झरीले सम्झाएको गाउँको बाल्यकाल

झरीले सम्झाएको गाउँको बाल्यकाल

वर्षा याममा लामो झरी पर्दा कहिलेकाहीँ जन्मेको, हुर्केको गाउँको सम्झना आउँछ ।

बाल्यकालमा स्यालर (आजको प्लास्टिक) ओढेर पाखामा गाईबस्तु चराएको, घाँस काट्न जाँदा ओढो बिर्सिएर रुखमुन्तिर ओता लाग्दा रुखको पातबाट ठूला–ठूला थोपा पानी खसेर भएको मुसो रुजाइ, घाँस–सोत्तर काट्दा जुकाको टोकाइ, खेत रोपाइँको बेला रोपारहरूले गाएको असारे भाकाको काँठे गीत, बाबुआमाले ल्याइदिएको आलुको अचार र टाइचिन धानको झुरुम झुरुम गर्ने चिउराको मिठो स्वाद—यी सबै सम्झना अहिले आउँछ।

त्यो बेला टारी खेतमा पानीको भर पर्नुपर्ने हुन्थ्यो। भेल छोप्न ठूलो मेहनत गर्नुपथ्र्यो। पानी रोक्न नसक्दा मुसाको दुलोबाट बग्थ्यो, खेत सुख्खा हुन्थ्यो। हाम्रो पाटैपाटा परेको टारी खेत थियो। त्यहाँ पानी अड्नै नसक्ने भएकाले करिब पाँच सय मीटर टाढा पोखरी खनिएको थियो। वरिपरी कुलो काटेर ल्याएको पानी आधा खेतमा पुग्थ्यो, आधा कुलोमै हराउँथ्यो। खेतमा पानी पुग्नेबित्तिकै हिल्याएर कोदो रोपेजस्तो गरी धान रोप्नुपर्ने अवस्था थियो।

साँझ पर्नासाथ झ्याउँकिरीको आवाज, भ्यागुताको ट्वार–ट्वार र मकैको पातमा पानी टप्किँदा उत्पन्न हुने आवाजले एउटा संगीतकारले सिर्जना गरिरहेको उत्कृष्ट सिर्जनाको भान दिलाउँथ्यो।

सोत्तर जोहो गर्न, बारीमा जान वा काम गर्न जाँदा जुकाले टोकेर रक्ताम्मै पाथ्र्यो। जुकाले चुसेको रगत घाउमा पिल्सन्थ्यो। उपचारका लागि गाउँलेहरूको आफ्नै तरिका थियो। ‘शिवजन ट्याबलेट’ भन्ने औषधि पानीमा भिजाएर लगाइन्थ्यो। अझै भरपर्दो उपाय बुवाले बनाउने घरायसी औषधि थियो—खाएर डढेको तमाखु, चिलिमको पिँध र लोरी घोटेर पेस्ट बनाएर लगाउँदा घाउ दुई दिनमै निको हुन्थ्यो।

साँझ पर्नासाथ झ्याउँकिरीको आवाज, भ्यागुताको ट्वार–ट्वार र मकैको पातमा पानी टप्किँदा उत्पन्न हुने आवाजले एउटा संगीतकारले सिर्जना गरिरहेको उत्कृष्ट सिर्जनाको भान दिलाउँथ्यो।

साउनमा मकैबारीमा कोदो रोपिन्थ्यो। त्यो काम निकै कठिन हुन्थ्यो। हातगोडा चिलाउने, रातभर मकैको खोयाले कनाउने, कहिलेकाहीँ सियोले खोपेर रगत निकाल्ने—त्यो त गाउँले उपचारको आफ्नै शैली थियो।

भदौदेखि धान गोड्ने काम सुरु हुन्थ्यो। दिनभर निहुरेर वा बसेर गोड्दा लखतरान होइन्थ्यो। त्यसपछि भदौको तेस्रो हप्तातिर मकै भाँच्ने काम सुरु हुन्थ्यो। टण्टलापुर घाममा दिनभर मकै भाँच्ने, राति १२ बजेसम्म मकै नङ्ग्याउने—यस्तो कठिन जीवन थियो। मकै सकेपछि बल्ल धान काट्ने बेलासम्म केही फुर्सद पाइन्थ्यो।

यसैबीच, आषाढ १५ मा दही–चिउरा, साउने संक्रान्तिमा घिउ चाकु र खिचडीको परिकार, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी, तीजमा दर—यी सबै पौष्टिक परिकारले शरीरलाई बल दिन्थ्यो । संस्कार र संस्कृतिहरू अधिकांश कृषि पेशासँग जोडिएका थिए।

आज भने बाटोघाटो, हाते ट्रयाक्टर र सहरिया जीवनशैलीका कारण गाउँमा ती चाडबाडका चलन हराउँदै गएका छन्। पहिलेको जस्तो उमंग ल्याउने महत्व छैन। तर निरन्तरता, संरक्षण र पुस्तान्तरित हुन भने अझै जरुरी छ।
 

टिप्पणीहरू