चाडपर्व मनाएपछि देउवा फाल्ने काँग्रेसीहरुको तयारी !

चाडपर्व मनाएपछि देउवा फाल्ने काँग्रेसीहरुको तयारी !

भदौ २४ गतेको जेन जी ध्वंसपछि गठबन्धन सरकार र संसद विघटनको पृष्ठभूमिमा  नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग चर्केको छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश पक्षले हस्ताक्षर अभियान तीव्र पारेको बताइन्छ ।

मुलुकमा अप्रत्याशित रुपमा नयाँ परिस्थिति उत्पन्न भएको बताउँदै सभापति शेरबहादुर देउवाको सट्टा नयाँ नेतृत्व स्थापित गर्न विशेष महाधिवेशनका लागि हस्ताक्षर थालिएको नेतारुको दाबी छ । यसपटक काँग्रेस रुपान्तरण वा फुटमध्ये एउटा बिन्दुमा पुग्ने आँकलन पार्टीभित्र भइरहेको छ ।

हिजो काठमाडौँमा भएको संस्थापनइतरको एउटा गोप्य बैठकपछि सयजना भन्दा धेरै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका हुन् । संस्थापनइतर नेताहरूले देशभरका महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर अभियानमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

संस्थापनइतरको गोप्य बैठकपछि सार्वजनिक गरिएको हस्ताक्षर पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टी सामु धेरै संकट उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीहरूसँग मुकाबिला गर्यौँ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ। तसर्थ, यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।’

हस्ताक्षरपत्रमा जेन जीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा पार्टीले लिएका नीति, निर्णय, चालिएका कदम र कारबाही जिम्मेवार भएको दाबीसमेत गरिएको छ। सरकार र पार्टी सञ्चालनका विषयमा पटक–पटक आलोचनात्मक र सिर्जनात्मक सुझाव दिइए पनि केपी ओली नेतृत्वको सरकार र काँग्रेसले सुनुवाइ गर्न नचाहेको आरोप पनि लगाइएको छ। ‘नेतृत्वको कार्यशैलीबारे बारम्बार प्रश्न उठाउने पार्टीका साथीहरूलाई किनारामा धकेल्ने र विभेदपूर्ण व्यवहार भएको कुरा दुःखसहित स्मरण गराउन चाहन्छौँ,’ पत्रमा उल्लेख छ।

सोमबारको संस्थापनइतर बैठकले इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दूरावस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको निष्कर्ष निकालेको छ। हिजो बेलुकीसम्म एक सय १० भन्दा बढीको हस्ताक्षर भइसकेको दाबी छ। बैठकमा सहभागी युवा नेता गुरुराज घिमिरेका अनुसार, जेन जी ध्वंसपछि विशेष परिस्थिति सिर्जना भएकाले विशेष महाधिवेशन गर्नुपर्ने अवस्था आएको हो।

सभापति देउवाले महाधिवेशन नबोलाए छठसम्म हस्ताक्षर अभियान तीव्र पार्ने र त्यसलगत्तै केन्द्रीय सदस्य आफंैले बोलाउने तयारी गरिएको छ। यसबीचमा देउवालाई फालेर अधिवेशनबाट अर्को नेतृत्व स्थापित गर्ने तयारीसहित हस्ताक्षर अभियान अघि बढाउने उनीहरुको योजना छ ।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन डाक्न केन्द्रीय समितिका ४० प्रतिशतले माग गरे तीन महिनाभित्र डाक्नुपर्ने प्रावधान छ। कांग्रेस विधानको धारा १७ को उपधारा २ मा भनिएको छ– ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउने विशेष कारण देखाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने छ।’

छठपछि ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित महाधिवेशन डाक्ने तयारीसहित हस्ताक्षर संकलन गरिएको छ । कांग्रेसमा झण्डै ४८ सय महाधिवेशन प्रतिनिधि छन्।

हस्ताक्षर अभियानको नेतृत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका हुन् । आगामी केन्द्रीय समिति बैठकमा हस्ताक्षर बुझाउने भनिएको छ । तर जेन जी ध्वंसमा आफ्नै निवासमा सांघातिक आक्रमणमा परेपछि अस्पतालमा उपचाररत सभापति देउवा र उनी निकट पदाधिकारी भने तत्काल केन्द्रीय समितिको बैठक डाक्न अनिच्छुक देखिएका छन् । तर यही बेला कांग्रेस नेता शेखर कोइराला, महामन्त्री थापा र शर्मा सहित युवा नेताहरूले बैठकको माग चर्काइरहेका छन् । दशैं, तिहार र छठको समयमा गाउँ–गाउँमा पुग्ने तयारी उनीहरूको छ।

विधानअनुसार आगामी मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने अवस्थामा रहेको काँग्रेसभित्र सक्रिय सदस्यताको विवाद अझै टुंगो लागेको छैन। यही असोज अन्तिमसम्म विवादको टुंगो लगाउने भनिए पनि सल्टिएको छैन । कांग्रेसमा १६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघ–संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन्।

हस्ताक्षर अभियान तीव्र भइरहेका बेला सभापति देउवा र उनी निकट पदाधिकारी भने पदावधि अझै एक वर्ष थप्ने मानसिकतामा रहेको स्रोतको दाबी छ । हालको केन्द्रीय समितिमा देउवा पक्षको स्पष्ट बहुमत छ। संस्थापन पक्षको यही हठ र दम्भ कायम रहे पार्टी विभाजनको डिलतर्फ धकेलिने सम्भावना पनि उत्तिकै छ ।

आगामी मंसिरमा पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने भए पनि जिल्ला जिल्लामा सक्रिय सदस्यताको विवाद, जेन जी ध्वंसबाट उत्पन्न असहज परिस्थिति, पार्टीभित्रको आन्तरिक विवाद, हस्ताक्षर अभियान र गुटबन्दी ध्रुवीकरण जस्ता कारणले नियमित महाधिवेशन निर्धारित समयमा नहुने निश्चित छ।

टिप्पणीहरू