उन्नत जीवनस्तरतर्फ ६९ करोड महिला
राष्ट्रपति सि जिनपिङको नेतृत्वमा चीनले केही दशकमा महिला अधिकार,शिक्षा, स्वास्थ्य र नेतृत्वतिर उल्लेखनीय प्रगति हासिल गरेको छ । सन् २०१३ देखि शुरु गरिएको लक्षित गरिबी निवारण अभियानमार्फत लाखौँ महिलालाई गरिबीको रेखामुनिबाट माथि उठाइएको छ ।
अहिले चीनका करिब ६९ करोड महिलाले सामान्यबाट मध्यम हुँदै समृद्ध जीवनस्तर उपभोग गरिरहेका छन् । उनीहरुको औसत उमेरसमेत ह्वात्तै बढेको छ । पाँच वर्षअघि ७३ वर्षको औसत उमेर अहिले झण्डै ८१ वर्ष पुगेको छ । विश्व स्वास्थ्य संगठनले चीनलाई मातृ तथा बाल स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट मुलुक भन्ने मान्यता दिएको छ।
चिनियाँ महिलाहरू वैज्ञानिक क्षेत्रको ४५.८ प्रतिशत, इन्टरनेट उद्यमीहरूको आधाभन्दा बढी र न्याय क्षेत्रको ४२.३ प्रतिशत पदमा पुगेका छन्।
नीतिगत रूपान्तरण र संस्थागत सुनिश्चितता
यी उपलब्धि आकस्मिक भने होइनन् । चीनले लैङ्गिक समानतालाई राष्ट्रिय नीतिका रूपमा अंगीकार गरेको छ । महिला विकासलाई देशको पाँच आयाम विकास योजनामा राखिएको छ।
पाँच वर्षअघि ७३ वर्षको औसत उमेर अहिले झण्डै ८१ वर्ष पुगेको छ ।
शिक्षा,स्वास्थ्य, सीपमूलक तालिम र आर्थिक अवसरमा समान पहुँच सुनिश्चित गर्न सरकारले क्रमबद्ध कार्यक्रम सञ्चालन गर्दै आएको देखिन्छ ।
महिला सहभागितालाई राष्ट्रिय विकासको मेरुदण्ड मान्दै, सरकारले सशक्त महिला नीति,कानुनी सुरक्षा, र रोजगार–उद्यम प्रवर्धन कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ।

अन्तर्राष्ट्रिय योगदान र साझेदारी
चीनले घरेलु मात्रै होइन,अन्तर्राष्ट्रिय स्तरमा पनि महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएको छ। अहिलेसम्म उसले संयुक्त राष्ट्रसंघ महिला संस्थालाई २ करोड अमेरिकी डलर सहयोग गरेको छ । युनेस्कोसँगको सहकार्यमा ‘छोरी तथा महिलाको शिक्षा पुरस्कार’ स्थापना भएको छ।
सन् २०१२ देखि चीनले विभिन्न अन्तर्राष्ट्रिय संरचनाअन्तर्गत २९ वटा महिला सम्मेलन आयोजना गरेको छ र २० भन्दा बढी देशमा करिब ४० मिलियन अमेरिकी डलर बराबरका महिलासम्बन्धी परियोजना चलाएको छ।
विश्वमा अझै कायम चुनौती
यद्यपि चीनले उल्लेखनीय प्रगति हासिल गरे पनि विश्वव्यापी रूपमा महिलाको अवस्था अझै चुनौतीपूर्ण छ।
संयुक्त राष्ट्रसंघ महिला संस्थाको ‘जेण्डर स्न्यापसट २०२५’ रिपोर्टअनुसार, हाल विश्वमा ३५ करोड १० लाख महिला र किशोरीहरू चरम गरिबीमा छन्। साथै ६७ करोड ६० लाख महिला र बालिका द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गरिरहेका छन् । जुन सन् १९९० यताकै उच्च तथ्याङ्क हो ।
यदि वर्तमान प्रवृत्ति जारी रहेमा सन् २०३० सम्म लैंगिक समानता र दिगो विकास लक्ष्य हासिल नहुने चेतावनी रिपोर्टले दिएको छ।

बेइजिङ फेरि केन्द्रमा
यी चुनौतीबीच बेइजिङमा आज भेला भएका विश्व नेताहरूले महिलाको अधिकार र समानताका लागि नयाँ खाका तयार पार्दैछन् ।
राष्ट्रपति सि जिनपिङले उक्त सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ । सन् २०१५ मा संयुक्त राष्ट्रसंघको महिला सशक्तिकरण सम्मेलनमा प्रस्तुत गर्नुभएका महिलाको विकासलाई सामाजिक–आर्थिक प्रगतिसँग जोड्ने,अधिकार सुनिश्चित गर्ने,समावेशी समाज निर्माण गर्ने, र अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने चार मार्गदर्शक सिद्धान्तलाई चीनले व्यवहारमा उतार्दै आएको छ ।
युएन वुमनकी कार्यकारी निर्देशक सीमा बहाउसका अनुसार, ‘महिला सशक्तिकरणमा चीनको अनुभवले विश्वका लागि अमूल्य पाठ दिएको छ । आज शुरु भएको बेइजिङ सम्मेलनले लैङ्गिक समानताको नयाँ गति तय गर्नेछ।’
स्रोत : सिजिटिएन ।


टिप्पणीहरू