महाकाली सन्धिले फेर्‍यो देशको सिमाना

महाकाली सन्धिले फेर्‍यो देशको सिमाना

बालक राजा रणबहादुर शाहका नायब राजकुमार बहादुर शाहको पहल र काजी (बडा) अमरसिंह थापाको नेतृत्वमा दार्चुला एकीकरण अभियान चलाउँदा, कञ्चनपुर, डोटी, डडेल्धुरासमेत डोटी राज्यअन्तर्गत थियो र अन्तिम डोटेली राजा दिप शाहीविरुद्ध नेपाली सेनाले १८४७ भदौ ३१ मा विजय लडाइँ गरेपश्चात स्वतः कालापानी आसपासको भूगोल र यो राज्यले चर्चेको महाकाली नदीको आधा नेपाल र आधा कुमाउँको भयो । 

महाकाली नदी पूरै नेपालको

नेपाली सेनाले महाकाली नदी तरी कुमाउमाथि हमला गर्दै बढ्दा १८४७ चैत ११ गते राजधानी अल्मोडा कब्जा भयो र कुमाउ राज्य नेपालमा गाभिएसँगै महाकाली नदी पूरै नेपालको भयो । नेपाली सेना अघि बढ्दै काँगडासम्म पुग्यो । त्यतिञ्जेलसम्म नेपाल संसारकै शक्तिशाली राष्ट्रका रुपमा स्थापित भइसकेको थियो ।

आधामा खुम्चियो

१८७१–७३ को नेपाल – अंग्रेज युद्धमा नेपालले महाकाली पश्चिमतिर हार खानुपर्‍यो । सुगौली सन्धि नहुँदै बडाकाजी अमरसिंह थापाले मलाउको किल्लामा अंग्रेज कर्नेल डेभिड अक्टलोनीसमक्ष आत्मसमर्पण गरी मे १५, १८१५ मा आफ्नो स्वामित्वअन्तर्गत सतलज नदीसम्मको भूभाग अंग्रेजलाई सुम्पेर डोटीतफ फर्कनुप¥यो । महाकाली नदीपूर्व नेपालको जमिन रह्यो । महाकाली नदी सीमा नदी बन्यो र नेपाल र अंग्रेजको आधा–आधा हक रह्यो । यस बखतसम्म पनि नेपाल–अंग्रेज युद्ध सकिएकोे थिएन । उता पूर्व टिस्टासम्म नेपालले अंग्रेजलाई हराएको थियो । सुरक्षित रहेको राजधानी काठमाडौँले महाकाली पश्चिमको जमिन गुमेकोमा खासै मन दुखाएको देखिएन । महाकाली पश्चिममा लड्ने कमाण्डरजति जर्नेल भीमसेन थापाका शुभचिन्तक नठानिएका थिए भने महाकालीपूर्व लड्ने कमाण्डरहरु उनका भाइ–भतिजा मात्र थिए । यसबाट काठमाडौँले महाकालीपूर्वका युद्धलाई ध्यान दियो भने पश्चिमी युद्धलाई वास्ता नै गरेन । यत्तिनै बेला एउटा आपत आइलाग्यो । 

महाकाली नदी फेरि पूरै नेपालको भयो

महाकाली पश्चिमको पूरै भूगोल अंग्रेजले जितेर पनि चित्त बुझाएन । र, बडाकाजी अमरसिंहलाई हराउने कर्नेल अक्टरलोनीलाई सुगौलीमा उतारी त्यहाँ ठूलो फौज जम्मा गरेर उनैको नेतृत्वमा काठमाडौँलाई निशाना बनाई मकवानपुर दरबार र हरिहरपुर गढी दरबार दुई मोहोडाबाट एकैपटक हमला बढायो । मकवानपुरमा सानातिना लडाइँँ हुँदै गर्दा हरिहरपुरमा १८७२ फागुन १६ गते अर्थात् फेब्रुअरी २६, १८१५ को दिन १० घण्टा लडाइँँका बाबजुद नेपालीको ठूलो हार भयो । यो नै नेपाल–अंग्रेज युद्धको अन्तिम लडाइँँ थियो । यही लडाइँँले १८७२ फागुन २३ गते नेपाललाई सुगौली सन्धि गर्न बाध्य बनायो । नेपाल–अंग्रेजबीच पहिलो लडाइँ नालापानी क्षेत्रको खलङ्गामा भएको थियो । सुगौली सन्धिका विभिन्न धारामध्ये किन हो कुन्नि, महाकाली नदी पूरै नेपालको हक लाग्ने गरी नदी पश्चिम मात्र ब्रिटिश इण्डियाको हुने भयो । 

किन हारियो लडाइँ ?

नेपाल–अंग्रेज युद्ध हार्नुमा २ जना पात्रको मुख्य भूमिका छ । पहिलो जर्नेल भीमसेन थापा । जिन्दगीमा १ मीनेट कहिल्यै लडाइँ लडेका उनले लुला राजा रणबहादुर शाहलाई ढाल बनाए । ९९ प्रतिशत भाइभारदार, काजीहरूले त्यसबखत अंग्रेजसँग लड्न सकिन्न, वार्ताबाट लडाइँ पर सारौं भनेकै थिए तर उनले मानेनन् । कमाण्डर इन चिफ भीमसेन थापाले शुरुमा सुबेदार हुँदा के–के गरेका थिए लेखिएको छैन । तर, स्वघोषित जनरल भएपछि एक सेक्सन (१३ जना) सम्म पनि सेनाको कमाण्ड कन्ट्रोल गरेको, तालिम लिएको र एक दिन पनि कुनै लडाइँ लडेको अभिलेख छैन । अनुभवविहीन कमाण्डरले अंग्रेजसँग युद्ध घोषणा गर्नु नै महाभूल भयो । अर्को कुरा उनले महाकाली पश्चिमका कमाण्डर चौतरिया बम शाह, बडाकाजी अमर सिंहलगायतलाई आफ्नो पक्षको नमान्नु र लडाइँका लागि लजिस्टिक सपोर्ट नगर्नु गल्ती भयो । झण्डै १८ महिनादेखि हजाराैँ नेपाली सेनाले तलब नपाएको र जागिरको पजनीसम्म भएको अवस्थाका कारण यो लडाइँ हारिन पुग्यो । हो, भीमसेन थापाको देशभक्ति बेजोडको थियो तर कुराले मात्र चिउरा भिजेन ।

जिन्दगीमा एक मीनेट कहिल्यै लडाइँ लडेका उनले लुला राजा रणबहादुर शाहलाई ढाल बनाए । ९९ प्रतिशत भाइभारदार, काजीहरूले त्यसबखत अंग्रेजसँग लड्न सकिन्न, वार्ताबाट लडाइँ पर सारौं भनेकै थिए तर उनले मानेनन् । 

अर्को गल्ती बडाकाजी अमरसिंह थापाले गरे । गढवाल क्षेत्रको युद्धमा मन दिएर लडेनन् (हेर्नुस् योगी नरहरिनाथको इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, भाग–१, पृष्ठ : ६२०–६३७) । त्योभन्दा अगाडि एकीकरण लडाइँको, १८६६ सालको पञ्जाब र काँगडाका राजाविरुद्धको लडाइँमा भीमसेन थापाका भाइ काजी नयनसिंह थापा अनि झण्डै ५०० नेपाली सेना मारिँदा पनि बडाकाजीले हेरेर बसे । पटक्कै सहयोग गरेनन् । सैनिक इतिहासकै त्यो कालो दिन र कालो घटना हो । बडाकाजी झण्डै ४ वर्षदेखि काँगडा किल्ला अर्थात् राजाको दरबार घेरेर बसेको अवस्थामा काठमाडौँबाट भर्खर पठाइएका काजी नयनसिंहले तुरुन्तै किल्लामाथि हमला गर्दा जुँगाको लडाइँ चल्यो । परिणामस्वरुप नेपालीको ठूलो खति भई केही महिनापछि हारेर सतलज नदीपूर्व बस्नुपर्‍यो । यही मितिबाट हो नेपालको पश्चिम सिमाना काँगडाबाट सरेको । 

हाल कञ्चनपुर र डडेल्धुराको महाकाली नदी प्रधानमन्त्री जंगबहादुर कुँवर राणाले फर्काएका हुन् । सुगौली सन्धिले डोटी–दार्चुला–डडेल्धुरातर्फको महाकाली खोलो पूरै नेपाललाई दिलाए तापनि कञ्चनपुर र डडेल्धुरातर्फ समथर फाँटको महाकाली खोला ब्रिटिश भारतकै थियो । यो जंगबहादुर राणाको सैनिक कूटनीतिबाट नेपालले फिर्ता पायो । वि.सं. १९१४ तदनुसार सन् १८५७ को मेदेखि भारतको मेरठबाट शुरु भएको सिपाही विद्रोहले गोरखपुरलगायत लखनौमा ठूलो जनधनलाई नोक्सानी पुर्‍यायो । धेरै अंग्रेज अफिसर र तिनका परिवार नै मारिए । स्थानीय फौज, राजा–रजौटा र स्थानीय जनतासमेत अंग्रेज राजविरुद्ध उत्रिए । यस्तो अवस्थामा भारतबाटै अंग्रेज भाग्नुपर्ने अवस्था आयो । यो विद्रोहलाई भारतले ‘स्वतन्त्रताको पहिलो लडाइँ’ भन्दछ ।

यो अवस्थामा प्रधानमन्त्री जंगबहादुरले नै इच्छा व्यक्त गरी ब्रिटिश इण्डियालाई उक्त विद्रोह दमनका लागि धेरै रेजिमेन्ट, जस्तै : गोरखा राइफल, नयाँ गोरख, श्री श्रीनाथ, सूर्यदल, कालीबहादुर, नरसिंह दल, जबर जंग, जगदल, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, समशेर दल, महिन्द्रदल, राजदल र जगन्नाथ खटाए । एउटा रेजिमेण्टमा १०२५ जनाको संख्या थियो । गज्जबको कुरो त प्रधानमन्त्री स्वयं लड्न गए । नेपाली सेनाले ब्रिटिशले नचिताएको सफलता पायो । ब्रिटिश इष्ट इण्डिया कम्पनीका नामबाट भारतमा ब्रिटिशले शासन गरिरहेकोमा यो सिपाही विद्रोह दबाउन सफल भएपछि ब्रिटिश सरकारले नै शासन गर्न थालेको थियो । यो विद्रोह निस्तेज बनाउन नेपालले ठूलो योगदान दिएबापत ब्रिटिश इण्डियाले सुगौली सन्धिमा गुमेको जमिनमध्ये कैलाली, कञ्चनपुर, बाँके र बर्दिया अर्थात् नयाँ मुलुक फिर्ता दियो । १८६० नोभेम्बर १ मा ब्रिटिश इण्डिया र नेपालको बीचमा उक्त जमिन फिर्ता पाउने सन्धि भएको थियो । अब नेपालको भूमि भई बग्ने लिम्पियाधुरादेखि तलैसम्मको पूरै महाकाली नदी हाम्रो स्वामित्वमा आयो । 

नक्कली नक्सा र मुहान सरुवा

ल्हासामा हुने नुन, सुन, ऊन, चिया र घोडाको व्यापारको महत्वलाई ब्रिटिशले राम्रै बुझेको थियो । कुमाउको महाकाली नदी नजिकै जोहार भोट अर्थात् जोहार उपत्यका र नेपालको महाकाली नजिक लिपुलेकबाट तिब्बतमा व्यापार गर्ने राम्रो सम्भाव्यता बुझेर ब्रिटिशले नेपालतर्फको लिपुलेक इलाका छाड्न चाहेन र भारतमा लण्डनबाट प्रत्यक्ष राज शुरु भएपछि भने लिम्पियाधुरामा रहेको महाकाली अर्थात् शारदा नदीको मुहानलाई परिवर्तन गरी कृत्रिम नक्शा बनाएर कालापानीतर्फ पटक–पटक धकेल्न खोजे । सुगौली सन्धिताकाको महाकाली र पछि ब्रिटिशले नै बनाएको कृत्रिम नक्शाको महाकाली फरक–फरक छन् । यही नक्कली ब्रिटिस नक्शालाई टेकेरसमेत भारत अहिले नक्कली मुहान बनाउन उद्यत छ । 

भूगोल र सीमा गुमाउने सन्धि 

मुहानदेखि नेपाल सरहदभित्र बग्ने पूरै महाकाली नेपालको मात्र हक लाग्ने नदी हो । यो सीमा नदी होइन । अनि यसमा पानीको अधिकार नेपालसँग मात्र थियो । २०५२ माघ २९ गते तदनुसार १२ फेब्रुअरी १९९६ को दिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावले सहीछाप ठोकी महाकाली सन्धि गरियो । यो सन्धिको शुरुमै लेखिएको छ कि (क) महाकाली नदी सीमा नदी हो । (ख) यसको पानी दुवै देशले बराबरी उपयोग गर्नेछन् । र, (ग) महाकाली नदी फैलिएका मुख्य स्थल (मेजर स्ट्रेचेच एरियाज) हरूलाई सीमा नदी मानिनेछ । अन्य स्थानमा सीमा नदी मान्न दुवै देश बाध्य हुने छैनन् । नेपालले जे–जति गुमायो यो सन्धिको शुरुका पृष्ठभूमि नै गुमायो । त्यसभन्दा तल सन्धिका धारा अर्थात् आर्टिकलमा लेखिएका पानीको बाँडफाँडलगायतले केही अर्थ राख्दैन । किनकि सुगौली सन्धिले नेपाललाई महाकाली नदीमाथि एकलौटी हक दिएकोमा महाकाली सन्धिमार्फत दुवै देशले पानी बराबर प्रयोग गर्ने भन्ने वाक्यांशले नदीको आधा जमिन भारतलाई दिइसकेको प्रष्ट हुन्छ ।

पानी त्यत्तिकै दिनु झन् ठूलो राष्ट्रघात हो । अर्को डर लाग्ने र षड्यन्त्रकारी काम के भयो भने महाकाली नदीको मुख्य र फराकिलो बहाव भएको स्थानलाई मात्र सीमा नदी मानियो । अरु स्थानमा सीमा मान्न दुवै देश बाध्य भएनन् । यो खतरनाक वाक्यमार्फत् सुगौली सन्धिले लिम्पियाधुरादेखि निस्केर नेपालको भूमिभित्र बग्ने महाकाली नदी सबै ठाउँमा सीमा नदी हो भनेकोमा सन्धिको प्रावधानलाई रद्द गर्दै उक्त नदी फैलिएर बगेको स्थानलाई मात्र सीमा नदी मानियो । दार्चुला क्षेत्रका पहाडबाट बग्ने महाकाली नदीको खोला–खाल्चालाई सीमा मानिएन । यही बुँदा नै ठूलो राष्ट्रघात भयो किनकि महाकाली सन्धिअनुसार लिम्पियाधुरामा महाकालीको मुहान मान्नुपर्ने बाध्यता भारतलाई रहेन । उसले बनाएको नक्कली मुहानलाई नै नेपालले समेत मान्नुपर्ने अवस्था बन्यो ।

शब्द शब्दबाट बलियो अवस्थामा बसेकाले लिपुलेक इलाकामा मोटरबाटो खन्ने र चीनसँग व्यापार नाका बनाउने कुरामा ऊ विश्वस्त रहेको देखिन्छ । महाकाली सन्धिले नेपालको भूभाग गुम्यो । सन्धि ड्राफ्ट गर्ने तत्कालीन जलस्रोतमन्त्री पशुपति समशेर राणा बेलायतको अक्सफोर्डमा पढेका अंग्रेजी भाषाका धुरन्धर ज्ञाता भएर पनि किन अरुलाई सही गर्न लगाए ? यो सन्धि बनाउने मुख्य कलाकारमा विजयसमशेर राणा र सरदार भीमबहादुर पाण्डे थिए । सन्धिमा सही गरेका मात्र हुन् प्रधानमन्त्री मोहनसमशेर राणाले । उनलाई सन्धि ड्राफ्ट गर्ने कलाकारहरूले सबै ठीक छ भनेका थिए । जे–जति गरे सन्धि ड्राफ्ट गर्ने कलाकारले नै गरे – गराए । सोही प्रारुपमा तात्कालीन जलस्रोतमन्त्री र उनका कर्मचारीलाई प्रयोग गरी भारतले यो महाकाली सन्धि गरायो । 

महाकाली सन्धिबाट नेपाली भूगोल भारतलाई बेचियो कि सित्तैमा दिइयो ? यकिन छैन । तर, सुगौली सन्धिले चर्चेको जमिन भारतलाई सुम्पेको पक्का हो र नेपालको सीमा नै परिवर्तन भइसक्यो । यो देश बेच्ने काम गरिसकेपछि नयाँ नक्शा बनाएर नाक फुलाउने काम गर्नु फेरि अर्को राष्ट्रघात होइन र ? महाकाली सन्धिबाट महाकाली नदीको सीमा लिम्पियाधुरा नै हो भन्ने नेपालको दावी पुग्न सक्ने आधार कहाँ छ ? सक्कली भूगोल बेचेर नक्कली भूगोलको नयाँ नक्शा किन बनाइयो ? महाकाली सन्धिले लिम्पियाधुरा, कुटी, नाबीलगायतको भूगोललाई नेपालको सीमा मानेको छैन । अर्थात् भारतले नमाने पनि हुने भनिएको छ ।

तसर्थ, नेपाल सरकारले गरेको महाकाली सन्धिको राष्ट्रघात र नयाँ नक्शाको राष्ट्रवादले हामी नेपालीलाई धोका दिएको छ । यो सन्धि गराउँदाका सभामुख र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, उस बखतका प्रधानमन्त्री शेरबहादुर देउवालगायत सन्धि गराउने कलाकारमध्ये वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली, सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाका सर्व ज्येष्ठ सदस्य पशुपतिसमशेर राणा, पूर्वप्रधानमन्त्री माधव नेपाललगायतले यो सन्धि गरेर किन सुगौली सन्धिलाई टुक्र्याइयो ? नेपाली जनतालाई जवाफ दिनै पर्छ । महाकाली सन्धिले गर्दा लिपुलेकको सम्बन्धमा हामीले चीन र भारतलाई गाली गर्ने ठाउँ दिएको छैन । महाकाली सन्धिले भारतलाई मात्र फाइदा पुगेको छ । लेखक सीमाविद् र जलस्रोतविद् होइन । यद्यपि, पुराना नजिर र इतिहासलाई अगाडि राखेर यो लेख तयार पारिएको छ ।
 

टिप्पणीहरू