जेनजीको नाम, छानीछानी काम तमाम

जेनजीको नाम, छानीछानी काम तमाम

जेनजी आन्दोलनको नाममा देशैभर हिंसात्मक घटना भए । त्यसको परिणामस्वरूप सरकार फेरिएको छ । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका दौरान क्षतिको अवस्था अध्ययन, तथ्यांक संकलन र भावी योजना निर्माण गर्ने बेलाका दृश्य र प्रवृत्तिले अनेकखाले प्रश्न जन्माएको छ भने अत्यासलाग्दो सामाजिक मनोविज्ञान उदांगो बनाएको छ । 

सरकारी कार्यालय तथा निकायहरूमा छानी छानी लगाइएको निशाना, व्यक्तिगत सम्पत्ति र व्यवसायमाथि गरिएको आक्रमण र आगजनी छक्क पर्ने खालको छ । प्रहरीमाथिको आक्रमण त झन् नृशंस छ । बानेश्वर र कोटेश्वर तथा तीनकुनेका प्रहरीहरूमाथि भएको ज्यादती विश्व मानव सभ्यतालाई नै कलंकित पार्ने खालको देखियो । प्रहरीलाई लखेटी लखेटी खोलामा पुगेकालाई पनि ढुंगाले हानी हानी घाइते पारिएको देखिएकै हो । अझ घाइते प्रहरीलाई कुटेको र शवमाथि कुल्चेर अनेक दुव्र्यवहारसमेत गरियो । 

यो सब आन्दोलनकारीले नै गरेका हुन् त ? ती आन्दोलनकारी कहाँबाट आए ? यही समुदायमा प्रहरीसंग मिलेर बसेका नागरिकले कसरी यस्तो गर्न सक्लान् ? भन्ने प्रश्न सँगै भिडियो हेर्दै हृदयविदारक दृश्यहरूसंगै जेनजी आन्दोलन साम्य भएर राजनीतिक परिवर्तन हुँदै गर्दा प्रहरीलाई समुदायले स्वागतसहित पुनस्र्थापित गरिरहेका छन् । बानेश्वर, कोटेश्वरजस्ता ठाउँमा मात्र नभै गाउँगाउँका प्रहरी इकाइहरूमा समेत लोकेसन सोध्दै जाने र आगो लगाउँदै हिँड्ने जमात भेटिएको स्थानीयहरू बताउँछन् । 

प्रहरी कार्यालय र स्थानीय तहमा आक्रमण गर्ने र जलाउनेहरू नचिनिएका व्यक्ति भएको स्थानीयहरू बताउँछन् । अघिल्लो मंगलबारको घटनापछि बिहीबार नै गोदावरी–६ टिकाभैरवस्थित प्रहरी कार्यालय पुनस्र्थापना र प्रहरी अधिकारीहरूलाई फूलमाला लगाएर स्वागत गरिएको छ । 

राजनीतिमा चासो नै नराख्ने युवा पुस्ता भनेर चिनिएको जेनजी आन्दोलनले जनताको अवस्था बदल्नका लागि शुरु गरेको संघर्ष झण्डै झण्डै व्यवस्था नै बदल्ने ठाउँसम्मै पुग्यो । जसमा मृत्यु हुनेहरूको संख्या अझै यकिन भइसकेको छैन । जलेका संरचनाहरूमा मृतकका अस्थिपञ्जर भेटिएका छन् । हराएका र सम्पर्कमा नआएकाहरूको सम्पूर्ण विवरण आइसकेको छैन । 

यस्तो अकल्पनीय आन्दोलनमा ललितपुर भने तुलनात्मक रूपमा शान्त नै रह्यो । मन्त्रीक्वार्टर भएका कारण भैंसेपाटी, एमाले पार्टी कार्यालय च्यासल र केही भिआइपीलाई टार्गेट गरेबाहेक व्यापारिक क्षेत्र पनि तुलनात्मक रूपमा सुरक्षित नै रह्यो । ललितपुरमा रहेका सानागाउँ, पाटन कृष्णगल्ली र सातदोबाटोका शाखाहरू सुरक्षित रहे । 

क्षेत्र नं २ मा पर्ने ललितपुर महानगरपालिकाको वडा नं ७ का विनोद महर्जनको बानेश्वरमा मृत्यु भएपछि पाटनका स्थानीयहरू उत्तेजित भएर केही प्रहरी चौकी र एमाले पार्टी कार्यालय आक्रमणमा गएको स्थानीयहरू बताउँछन् । पाटनका महर्जनको मृत्यु नभएको भए कम क्षति हुन सक्ने स्थानीयहरूको दावी छ । 

आगजनी र आक्रमणमा व्यक्तिगत रिसइवी पोखिएको प्रारम्भिक अनुसन्धानहरूले नै देखाएको छ । प्रहरी कार्यालयहरूमा आक्रमण गर्न र आगजनी गर्न आउनेहरू प्रहरीमा नै मुद्दा परेकाहरू, पटके कार्वाहीमा परेकाहरू रहेको सिसिटिभी फुटेजहरूमा भेटिएको छ । स्थानीय तहले ठाउँठाउँमा राखेका सिसिटिभीको फुटेज संकलन गरी विश्लेषण गर्दा राजनीतिक संलग्नता र संरक्षण नभएर देशभित्रकै नसोचेका व्यक्तिहरूको संलग्नता भएको समेत सार्वजनिक हुने प्रहरी स्रोतले बताएको छ । 

शहर छेउछाउका कार्यालय, निकाय र संरचना त जलाए, फूल्चोकीको फेदीमा रहेको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र जलाउनसमेत आन्दोलनकारी पुगे । सम्मेलन केन्द्र जलाउन गएकाहरूले ‘ल जा ओलीको अखडा नि खरानी भयो’ भनेको स्थानीयहरू बताउँछन् ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू