चितवनमा पनि अवस्था भयावह
जेनजी समूहले चितवनमा पनि आक्रमण जारी राखेकधो जारी छ । केपी ओली मूर्दावाद भन्दै चौबीसकोठी चोकमा ठूलो संख्यामा प्रदर्शन र नाराबाजी हुँदै गर्दा एक समूहले अघि दिउँसो एमाले पार्टी कार्यालय चितवनमा तोडफोड र आगजनी गरेको थियो ।
भर्खरै जिल्ला प्रहरी कार्यालय वरपर र अगाडि आगजानी र तोडफोडका घटना हुन थालेका छन् । केहीबेर पहिले ठूलो संख्यामा अघि बढेका प्रदर्शनकारीले अस्पताल रोडमा रहेका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड र आगजानी गरिसकेका छन् । सोक्रममा कृषि विकास कार्यालय चितवनको गाडी फोडिँदै थियो । दिउँसो कृष्णपुरस्थित माओवादी पार्टी कार्यालयमा पनि आगजनी एवम् तोडफोड गर्ने भनिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर महानगरपालिका, रत्नगर नगरपालिका र खैरहनी नगरपालिकामा पनि प्रदर्शनकारीहरुबाट आगजनी र तोडफोड भएको बताइन्छ । जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनकारीहरुबाट सुरक्षाकर्मीहरुतिर ढुंगामुढा प्रहार भएको थियो भने भीडलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए ।

भरतपुर महानगरपालिका कार्यालय अगाडि ट्याक्टर जलाएको भिडियो आएको छ । मालपोत चोकमा सडक सुरक्षा सामग्रीमै आगो दन्काइएको छ । छुट्टाछुट्टै समूह बनाएर परिचालित जेनजीका समर्थकहरु विभिन्न चोक–चोकमा जम्मा भएर आक्रमण गर्दैछन् । प्रदर्शनकारीहरु हजारौंको संख्यामा हूलका हूल देखिएका छन् ।
समूह–समूहमा यत्रतत्र छरिएका उनीहरु अहिले गाडीसमेत लिएर, ठूल्ठूलो आवाजमा मोटरसाईकल पड्काउँदै लाठीमुङ्ग्रीसहित हिँडिरहेको र अराजक रुपमा प्रस्तुत भइरहेका हुँदा चितवनमा अत्यन्त तनावको स्थिति छ ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ठूलो संख्यामा परिचालन गरिएको भएपनि यी प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न गाह्रो भइरहेको छ । जेनजी को नाममा गणतन्त्र विरोधी शक्तिको यसमा चर्काे घुसपैठ भइरहेको बुझ्न कठिन छैन ।

यसैबीच, प्रदर्शनकारीहरुको गतिविधि नियन्त्रणबाहिर पुगेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आज बिहान १२ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि पूर्वतर्फ केन्द्रीय बस टर्मिनल, पश्चिमतर्फ नारायणी पुल (पुलचोक), उत्तरतर्फ पोखरा बसपार्कदेखि विशालचोक र दक्षिणतर्फ त्रिचोक (भरतपुर एयरपोर्ट पछाडिको चोक) क्षेत्रभित्र आवत्जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन गर्न नपाउने गरी कफ्र्यु आदेश जारी भएको हो ।
‘चितवनमा अहिले कहीँ केही बाँकी छैन’ सिडिओ गणेश अर्यालले भने, ‘जिल्ला प्रहरी कार्यालय सुरक्षा गर्न सकिन्छ कि हतियार भनेर लागिराछौं हामी ।’ अहिले प्रदर्शनकारीहरुको हूल जिल्ला ट्राफिक प्रहरी कार्यालयतिर प्रवेश गरिरहेको प्रजिअले बताए ।
‘चितवनका अधिकांश सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ । अहिले डिटेल दिनसक्ने अवस्था छैन, एकदम भयावह अवस्था छ’, उनले भने ।
नापी कार्यालय, राजस्व कार्यालय, इलाका प्रहरी कार्यालय टाँडी भाटभटेनीमा समेत आगजनी गरिएकाे छ ।




टिप्पणीहरू