आज बिहान झण्डोत्तोलन, हिजो साँझ विशेष रात्रिभोज
जनगणतन्त्र चीन स्थापनाको ७६औँ वार्षिकोत्सवका अवसरमा आज बिहान बेइजिङस्थित थिआनमन चोकमा विशेष झण्डोत्तोलन समारोह आयोजना गरिएको छ । चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरले राष्ट्रिय झण्डाको सम्मानपूर्वक झण्डोत्तोलन गरेका हुन् ।
उक्त समारोह अवलोकन गर्न हजारौँ दर्शक बिहानैदेखि चोकमा भेला भएर घण्टौँ पर्खिएका थिए। राष्ट्रिय गान बज्दा उपस्थित दर्शकहरूले सैनिक व्याण्डसँगै गीत गाएका थिए भने धेरैले हातमा लिइएका साना राष्ट्रिय झण्डा हल्लाएका थिए ।
यसअघि हिजो साँझ ग्रेट हल अफ द पिपल्समा आयोजित विशेष स्वागत समारोहमा राष्ट्रपति सी चिनफिङले देशलाई निरन्तर मेहनत गर्न र दृढ संकल्पसहित चिनियाँ आधुनिकीकरणलाई अघि बढाउन आह्वान गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका सीले विशेष सम्बोधन गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री ली च्याङले गर्नुभएको थियो । उच्च नेताहरु झाओ लेजी, वाङ हूनिङ, चाइ ची, डिङ श्वेच्याङ, ली सी र हान च्याङसहित करिब ८ सय चिनियाँ तथा विदेशी पाहुना उपस्थित रहेको बताइन्छ ।
ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सम्पूर्ण जातजाति, जनमुक्ति सेनाका अधिकारी–सैनिक, सशस्त्र प्रहरी, अन्य दल र स्वतन्त्र व्यक्तित्वहरूलाई शुभकामना व्यक्त गर्नुभयो । हङकङ, मकाउ, ताइवान र विदेशमा बसोबास गर्ने दाजुभाइ–दिदीबहिनीहरूलाई समेत शुभेच्छा पठाउँदै उहाँले चीनको विकासमा सहयोग गर्ने मैत्रीपूर्ण देश र अन्तर्राष्ट्रिय मित्रहरूप्रति आभार प्रकट गर्नुभएको छ ।
सीले चीनले विगत ७६ वर्षमा हासिल गरेका उपलब्धिहरुको स्मरण गर्दै हालै मनाइएको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादीविरुद्धको विजय को ८०औँ वर्षगाँठको प्रसंग उठाउनुभयो । इतिहासबाट सिकेर अझ सबल राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उहाँको जोड छ ।
निकट भविष्यमा बस्ने २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) का प्रमुख विषय तय गरिने र त्यसले समाजवादी आधुनिकीकरणलाई निर्णायक रुपमा अघि बढाउने राष्ट्रपतिको भनाइ छ ।
उहाँले एक देश, दुई प्रणाली नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने, हङकङ–मकाउलाई देशको समग्र विकासमा अझ नजिक बनाउने र ताइवानसँग आदानप्रदान तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पृथकतावादी गतिविधि तथा बाह्य हस्तक्षेपलाई दृढतापूर्वक प्रतिवाद गरिने चीनको उद्घोष छ ।
स्रोत : सिसिटिभी प्लस
टिप्पणीहरू