रास्वपाको होइन, निर्वाचन आयोगलाई तोसिमाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले मतदाता नामावली दर्ता र मतदान पहुँचको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छन्। आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनअघि आयोगले गर्नुपर्ने तीन बुँदे कार्यसूचीसहितको पत्र आज आयोगमा दर्ता गराएको उनको सचिवालयले जनाएको छ।
पूर्व स्वास्थ्य राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी कार्कीले भौगोलिक रूपमा विकट तथा दुर्गम जिल्लाहरूमा पर्याप्त मतदान केन्द्रका साथै बायोमेट्रिक दर्ताका लागि ‘मल्टिपल सेन्टर’ स्थापना गर्न आयोगलाई आग्रह गरेकी छन्। सरकारले जेनजी युवालाई समेट्ने उद्देश्यले नयाँ मतदाता नामावली दर्ता खुलाए पनि त्यसका लागि पर्याप्त तयारी र व्यवस्थापन नभएको उनको टिप्पणी छ।
उनले भनेकी छन्, “दुर्गम जिल्लाहरूमा स्थानीय जनसंख्या, घनत्व र पहुँचको आधारमा एकभन्दा बढी केन्द्रमा बायोमेट्रिक दर्ता गर्न सक्ने व्यवस्था मिलाउन अनुरोध गर्छु।”
कार्कीले नागरिकता, राहदानी र अन्य प्रशासनिक कार्यका लागि वडा, पालिका तथा जिल्ला प्रशासन कार्यालयमा पुग्ने नागरिकहरूले आफ्नो नाम मतदाता नामावलीमा दर्ता भएको वा नभएको सहज रूपमा थाहा पाउने व्यवस्था मिलाउन पनि आयोगलाई आग्रह गरेकी छन्। दर्ता नभएका नागरिकका हकमा सम्बन्धित कार्यालयमार्फत् जानकारी दिने र दर्ता प्रक्रियामा सहजीकरण गर्ने संयन्त्र विकास गर्नुपर्ने उनको सुझाव छ।
त्यसैगरी उनले विदेशमा रहेका नेपाली युवालाई सम्बन्धित दूतावासमार्फत् मतदाता नामावलीमा समावेश गर्न आवश्यक नीतिगत तथा प्राविधिक वातावरण बनाउन पनि आयोगलाई अनुरोध गरेकी छन् । स्वयम् नेपालभित्रै पर्याप्त र सहज रुपमा त्यस्तो व्यवस्था गर्न नसकिरहेको राज्यको अवस्था एकातिर छ । तर, उनले विदेशमा रहेका नेपालीलाई दूतावासमार्फत् मतदाता नामावलीमा नाम समावेश गर्न नीतिगत र प्राविधिक व्यवस्थाको लागि आग्रह गर्नुलाई सस्तो लोकप्रियताको रुपमा हेरिएको छ ।


टिप्पणीहरू