जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
भदौ २३ को जेन-जी प्रदर्शन र २४ गतेको ध्वंसात्मक घटनामा घाइते भएकाहरु अझै विभिन्न अस्पतालमा उपचाररत छन् । दुवै दिनको घटनामा दुई हजार बढी घाइते भएकोमा ३० जनाको अहिले पनि उपचार भैरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा सबैभन्दा बढी घाइते रहेका छन् । त्यहाँ ११ जनाको उपचार चलिरहेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पाँच, केएमसी र बिएनबी अस्पतालमा तीन–तीन जना घाइते उपचाररत छन् । निजामती अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, ह्याम्स अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र पोखरा एकेडेमी अफ हेल्थ साइन्समा एक–एक जना घाइतेको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ छ ।
जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागेर दुई हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने दुई हजार २३७ जना निको भएर घर फर्किएका छन् ।
९८५ घाइतेले एम्बुलेन्स प्रयोग गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, १५ जनाले १६ वटा संघीय अस्पतालको जेन-जी क्लिनिकबाट सेवा लिएको जानकारी गराइएको छ ।
टिप्पणीहरू