परैसम्म बालेन साहको ट्रिक बुझे हुन्छ
सुशीला कार्कीलाई नजिकबाट चिन्ने कानुन व्यवसायीमध्ये एक जना आफ्नो अनुभवका आधारमा भन्नुहुन्छ– उहाँको सबैभन्दा नराम्रो बानी प्रतिशोध हो । र, उहाँमा प्रि–सेट माइन्ड छ । कसैको बारेमा पहिला नै सकारात्मक वा नकारात्मक धारणा बनाइसकेपछि त्यो सधैं कायम रहन्छ ।
विद्यार्थी अवस्थादेखि स्वभाव यस्तै हो । तर अहिलेको परिस्थिति धेरै फरक छ । अहिले धेरै विषयमा धेरैसँग समन्वय गर्नुपर्ने अवस्था छ । सेनाले भूतपूर्व जर्नेल नै पठाएर भए पनि क्याबिनेटमा आफ्नो उपस्थिति जनाउने अवस्था बाँकी छ । सबैभन्दा महत्वाकाँक्षी व्यक्तिका रूपमा काठमाडौंका मेयर बालेन साह छन् । उनले सुशीला कार्कीको काँधमा बन्दुक राखेर कार्यकारी प्रमुख प्रधानमन्त्रीका लागि आफूलाई अहिलेदेखि सेट गर्ने रणनीति बनाएका छन् । छिमेकी र पश्चिमाहरूले भने लक्ष्यहरू निर्धारित गरेर पाइला चाले । संविधान पुनर्लेखनको विषयमा हात हाल्न त्यति सहज छैन ।
एउटा संविधानसभाले नसकेर दोस्रोले पनि पार नलागेपछि सबै स्टेकहोल्डरहरू पाखामा बसेर खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाई चुनावपश्चात् बल्ल निर्माण गरिएको हो । अहिले संविधान चलाउँदा बालेन साहजस्ता महत्वाकांक्षीहरूको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने आकांक्षा सम्बोधन गर्नुपर्ने हुन्छ । अनि बल्ल जेनजी आन्दोलनका नाममा बनाइएको ग्राण्ड डिजाइन पुरा हुनसक्छ । स्थानीय तहको चुनाव आउन १७–१८ महिनामात्रै बाँकी छ र त्यसैले पनि बालेन साहलाई ठाउँ सुरक्षित गर्ने हतारो छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात मोडेललाई दिल्लीमा बिक्री गर्न सकेजस्तै काठमाडौंमा गरेको कामलाई नेपालभार चर्चित बनाउनैपर्ने बालेनको बाध्यता छ । त्यसका लागि स्थानीय निकायको आफ्नो कार्यकाललाई सकेसम्म उपयोग गर्नुपर्ने हुन्छ । त्यसैकारण स्थानीय निकायको कार्यकाल पूरा गर्ने योजनाअनुसार प्रादेशिक र स्थानीय संरचना भंग गर्ने मागलाई तत्कालका निम्ति थाती राखिएको छ ।
दुई दिनको प्रदर्शनमा देशका ७५३ वटै संरचनाहरू अपवादबाहेक पूरै प्रभावित भएका छन् । वडा–वडासम्म जलाइएका छन् । यस्तो बेला राजनीतिक दलहरूले के गर्छन् ? नेताहरूलाई फेक मिडियाको प्रयोग गरी पछारिएको छ, तिनका घरमा डलर, हजार र पाँचसयका नोट जलेको, पैसा राख्ने गुप्ती कोठाहरू भएको भन्दै एआईका माध्यमद्वारा बनाइएका भिडियोहरू सार्वजनिक गरिएका छन् । यस्ता भ्रमलाई चिर्दै दलहरू कसरी उठ्छन् भन्ने सवाल पनि आफ्नै ठाउँमा छ ।
(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू