त्यो दिन यस्तो गोली हान्यो कसले ?

त्यो दिन यस्तो गोली हान्यो कसले ?

मानव अधिकारको विश्वव्यापी मान्यता र नेपालको कानुनले सुरक्षाकर्मीलाई सिधै गोली हान्ने अधिकार दिएको छैन । भीड नियन्त्रणको सिलसिलामा गोली प्रहारलाई अन्तिम र बाधात्मक अवस्थाको उपज मानिन्छ । त्यो अवस्थामा पनि घुँडामुनी रबरको गोली हान्नेसम्मको अधिकार कानुनले दिएको छ । 

त्यसअघि परिस्थितिको विश्लेषण र सम्भावित जोखिम मूल्यांकन गरेर लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा हान्नेजस्ता भीड नियन्त्रणका सबै प्रयास अपनाइन्छ । तर, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताले गरेको आन्दोलनमा गोली प्रहारको विश्वव्यापी यो मापदण्ड उल्लङ्घन भएको छ । प्रदर्शनकारीको टाउकोमा ताकेर अलग-अलग मेटल गोली प्रहार भएको पाइएको छ । 

भदौ २३ गते युवा-विद्यार्थीहरू शान्तिपूर्ण प्रदर्शनका लागि माइतीघर मण्डलामा उत्रिएका थिए । मण्डलादेखि बानेश्वरसम्म नाराबाजी गर्दै सरकारलाई आफ्ना कुरा सुनाउने पूर्वनिर्धारित कार्यक्रम थियो । जब प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढ्दै गयो,भीड पनि बढ्न थाल्यो । विभिन्न स्वार्थ समूहहरू थपिँदै गए,उग्र नारा लाग्न थाल्यो । त्यतिञ्जेलसम्म सडकमा ब्यारिकेड राखेर तैनाथ प्रहरीले बल प्रयोग गरिसकेको थिएन । 

तर, जब ठूलो संख्यामा रहेका युवा बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढे त्यसपछि प्रहरीले रोक्न खोज्यो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भयो । प्रहरीले लाठीचार्ज गर्यो,पानीको फोहोर र अश्रुग्यास हानियो । तर,भीड तितरवितर हुनुको साटो झन् संगठित हुन थाल्यो । त्यतिबेलासम्म एउटा समूह संसद भवनभित्र छिरेर तोडफोडमा उत्रिसकेको थियो । त्यसपछि भने प्रहरीले गोली चलाउन थाल्यो । शान्तिपूर्ण भनिएको प्रदर्शन रणभूमिमा परिणत भयो । कलेज ड्रेसमा रहेका १९ वर्षीय किशोरसहित २२ जना गोली लागेर सडकमै ढले ।  

प्रदर्शनकारीको टाउकोमा ताकेर मेटल गोली कसले प्रहार गर्यो ? संसद भवन जोगाउन अन्तिम अवस्थासम्म सडकमै खटिएको प्रहरीले हानेको गोली टाउकोमा लाग्न कसरी सम्भव हुन्छ ?

एक-डेढ घण्टाको वीचमा डेढ दर्जन बढी कलिला स्कुले विद्यार्थीको ज्यान गएको यो घटना सामान्य होइन । यसले तत्कालीन सरकारको नालायकी त उदाङ्गो पारेकै छ, आन्दोलनमा भएको घुसपैठ र बेलैमा परिस्थितिको सही मूल्यांकन गरेर उचित सुरक्षा रणनीति बनाउन नसक्ने सुरक्षा निकायको कमजोरी पनि उत्तिकै जिम्मेवार छ । 

अघिल्लो दिनको दमनविरुद्ध भन्दै भोलिपल्ट सडकमा उत्रिएको समूहले मच्चाएको लुटपाट,तोडफोड र आगजनीबाट थप हताहती भयो । दुई दिनमा ७२ जनाले ज्यान गुमाए भने खर्बौंको भौतिक संरचना क्षणभरमा खरानीमा परिणत भयो । मृत्यु हुनेमा जेन–जी,प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र भारतीय नागरिकसमेत छन् । 

प्रश्न उठ्छ- प्रदर्शनकारीको टाउकोमा ताकेर मेटल गोली कसले प्रहार गर्यो ? संसद भवन जोगाउन अन्तिम अवस्थासम्म सडकमै खटिएको प्रहरीले हानेको गोली टाउकोमा लाग्न कसरी सम्भव हुन्छ ? जबकि संसद भवन जोगाउन अन्तिमसम्म प्रयास गरेको प्रहरीले बाध्यात्मक अवस्थामा रबर बुलेट प्रयोग गरेको दाबी गरेको थियो । अहिले पनि प्रहरीको उच्च स्रोत यसमा ढुक्क देखिन्छ । यसबारे जनआस्थाले राखेको जिज्ञासामा एक उच्च अधिकारी भन्छन्, 'सरकारले छानविनको तयारी गरिरहेकाले अहिले हामी बोल्न मिल्दैन, तर भित्री खेल डरलाग्दो छ । समयक्रममा क्रमश: खुल्दै जाला ।'     

अझ शंकास्पद कुरा चाहिँ  मृतक अधिकांशको कम्मरभन्दा माथि मेटल गोली लाग्दा अस्पतालमा उपचारत प्राय: सबै घाइतेलाई भने घुँडा मुनी रबरको गोली लागेको देखिन्छ । टाउकोमा लाग्नुको मतलब घरको छतबाट गोली हानिएको सहज आकलन गर्न सकिन्छ । के प्रहरीले नै घरको छतमा गएर गोली चलाएको थियो ? अथवा जेन-जी आन्दोलनलाई ढाल बनाएर बितण्डा मच्चाउने परिचालित समूहको हात छ ?  

एकातिर प्रहरीले रबर बुलेट चलाएको दाबी गर्नु ,अर्कोतिर मृतक अधिकांशको टाउको र छातीमा मेटल गोली लागेको भेटिनुले केही न केही गडबडीको संकेत गरेकै छ । मृतकलाई लागेको गोली र त्यसदिन सुरक्षाकर्मीले प्रयोग गरेका हतियारमा लाग्ने गोलीबारे अध्ययन गर्ने हो भने यो तथ्य बाहिर आउने नै छ । विभिन्न स्वार्थ समूहको घुसपैठ भएको आन्दोलन आयोजक र सरकार दुबैले स्वीकार गरेको अवस्थामा छानविन यहाँबाट हुनुपर्ने देखिएको छ ।

टिप्पणीहरू