जेन-जी ‘विध्वंस’ मा रास्वपाद्वारा संलग्नता स्वीकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेन-जी प्रदर्शनमा पार्टी सहभागि भएको बताएका छन् ।
भदौ २३ को प्रदर्शन र २४ गते भएको विध्वंसमा बिभिन्न राजनीतिक दलका कार्यकर्ता संलग्न रहेको तथ्य खुलिरहेका बेला झाको यस्तो भनाइ आएको हो । पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रीय सदस्यहरुले प्रदर्शनमा भाग लिएको स्वीकार गरे ।
पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको झाको भनाई छ । रास्वपा छोडेकी सुमना श्रेष्ठ, केन्द्रीय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतले प्रदर्शनमा सक्रिय भूमिका खेलेको उनले सफत पारे ।
‘हाम्रो पार्टीमा जेन जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरु पनि जानुभएको थियो । केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो’, झाले भने, ‘गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाई हो भनेर दाबी गरेका थिएनौँ ।’
भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागिता रहेपनि २४ गतेको घटनामा भने संलग्नता नरहेको दाबी उनले गरेका छन् । २४ गतेका लागि पार्टीले कुनै आवह्वान नगरेको पनि उनले बताए ।
आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको बताउँदै उक्त घटनाको छानविन गर्नुपर्नेमा जोड दिएका झा आफैँ रवि लामिछानेलाई जेलबाट निकाल्न नख्खु कारागार पुगेका थिए ।
टिप्पणीहरू