समयको पदचाप पछ्याउन नसकेको परिणाम
समयको पदचापलाई सुन्न नसक्दा सामाजिक सञ्जालजस्ता कुनै न कुनै मुद्दाले समेत एमाले र नेपाली काँग्रेसलाई सत्ताबाट गलहत्याइ दिएपछि आज घरको न घाटको बन्नुपर्ने अवस्था आइलागेको छ । अझै पनि कानमा तेल हाले बसिरहने हो भने कहाँ पुगिन्छ भन्न सकिन्न । सबैका आ–आफ्ना स्वार्थ र बाध्यता पनि हुन्छन् जसले गर्दा चाहेर पनि सधैं साथ दिन सकिँदैन, र त्यो सम्भव पनि हुँदैन ।
बुद्धि, विवेक र दुरदृष्टि लगाएर समय र परिस्थितिको मागलाई आत्मसाथ गरी आफूलाई आफ्नो, जनताको र देशको हितमा उभ्याउनुपर्छ। समय घर्किएपछि पछुताउनुको कुनै अर्थ रहने छैन । सिंहदरबार जलाएपछि अहिले पछुताउनुको के अर्थ रहन्छ? वस्तुगत अवस्था परिवर्तन भएपछि आफ्नो बुझाइलाई पनि परिवर्तन गर्नु बुद्धिमानी हुन्छ।
अहिले पनि राजनीतिक दलका पहिलो पुस्ताका नेताहरूले सत्तामा लोभ राख्नु भनेको विष पिउने चाहना राखेजस्तै हो । किनभने तिनीहरूप्रति जनताको विश्वास ध्वस्त मात्रै भएको छैन — धराशायी नै भएको छ। जति समयसम्म उनीहरू नेतृत्वमा रहिरहनेछन्, त्यति नै अस्वीकार्य मानिनेछन् र त्यसले उनीहरुका पार्टीलाई थप अलोकप्रिय बनाउनेछ।
यस आन्दोलनको मुख्य माग नै पुराना पुस्ताका नेताहरूको बहिर्गमन र नयाँ व्यक्तिको अगुवाइमा सुधारिएको राजनीतिक दल बनाउनु थियो । यदि फेरि पुरानै व्यक्ति नै आउने हो भने आन्दोलनको औचित्य के रहनेछ? नयाँ पुस्तालाई पनि जनताले पुरानै दलको अवस्थामा स्वीकार नगर्ने अवस्थालाई बुझ्नु आवश्यक छ । त्यसकारण उनीहरूले नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ संस्कृति लिएर अगाडि आउनुपर्छ र जनतामा जानुपर्छ।
यो आन्दोलन सुरुमा सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध फुकुवा गरियोस् भन्ने मागले भएको भतापनि सुशासन, पारदर्शिता र रोजगारी जस्ता विषयहरू नै प्रमुख मुद्दा थिए। दुई तिहाइको नाममा भ्रष्टाचार र अनियमितता गरे पनि, जनताका दैनिक समस्याप्रति बेवास्ता गरे पनि, महँगी बढे पनि केही नहुने भन्ने अवस्था देशमा निर्माण भयो । यसले समाजमा व्यापक असन्तुष्टि उत्पन्न गरायो।
जेन जी आन्दोलनमार्फत त्यो असन्तुष्टिको विष्फोट भयो । तर त्यो आन्दोलनलाई बन्दुकको सहाराले दबाउने र तानाशाही प्रवृत्ति लाद्ने जुन बर्बरतापूर्ण दुस्साहस गरियो, त्यसले तिनीहरूको राजनीतिक सोच, चरित्र र जनता प्रतिको दृष्टिकोण सबैको सामु नाङ्ग्याइ दियो। जब जनताले उनीहरू भित्रको क्रुरतालाई बुझे, जनता तुरुन्तै सडकमा निस्किए ।
जनताको शक्ति सामान्य परिस्थितिमा प्रकट हुँदैन; अत्याचार बढेपछि मात्रै जनता सडकमा आउँछन्। सायद कलिला विद्यार्थीहरू नभएर अरू भएको भए जनता यसरी सडकमा आउन पाउँदैनथे वा आउँदैनथे । हरेक घरका मानिस– महिला होस् वा पुरुष, वृद्ध होस् वा युवा — सबैले आफ्नै छोराछोरी, आफ्नै भाइबहिनीको हत्या भयो भनेर सडकमा आए, जुन एकदम स्वाभाविक थियो। हत्यारो सरकार रहने हो भने थप बर्बरतालाई निम्त्याउनु जस्तै हुन्छ। कलिला युवाको यस्तो पाशविक र नृशंस हत्या गर्ने मानसिकता कसरी विकसित भयो ? सिङ्गो देश अहिले अचम्भित छ।
जेजस्तो भए पनि अब अगाडि बढ्नुको विकल्प छैन। सिंहदरबार, सर्वोच्च अदालत र ती सबै निर्दोष जनता, नेता, कर्मचारी, उद्योगी, व्यापारीहरू जसको सम्पत्ति जलाइयो, नष्ट गरियो वा तोडफोड गरियो— तिनीहरूको पुनर्निर्माण गर्दै अघि बढ्नु पर्छ। यसको विश्वास जनतामा दिलाउन सक्नुपर्छ।
एसएलसीको नतिजा हेर्न तीन दिनको बासी गोरखापत्र पर्खिने हिजोको अवस्था यतिखेर छैन । विश्वभरका आजका पुस्ता संसारभरका सूचनालाई हातमा बोकेर हिँड्छ । यो जेनेरेसनलाई भुलाउन सम्भव छैन। तर उनीहरूलाई बुझाउन सजिलो छ — तथ्य र तथ्यांक प्रस्तुत गरेर समझाउन सकिन्छ। राजनीतिक दलहरूले पहिलो काम आफूहरूले सुध्रिएको प्रमाण प्रस्तुत गर्नु पर्छ। सुध्रिनु भनेको पुरानालाई वक्तव्य दिन लगाएर होइन; उनीहरूलाई बिदा दिएर र नयाँ नेतृत्व लिएर हो।
देशको मुख्य समस्या सुशासनको अभाव हो। अब देशमा सुशासन कायम हुनेछ भन्ने ग्यारेन्टी दिनुपर्छ। यो ग्यारेन्टी दिने मार्गचित्र लिखित हुनुुपर्छ। जनताले थाहा पाउनुपर्छ कि अब म सरकारी कार्यालयमा कामका लागि जाँदा ऋण खोजेर अलग्गै पैसा बोकेर जानु पर्ने छैन। यस्तो अवस्था कसरी बनाउने?
कुनै पनि नियुक्ति, सरुवा र बढुवाहरू पारदर्शी तरिकाले हुनेछ भनेर जनतालाई, विशेषगरी सम्बन्धित व्यक्तिलाई भरोसा दिलाउनुपर्छ — त्यो कसरी सुनिश्चित गर्ने? कुनै ठेक्का स्वीकृत गर्दा कमिसन हुने छैन भनेर कसरी भरोसा दिलाउने? अब जनतालाई जानकारी गराएर, उनीहरूको भावना आत्मसात गरेर शासन सञ्चालन गर्नुपर्छ।
सिंहदरबारमा रहेका मन्त्री दलालसँग ठोक्किनु हुँदैन; बरु युवा, मजदुर र किसानसँग नियमित भेटघाट हुने वातावरण बनाउनु पर्छ । मन्त्रीका गोप्य कोठा र सचिवका गोप्य कोठाहरू खोल्नुपर्छ; सचिव र मन्त्रीका गेटमा चिर्कटो बुझ्ने पिएहरु हटाउनुपर्छ। बदलिने भनेको घुस नखाने, भ्रष्टाचार नगर्ने, भाईभतिजावाद त्याग्ने, साधारण जीवनशैली अपनाउने र गरीब मजदुर, किसान र शोषित श्रमजीवीलाई सम्मान गर्ने हो। जनताको लागि आफ्नो घर र अफिसको ढोका बन्द गरेर प्रवेश निषेध गरेका कारणले सम्बन्ध टुटेको हो भन्ने कुरा सम्झनुपर्छ।
यो जेनेरेसन आन्दोलनले राजनीतिमा लागेका सबैलाई अत्यन्त महत्वपूर्ण सन्देश र शिक्षा दिएको छ — जान्नेलाई श्रीखण्ड। अब परम्परागत सिद्धान्त, मान्यता र सोचबाट राजनीति निर्देश गर्न सम्भव छैन। हामीले नचाहेर पनि एमसीसीलाई स्वीकार्नुपर्ने बाध्यतामा पुगेका छौँ; अघिल्लो संसदले यसलाई कसरी पारित गर्यो भनेर बुझ्दा अरू कुराहरू पनि स्पष्ट हुन्छन्।
कुनै पनि मुलुकको व्यापारलाई चुनौती दिने उद्योगहरू चलाउन सकिँदैन — हाम्रो उद्योगहरू एकपछि अर्को पतन हुनु यसको उदाहरण हो। युक्रेनका आर्टिलरी र ट्यांकहरू अब ब्याट्रीबाट सञ्चालित ड्रोनहरूले ध्वस्त पार्दैछन्। रुसको तेल नकिन्न भारतमाथि अमेरिकाको दबाव छ। सरकारले सहयोग नगरे पनि धेरै युवाले विदेश गएर काम र कमाइ गरिरहेका छन्, अरू घरमै बसेर अनलाइनमार्फत विदेशका काम गरिरहेका छन्। अब हामीले पनि हरेक हिसाबले परिवर्तन गर्नु पर्छ— र यो परिवर्तन राजनीतिक दल र तिनका नेताबाट शुरू हुनुपर्छ। एक्स, वाई र जेड शब्दले पुस्तालाई जनाउँछ तर नेतृत्व गर्ने गुण तिनीहरूमा छैन मात्र भनेर हुँदैन। भावना, उत्तेजना र जोसले देश चल्ने होइन; राजनीतिक नेतृत्व अनुभवी र योग्यले गर्नुपर्छ।
हामीले उत्पादन क्षेत्र र प्रणाली, वितरण प्रणाली, व्यापार क्षेत्र र सञ्चालनका तरिका, विदेशनीति र रोजगारी सिर्जना गर्ने क्षेत्रहरू के हुनेछन् र कसरी सञ्चालन हुनेछन् भन्ने थोरै पनि अस्पष्टता रहन दिनु हुँदैन— यी सबैको स्पष्ट रोडम्याप प्रस्तुत नगरेसम्म जनताको र विशेषगरी युवाको विश्वास प्राप्त गर्न मुस्किल हुनेछ। यी प्रश्नहरू मात्र मुद्दा होइनन्; ती जनताको भावना हुन्। अहिले जनताको भावनामाथि ठूलो चोट लागेको छ र यसलाई सम्बोधन गरेर निको पार्नुपर्छ।
भीरबाट लड्न लागेको गाईलाई काँध थाप्न कसैले पनि सक्दैन — अहिले भएको यही हो।
के ओली, देउवा, प्रचण्ड र माधव हाम्रा÷जनताका दुश्मन हुन्? होइनन्। के हामीले उनीहरूलाई घृणा गर्छौं? एकतर्फी पनि होइन। के उनीहरूसँग हाम्रो निजी सीमा झगडा छ? छैन। जनताले लामो समयसम्म उनीहरूको नेतृत्वलाई स्वीकार्दै आएका हुन् । समय–समयमा सचेत गराउँदै आफ्नो जिम्मेवारी पनि निर्वाह गराएका छन्।
भीरबाट लड्न लागेको गाईलाई काँध थाप्न कसैले पनि सक्दैन — अहिले भएको यही हो। इतिहासप्रति लोभ हुनु स्वाभाविक हो। यहाँ माओले स्टालिनबारे गरेको टिप्पणी सम्झनु हुन्छ — स्टालिनले विश्वक्रान्तिमा पुर्याएको योगदान उच्च मूल्याङ्कनयोग्य छ र साथसाथै उनका कमजोरीको पनि कडा आलोचना हुनुपर्छ।
नेतृत्वमा रहेर काम गरेका यी सबैले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र संविधान निर्माणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्न कन्जुस्याँइ गर्नुहुँदैन। यदि अब तपाईंहरू असफल हुनुभयो भने, कृपया स्वेच्छाले पद छोडेर नयाँ, बढी लोकतान्त्रिक, प्रगतिशील र जनप्रिय पार्टी बनाउन मार्गप्रशस्त गर्नुस् — भन्न डराउनुपर्ने होइन। आजको लागि आन्दोलनलाई जोगाउने, जनताको भरोसा जित्ने र फेरि सत्तामा आएर देशको विकासमा योगदान दिने एक मात्र विकल्प यही हो।
टिप्पणीहरू