प्यालेष्टाइनले स्वतन्त्र राष्ट्रको मान्यता दिनुपर्ने भन्दै एका सांसदले अमेरिकी राष्ट्रपतिको विरोध गरेका थिए ।
टिप्पणीहरू