गगन र विश्वप्रकाश संवेदनहीन बनेको महतको आरोप
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशहरण महत महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति असन्तुष्ट सुनिएका छन् ।
जेनजी प्रदर्शनकारीको हमलामा परेका सभापति शेरबहादुर देउवाको उपचारसमेत पूरा नहुँदै नेतृत्व परिवर्तनको बहस चलाइएको भन्दै उनले आपत्ति जनाएका हुन् । महामन्त्रीद्वयप्रति लक्षित गर्दै डा. महतले लोकतन्त्रको लागि लामो लडाईं लडेका पार्टी सभापति अस्पतालमा रहेको बेला तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गरे ।
‘घटना हुनुभन्दा चार दिन अघिसम्म त्यही सभापतिसँग नजिक हुनुहुन्थ्यो, बरु हामी टाढा भएका थियौँ’, निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘पार्टीको अभिभावकमाथि सांघातिक हमला भएको छ, उपचार पुरा हुन दिन सकिँदैन ? आकाश झरिहाल्छ ? केही दिन पर्खन सकिदैँन ?
निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै महतले सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको बताए । उपयुक्त समय आएपछि केन्द्रीय समितिले नयाँ नेतृत्वबारे तय गर्ने प्रष्ट पारे ।
‘नयाँ परिस्थिति सिर्जना हुनुबित्तिकै फेरि त्यही सभापति बेठीक हुने ? उपयुक्त समय आएपछि पार्टीको केन्द्रीय समिति छ, त्यहाँ गम्भीर मन्थन भइहाल्छ नि, नेतृत्वबारे छलफल गर्छौ, घटना कसरी घट्यो त्यो बारे पनि मुल्यांकन गछौँ’, महतले भने, ‘जहाँ सुधार्नु पर्ने हो, त्यहाँ सुधार्छौ पनि, तर पार्टीले आधिकारिक निर्णयभन्दा छुट्टै बहस थाल्ने ? यसले पार्टीलाई मद्धत गर्छ ?’
जेनजी प्रदर्शनको क्रममा कांग्रेस सभापति देउवा, महत, थापा र शर्मासहित दर्जनौँ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी भएको थियो ।
टिप्पणीहरू