बलियो लोकतन्त्रका निम्ति सभामुख र अध्यक्षको आग्रह
जेनेरेशन जेड अर्थात ‘जेन जी’ को आन्दोलन अराजक र हिंसात्मक बनेपछि प्रहरीको सुरक्षामा पुगेका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बलियो लोकतन्त्रका लागि प्रतिबद्ध रहन सबैलाई आग्रह गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै दुवैले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गरेर अझै उन्नत,समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध रहन अपिल गरेका हुन् । विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने स्मरण गराउँदै उनीहरुले संवैधानिक प्रक्रियाबाटै मुलुकलाई विकास दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता,राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ’,विज्ञप्तिमा भनिएको छ,‘यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं ।’
त्यसैगरी, सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनका क्रममा ज्यान गुमाएका युवा र प्रहरीको परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन् ।

टिप्पणीहरू