अध्यक्षको गलामा खादै खादा
नेपाली कांग्रेसको समर्थनमा झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले अप्रत्याशित रूपमा सरकार छोड्नुपर्यो । सडकको बलमा सरकारबाट बाहिरिन बाध्य भएको ठ्याक्कै दुई हप्ता नाघेको छ ।
तर, भदौ २३ को प्रदर्शन र २४ गतेको विध्वंसमा मारिएका ७४ जनाको रगत अझै सुकिसकेको छैन । कतिपय परिवार किरिया सकिरहेका छन् भने कतिपय डीएनए रिपोर्टको प्रतीक्षामा छन् । घाइतेमध्ये कतिपयलाई उपचार खर्च जुटाउनै मुश्किल देखिन्छ ।
जेन–जीको आडमा बनेको अहिलेको सरकारले ज्यान गुमाएका प्रहरी र युवाका परिवारलाई किरिया खर्चस्वरूप एक लाख रुपैयाँ दिने घोषणा गरे पनि अझै उपलब्ध भएको छैन । यसैबीच यो प्रकरणमा प्रत्यक्ष जोडिएका एमाले अध्यक्ष ओली १० दिन सैन्य ब्यारेकमा बसेर असोज २ गते भक्तपुरको गुन्डूस्थित महेश बस्नेतले व्यवस्थापन गरेको नयाँ निवासमा फर्किएका छन् ।
अहिले बस्नेतकै नेतृत्वमा ठूलो संख्यामा युवा ओली वरिपरि देखिन थालेका छन् । गत शनिबारदेखि नै पार्टीका पदाधिकारी र जनसंगठनका नेतासँग भेट गर्दै आएका ओली आज भने फरक रुपमा देखिए । उनी मालामा र खादामा पुरिएझैँ अवस्थामा थिए ।
जेन–जीको आक्रोशले केही दिन लुक्न बाध्य भएका ओलीलाई नेता–कार्यकर्ताले स्वागत शैलीमा खादा र मालाले छोपिदिएका हुन् । एमाले नेता पासाङ शेर्पासहितका युवाले खादा ओढाएका थिए ।
अहिले बस्नेतले ओलीको वरिपरि युवा र समर्थकको भीड देखाउँदै एमालेभित्र ओलीको पकड अझै मजबुत छ भन्ने सन्देश दिन खोजिरहेका छन् । गुन्डूमै ‘केपी बा, आइ लभ यू’ जस्ता नारासमेत गुन्जिन थालेका छन् । अर्कोतर्फ बस्नेतकै महिलामाथि लक्षित आपत्तिजनक अभिव्यक्तिले एमालेभित्र असन्तुष्टि चुलिएको छ ।
टिप्पणीहरू