भारतीय राजदूतलाई सिंहदरबारमा भ्याइनभ्याई

भारतीय राजदूतलाई सिंहदरबारमा भ्याइनभ्याई

उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा दुई जनाले भेट गरेका हुन् । जेन-जी प्रदर्शनको बलमा गठित अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई भेट्न राजदुत श्रीवास्तव बिहानै सिंहदरबार पुगेका थिए । 

भेटका क्रममा भारतीय राजदूतले घिसिङलाई बधाई  ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको बताइएको छ । त्यस्तै, उनले नेपालको उर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको बुझिएको छ । 

मन्त्री घिसिङले नेपालको विकासमा भारतले पुर्याउँदै आएको सहयोग स्मरण गर्दै अब पनि त्यस्तै अपेक्षा रहेको बताएका थिए ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि भारतीय राजदूत श्रीवास्तवको सक्रियता बढिरहेको छ । यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भेटेका थिए ।

टिप्पणीहरू