महानगरको स्रोत, सिंहदरबार जलाउनमा प्रयोग

महानगरको स्रोत, सिंहदरबार जलाउनमा प्रयोग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दुई वर्षअघि सिंहदरबार जलाउने चेतावनी दिएका थिए । र, दुई वर्षपछि साँच्नै नै सिंहदरबार दनदनी बलेको छ । २०८० भदौ १६ गते उनले फेसबुकमा एउटा धम्कीपूर्ण स्ट्याट्स लेख्दै भनेका थिए, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

सार्वजनिक बिदाको दिन श्रीमती बोकेर सडकमा निस्किएको सरकारी गाडीलाई ट्राफिक प्रहरीले दुई मीनेट चोकमा रोकेर सोधपुछ गर्दा आएको सो स्ट्याटसलाई कसैले गम्भीर रूपमा लिएन । सरोकारवालाले खेलाँची गर्दा वास्तवमा सिंहदरबार अब तस्बिरमा मात्र सीमित भएको छ । उनले चाहेको भए सिंहदरबार जल्नबाट बच्थ्यो । भदौ २३ र २४ गते भएको आन्दोलनलाई बालेनले पूर्ण समर्थन गरेका थिए । उमेरका कारण आफू उपस्थित हुन नसके पनि आफ्नो समर्थन रहेको भन्दै उनले सामाजिक सञ्जालमा स्ट्याटस नै पोष्ट्याएका थिए । 

आन्दोलनको पहिलो दिन गोली लागेर केहीको मृत्यु भएपछि उनले फेसबुकमा उत्तेजित स्ट्याटस लेखेर आन्दोलनलाई झनै उग्र बनाउन मलजल गरे । आन्दोलनकारीलाई संयमित बनाउनुको साटो ‘आगोमा घिऊ थप्ने’ काम गर्दा नेपालको शान र नेपालीको पहिचान सिंहदरबार खरानी भएको छ । सिंहदरबार दनदनी बलिरहँदा उनले दर्शक बनेर हेरिरहे । त्यहीँ नजिक हुँदासमेत दमकल पठाएनन् । बरु, महानगर प्रहरी बलका अवैध प्रमुख एसएसपी राजुनाथ पाण्डे नेतृत्वको टोलीले आन्दोलनकारीलाई मिनरल वाटर बाँडेको थियो । बालेनले महानगरको स्रोतसाधन सिंहदरबार बचाउनमा नभई सिंहदरबार जलाउनमा प्रयोग गरेका हुन् । बालेनले एउटा स्ट्याटस मात्र लेखेको भए पनि सिंहदरबार जोगिने जानकार स्रोत बताउँछ ।

कर तिर्ने महानगरबासी, दान गर्ने बालेन 

बालेन काठमाडौंका नगरपिता हुन् । आफ्नो नगरमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरपिताको दायित्व हो तर दायित्व निर्वाह गर्न चुकेका बालेन भीडलाई सहयोग गर्न भने अगाडि आएका छन्, त्यो पनि महानगरको पैसाले । महानगरको शहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले फेसबुकमा एउटा स्ट्याटस लेख्दै ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौं ल्याउने यातायात सुविधा, बस्ने तथा शवलाई घरसम्म पु¥याउन शववाहनको व्यवस्था महानगरले गर्ने जानकारी गराएका छन् । 

सहयोग चाहिएमा जगदीश अर्याल, ईश्वर वाग्ले र विज्ञान घिमिरेलाई सम्पर्क गर्न भनिएको छ । महानगरबासीले खाईनखाई तिरेको कर जहाँ मन लाग्यो, त्यहीँ खर्च गर्ने अधिकार कसले दियो ? प्रश्न उठेको छ । एक कर्मचारी भन्छन्, ‘विकासका लागि खर्च गर्ने हो कि सो रकम जथाभावी बाँड्ने हो ? राम्रो बन्न र भोट बटुल्नका लागि करको दुरूपयोग गर्न पाइन्छ ?’

स्ट्याटसमाथि स्ट्याटस 

‘जेन–जी’ आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसयता बालेन र उनको टिमबाट निरन्तर स्ट्याटस आएको आयै छ । सहायक विज्ञ पोखरेलले सुशीला कार्की, बालेन्द्र साह, कुलमान घिसिङ्गमध्ये एकलाई छिटोभन्दा छिटो शपथग्रहण गराउन स्ट्याटस लेखेका थिए । त्यसैगरी, निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई तुरुन्तै हिरासतमा लिएर छानबिन गर्न पनि माग गरेका छन् । अन्यबाट पनि स्ट्याटस आउने क्रम जारी छ ।

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू