सडकका ‘जेन्जी’ र शंकास्पद ‘डेन्जी’

सडकका ‘जेन्जी’ र शंकास्पद ‘डेन्जी’

स्कुले विद्यार्थीलाई ताकीताकी गोली हानियो । भदौ २३ को घटनामा प्रधानमन्त्री भएकाले केपी शर्मा ओली र गृहमन्त्री भएकाले रमेश लेखक राजीनामा दिन बाध्य भए । आइजिपी चन्द्रकुवेर खापुङ कमाण्डमै छन् ।

जेन्जी आन्दोलन जायजै थियो तर जब दोस्रो दिन लाग्यो, प्रधानमन्त्री ओलीको राजीनामापछि जेन्जीहरु हराए र डेन्जी आए । जेन्जी भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएको पुस्ता हो । जसलाई जेनेरेसन जी भनिन्छ । कतिपयले उच्चारण गलत गरेर जेड पनि भन्छन् । जेन्जी भनेको १३ वर्षदेखि २८ वर्षसम्मको उमेर समूह हो । केही मतदाताको उमेर नजिक पुग्दै गरेका, केही पुग्न बाँकी र केही दुई पटक मतदान दिइसकेकाहरू यो समूहमा छन् । अनुमान गर्नुहोस् त १३ देखि २८ वर्षको मान्छेले कुन नेताको घर कहाँ छ भनेर कसरी थाहा पाउँछ ? कुन घर जलाउन कसरी जाने भन्ने आपराधिक जानकारी उसलाई कसरी हुन्छ ? भदौ २३ गते सडकमा आएका जेन्जी वास्तविक जेन्जी थिए । 

तर, इमानदार जेन्जीहरूको आन्दोलन सकिएपछि घुसपैठ गर्न डेन्जीहरु आए । डेन्जी अर्थात् डेन्जर जेनेरेसन । मन, वचन र कर्मका त्यस्ता डेन्जर कि विरोध सामाजिक सञ्जालमाथि प्रतिबन्धको थियो तर जलायो सरकारलाई, सबैभन्दा धेरै आँखा जुधाएर प्रश्न गर्ने निकाय सदनलाई । विरोध भ्रष्टाचारको थियो तर जलाइयो भ्रष्टाचार गरेबापत फाइल खोल्दा प्रमाण भेटिने सबै लिखतहरूलाई । विरोध करको दुरूपयोग गर्ने बारेमा थियो तर जलाइयो करले बनेका राज्यका अमूल्य सार्वजनिक संरचनाहरूलाई । देशमा वडादेखि सिंहदरबार हुँदै सर्वोच्च अदालतसम्म जलाइएको इतिहासकै कालो दिन बन्यो भदौ २४ । 

जेन्जी आन्दोलनमाथि दमनको खरो विरोधमा उत्रने मिडियाप्रति आभार प्रकट गर्ने होइन आगो झोस्नेहरु सबै डेन्जी थिए । डेन्जी राज्यको दमनविरुद्ध फैसला सुनाउने र न्याय दिने अदालत जलाउन पनि पछि परेन । अरु त अरु जेलका अपराधीहरूलाई पनि छुटायो । हजारौँ अपराधी बाहिर आए । कतिले आगजनी गरे । कतिले लुट मच्चाए । बलात्कारका समाचार पनि आए । उमेरले जेन्जी भएर पनि आमा समानकी डाक्टर आरजु राणालाई आमाचकारी गाली गर्ने डेन्जी नै हुन् । हजुरबुबा समानका देउवालाई खुनै खुनले नुहाउने तिनै डेन्जी थिए । चन्द्रागिरी हिल्स जलाउने हुन् वा सिजीमा आगो झोस्ने अथवा भाटभटेनी लुट्ने, हिल्टन जलाउने सबै डेन्जी हुन् । कन्टेन्ट क्रिएटरको रूपमा, सेलिब्रेटीको रूपमा, कविको रूपमा, कलाकारको रूपमा आन्दोलनलाई उत्तेजित पार्न हतार गर्ने तर शान्त पार्न बिलम्ब गर्ने सबै डेन्जी हुन् । प्रहरीलाई खोलामा हाम फाल्दा पनि कुटिकुटी मार्ने डेन्जी आतंक यही आन्दोलनकै दौरानमा भयो । भदौ २३ को राज्य आतंकबाट पीडित भए इमानदार जेन्जी । भदौ २४ मा डेन्जी आतंक हुँदा पीडित फेरि भए इमानदार जेन्जी । 

आन्दोलनपछि पनि डेन्जी आतंक रोकिएन । आन्दोलनको इजाजत लिने समूहका दुई अनुहार यादव र गौतम थरका थिए । वार्तामा भने गुरुङ थरका पुगे । इमानदार जेन्जीहरू कफ्र्यूले घरमा अड्किँदा डेन्जीहरू सेनासँग डिल गर्न पुगे । राष्ट्रपतिलाई भनेको कुरा नमाने ‘थुतेर निकाल्ने’ सम्म भन्न पुगे । त्यो शक्ति डेन्जीमा कहाँबाट आयो होला ? ती पात्रहरूले जेन्जी आन्दोलनलाई तीन कोणमा मजाक बनाए । पहिलो, हरेक कुरामा मैले, म र मेरा केटाहरू भन्दै देशभरका इमानदार जेन्जीहरूको भावनामा ठेस पु¥याए । आन्दोलनलाई सडकको नभएर एनजीओको जस्तो बनाए । दोस्रो, जेन्जीको उमेर १३ देखि २८ सम्मको हो तर वार्ताको ठेक्का लिए ३८ वर्षकाले । कुनै इमानदार जेन्जीले प्रश्नै गर्न पाएन । किनभने ऊ भदौ २४ को त्रासदी र देशका ठूला नेताको दलतन्त्रबाट चाँडोभन्दा चाँडो मुक्ति चाहन्थ्यो । कतिपयले त यस्तो अवस्था देखेर विदेशी सेना आउला है, चाँडो गरौँ पनि अनलाइन बैठकमै भनेको समाचार पढ्न पाइयो । तेस्रो, जेन्जी मुद्दाकै अपमान गर्ने काम भयो । जेन्जीको मुद्दा बूढा नेतालाई बाई बाई भन्ने थियो । ठीक उल्टो भयो । ७३ वर्षका हजुरबा प्रधानमन्त्रीबाट हटाइएको स्थानमा ७३ वर्षकै हजुरआमा आइन् ।

मुद्दा नेपोकिडको थियो । राजनीतिक परिवारको हुनुका नाताले प्राप्त अतिरिक्त लाभको विरुद्धमा थियो तर राणाकालमा लिगेसी जोडिएर कांग्रेस कालसम्म फाइदा लिएकालाई नै स्थान दिइयो । सबैभन्दा रोचकचाहिँ संसद बिघटनको माग हो । जबकि जेन्जीको मुद्दा संसद विघटन थिएन । संसदको होइन, सरकारको गल्ती भन्नेमा जेन्जीहरु प्रष्ट थिए तर आन्दोलनपछि सेनाको ब्यारेकमा समन्वय हुँदा सदन खारेजीको कुरा उत्पादन भयो । न देशभरका जेन्जीको जनमत नै लिइयो । कुनै कथित अनुहारको मुद्दाका कोणमा आन्दोलनकै मुद्दा बनाइयो । यो इमानदार जेन्जीलाई डेन्जीहरूले गरेको दुरूपयोग थियो । 

डेन्जीको सबैभन्दा क्लाइमेक्सचाहिँ हामी नेपाल भन्ने संस्थासँग जोडियो । शुक्रबार शपथ लिएकी अन्तरिम प्रधानमन्त्रीको हलमा हामी नेपाल समूह हावी थियो । समूहकै जर्सीमा थिए अनुहारहरू । त्यो कस्तो समूह हो भन्नेबारेमा विभिन्न समाचार शनिबारभित्रै आइसके । हामी नेपालकै अगुवाईमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई दलाई लामाको शुभकामना आयो । निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको सम्बन्ध शुभकामनामा मात्रै जोडिएन । हामी नेपालले पनि नेपालको ‘एक चीन नीति’ विपरीतको स्वतन्त्र तिब्बत समूहबाट रकम लिएको खुलासा भयो । त्यति मात्रै होइन, बदनाम व्यावसायिक घरानाका विभिन्न अनुहार जस्तै:साहिल अग्रवाल, दीपक भट्टलगायत पनि हामी नेपालसँग जोडिएको उसको औपचारिक वेबसाइटमै उल्लेख छ ।

डेन्जीको सबैभन्दा ठूलो जोखिम भूराजनीति देखिन्छ । स्वतन्त्र तिब्बत पक्षधरबाट बजेट पाएको संस्थाले प्रधानमन्त्री सिफारिस गर्नु र उनलाई दलाई लामाको बधाइ चाँडो आउनुले धेरै जोखिम देखाउँछ । जसरी भारतको संवेदनशील क्षेत्र खालिस्तान वा काश्मिर पृथकतावादीको रकम लिएर नेपालमा कार्यक्रम गर्नु, नेता बनाउनु, संस्था चलाउनु वा प्रधानमन्त्री सिफारिस गर्नु भूराजनीतिक रूपमा जोखिमपूर्ण कदम हो, ठीक त्यसैगरी चीनको तिब्बतदेखि ताइवानको मुद्दा बोक्नेको रकम लिनु उत्तिकै खतरनाक काम हो ।

यसले जेन्जीको जायज आन्दोलनलाई त बद्नाम गर्छ गर्छ । त्योभन्दा बढी प्रधानमन्त्री बनाउने टोलीमा इमानदारीपूर्वक लागेकालाई पनि छिमेकीले हेर्ने नजरियामा समस्या ल्याउँछ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र संयुक्त राष्ट्रसंघको एक स्थायी सदस्य मात्रै नभएर नेपालमा व्यापार, लगानी तथा पर्यटनमा एक पिलरलाई बिच्क्याउनु कुनै पनि कोणमा सही होइन । अब इमानदार जेन्जीले शंकास्पद डेन्जीलाई प्रश्न गर्न आवश्यक छ । दलतन्त्र र तिनका गैरजिम्मेवार नेतामाथि प्रश्न त झनै हुनुपर्छ । 

टिप्पणीहरू