संविधान भित्रबाटै निकास खाेज्न एकीकृत समाजवादीको माग
नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रै खोजी अन्तरिम सरकार गठन गर्नु पर्ने माग गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमा जेन–जी आन्दोलनले उठाएका मागहरुलाई सम्बोधन गर्दै संविधानमार्फतै नै निकास खोज्न आग्रह गरिएको छ।
विज्ञप्तिमा उल्लेख छ, “जननिर्वाचित संसदमा रहेका राजनीतिक दलसमेतलाई सहभागी बनाई वर्तमान संसदबाटै संशोधन गरी आज आन्दोलनकारीहरूले उठाएका मागहरू सम्बोधन गर्दै संविधानभित्रबाटै निकास खोजी अन्तरिम सरकार गठन गर्न हार्दिक आग्रह गर्दछु।”
पाण्डेले वर्तमान असहज परिस्थितिको निकास २०७२ को संविधानबाटै सम्भव हुने भन्दै चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, “यदि संविधानभन्दा बाहिर गएर निकास खोज्न प्रयास गरियो भने हामी अन्त्यहीन विवादमा फस्नेछौँ र देश र जनताले सधैँ दुःख भोग्नेछन्।”
सोही विज्ञप्तिमा पाण्डेले नेपालको स्वतन्त्र र सार्वभौम राज्यलाई विदेशी शक्तिको प्रभावमा पार्ने जोखिमसमेत औँल्याउँदै सतर्क रहन आग्रह गर्नुभएको छ।
टिप्पणीहरू