सहयोगका लागि चीन तयार, आन्तरिक मामिलामा अहस्तक्षेप
छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई हालैको ध्वंसबाट सखाप बनाइएका राष्ट्रिय धरोहरको पुननिर्माण, आगामी निर्वाचन र अन्य आवश्यक सहयोगका लागि तयार रहेको सन्देश दिएको छ । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले हिजो अपरान्ह अर्थमन्त्री रामेश्वर खनालसँगको भेटवार्तामा चीन सरकारको धारणा सुनाउनुभएको बताइन्छ ।
चिनियाँ राजदूतले मन्त्री खनाललाई नेपाली जनताको चाहना अनुरुपका राजनीतिक परिवर्तनमा असल छिमेकीको नाताले सँधै समर्थन गर्ने बताउँदै नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप र दखल नपुर्याउने वचन दिनुभएको छ । राजदूत छेनको भनाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो, ‘नेपालको आन्तरिक मामिलामा हामीले कहिल्यै दखल पुर्याएका छैनौ, आगामी दिनमा पनि पुर्याउँदैनौं ।’
मुुलुकको पुनर्निमाण, आगामी निर्वाचनसँगै अन्य विकासमा पनि चीन तयार रहेको राजदूतले बताउनुभएको छ । उहाँले काठमाडौंको चक्रपथ बिस्तार दोस्रो परियोजनाबारे जानकारी दिँदै चिनियाँ टिमले तत्काल थाल्न आवश्यक तयारी गरेको उल्लेख गर्नुभएको छ ।
अर्थमन्त्री खनालले नेपालमा चिनियाँ बैंकको शाखा विस्तारका लागि अनुरोध गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगका लागि चीनलाइ धन्यवाद दिनुभएको थियो ।
टिप्पणीहरू