शीतल निवास दनदनीपछि खुशी यी युट्युबर्स
जेन जी ध्वंशको क्रममा अराजक समूहले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहित विभिन्न सरकारी निकायका कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। ती सार्वजनिक सम्पत्ति हरेक नागरिकले तिरेको करबाट बनेको हो भन्ने सामान्य ज्ञान समेत नराखी आगो झोसेका व्यक्ति अपराधिक मानसिकताको उपज हुन् भन्नेमा आश्चर्य लाग्दैन । आगो लगाउनेहरु जत्तिकै अपराधी हुन्, त्यसमा रमाउने र भीड उक्साउनेहरु पनि उत्तिकै दोषी छन्।
प्रहरीले अहिले त्यस्ता व्यक्तिहरुलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोको माध्यमबाट पहिचान गरी कानुनी दायरामा ल्याउने अपरेसन चलाएको छ। यसबीच, राष्ट्रपति भवन शीतल निवासमा आगो लगाउन उक्साउनेमा युट्युबर सुजन ढकाल पनि रहेको खुलेको बताइन्छ ।
उनले भदौ २४ गते विभिन्न सार्वजनिक सम्पत्तिमा आगजनी हुँदा खुशी व्यक्त गर्दै क्षण–क्षणमा भिडियो सार्वजनिक गरेका थिए। एउटा भिडियोमा भनेका छन्, ‘भर्खर राष्ट्रपति भवनमा आगो लगाइएको छ, तिमीहरू खुशी छौ कि छैनौ केटाहरु (हाँस्दै)!’
ढकालसँगै उभिएका युवाहरु एकै स्वरमा भन्छन्, ‘दामी, खुशी छौँ।’ त्यसपछि उनले पनि ‘सही हो’ भन्दै भिडियोमार्फत् थप आगजनी गर्न उक्साएको देखिन्छ।
यति मात्रै होइन, झापामा एमालेबाट निर्वाचित एक मेयरको घरमा ८० केजी सुन भेटिएको भ्रामक समाचार पनि ढकालले फैलाएका हुन्। पछि उनीसँगै अर्का युटुबर भाग्य न्यौपानेले पनि सामाजिक सञ्जालमा भ्युजको लोभमा ‘८० केजी सुन भेटियो’ भन्दै गलत समाचार फैलाएका छन्।
ढकाल र न्यौपाने दमकस्थित भ्युटावरमा आगजनी हुँदा पनि खुशी भएको देखिन्छ। ‘केपी ओलीको भ्युटावर अब गयो’ भन्दै भिडियो बनाएर खुशी व्यक्त गरेका छन्। यद्यपि, अहिले दुवै जनाले ती भिडियो डिलिट गरेका छन् ।
यसरी, मुलुकको सम्पत्ति खरानी हुँदै गर्दा रमाउनेहरुको मानसिकता कति अपराधिक छ भन्ने कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोले पुष्टि गरिसकेको छ। आगो लगाउनेहरुसँगै त्यसमा रमाउनेहरुलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ।
टिप्पणीहरू