सिंहदरबार जल्दा बालेनको स्विच अफ
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालतलगायतका भवन फेरि उठाउन दशकौं लाग्नेगरी ढलेको छ । तर, ती भवन जोगाउने मुख्य भूमिकामा रहेको काठमाडौं महानगरपालिका भने रमिते बनेको देखियो ।
महानगरसँग ठूला ४, मझौला २ र सानो १ सहित हाल सात वटा दमकल छन् । त्यस्तै, आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइराइजरसमेत जडान गरिएको छ । आन्दोलनकारीको कब्जामा पुगेको सिंहदरबारमा २४ गते दिउँसो साढे ३ बजेबाट आगो बाल्न थालिएको थियो । आगजनीलगत्तै निभाउन चासो नदेखाएको महानगरले रातिसमेत दमकल पठाएन । यदि आन्दोलनकारी घर फर्किएपछि राति नै महानगरले दमकल पठाएको भए सिंहदरबार जोगिन्थ्यो, अलिअलि मात्र जल्थ्यो ।
सिंहदरबार मात्र नभई सर्वोच्च अदालत बलिरहँदासमेत महानगरले वास्तै गरेन । एक प्रत्यक्षदर्शीका अनुसार सर्वोच्च अदालत जल्दा राष्ट्रिय अभिलेखालयमा रहेकाहरुले सेना र महानगरलाई फोन गरेर दमकल पठाइदिन अनुरोध गरेका थिए । सर्वोच्च खरानी बन्न लाग्दा पनि काठमाडौंले दमकल नपठाएपछि ललितपुर महानगरपालिकासँग सहयोग मागिएको थियो । तेस्रो दिन २६ गते सर्वोच्च पुगेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आगो बलिरहेको देखेपछि ललितपुरका मेयर चिरीबाबु महर्जनलाई फोन गरेर दमकल पठाइदिन अनुरोध गरेका थिए । त्यसपछि बल्ल आगो निभेको हो ।
सिंहदरबार, सर्वोच्च अदालतसहित महत्वपूर्ण सरकारी निकाय काठमाडौं महानगरपालिकाभित्र रहेकोमा आगजनी हुँदा दमकल पठाउन ढिलासुस्तीका कारण ती सबै खरानी भएका छन् । स्मरणीय रहोस्, दुई वर्षअघि मेयर बालेन्द्र (बालेन) साहले नै सिंहदरबार जलाइदिने धम्की दिएका थिए । उनले भरपुर समर्थन गरेको जेन–जी उपद्रवमा सिंहदरबार जल्नु र महानगरले दमकल नपठाउनुले बालेनले पनि त्यही चाहेको हो कि भन्ने आशंका उत्पन्न भएको छ । त्यसो त जेन–जी विध्वंशका प्रमुख रहस्यमय पात्र नै बालेन हुन् । फेसबुकमा स्टाटस लेखेर युवालाई उक्साएका उनी आन्दोलनपछि भने एकाएक गायब भए । न शहीद परिवारलाई सान्त्वना दिए न त जेनजी घाइतेलाई भेट्न अस्पताल नै पुगे । बरु, दमकलको विषय ढाकछोप गर्न बाहिरका पालिकालाई ३५ वटा एम्बुलेन्स बाँड्न लाग्दै छन् ।
के भन्छ महानगर ?
सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचना जल्दा पनि महानगरले दमकल पठाएन भन्नु गलत भएको काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बताउँछन् । महानगरले सक्दो प्रयास गरेको तर सुरक्षाका कारण सबै ठाउँमा पुग्न नसकेको उनको दाबी छ ।
राति सवा ८ बजेदेखि पौने १० बजेसम्म दुई वटा दमकल पठाएर सिंहदरबारको आगो निभाएको र १० बजेदेखि सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि समन्वय गरेर मात्र दमकल परिचालन गरेको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू