सस्तो गोलीले नचिनेको तन्नेरी जमात

सस्तो गोलीले नचिनेको तन्नेरी जमात

‘सरकारमा बसेपछि
बन्दुक पाइन्छ
बन्दुकभित्र गोली पाइन्छ
सिँत्तै – सस्तो
सस्तो –सजिलै 

जब कुर्सी हल्लन्छ
बन्दुक आँखामा आउँछ 
आँखामा गोली सलबलाउँछ

सुइ्ययँ... भररर्र...ढ्याक्क 

सत्ता महंँगो हुन्छ
र मान्छे सस्तो,
मान्छे सस्तिएपछि 
गोली पनि सस्तिने नै भयो 

गोलीको अगाडि
कुनै नैतिकता बच्दैन 
बाघ घाइते भयो भने 
कस्तो उधुम मच्याउँछ जङ्गलमा

सरकारको दोकानमा 
सबै चिज महंँगो छ 
खाली एउटै चिज सस्तो छ, गोली
सिँत्तै ।  सस्तोमा पाएको वस्तु पनि 
के महंँगोमा बेच्नु  हौ !’ (‘सस्तो / महंँगो’ २०५० मङ्सिर ) 

यही भदौ २० –२२ मा गोदावरीमा चलेको नेकपा (एमाले) को दोस्रो विधान अधिवेशनको दोस्रो दिन हरिसिद्धि घुम्तीमा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री रामबहादुर मगरको गाडीले स्थानीयवासी एक बालिकालाई ठक्कर दिएपछि अधिवेशनको बैठक केही समय रोकियो । हिन्दू विश्वासानुसार दलका लागि त्यो एउटा अपशकुन थियो । आखिर अधिवेशनले के कस्तो निर्णय गर्यो, जगजाहेर छ । सारा विरोधीलाई बोल्न रोक लगाएर, धम्क्याएर, अपमानित गराएर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तेस्रो कार्यकालको अध्यक्ष पद पक्का गराउन सबै सो नाटक गराएका थिए । आफ्नै अग्रसरतामा ल्याइएको ७० बर्से उमेरहद र पदाधिकारीको दुई कार्यकाललाई अधिवेशन नाम दिएर हटाई सम्पन्न भएको अधिवेशनका बैठकमा गाडी दुर्घटनालाई उनले सामान्य रूपमा लिए र अधिवेशन भाँड्न खोजेकोसम्म भन्न भ्याए ।      

दलभित्रका विरोधी आवाज अँठ्याउने र सकभर दलबाट बाहिर निकाल्ने उनको हर्कतले नेकपा (एकीकृत समाजवादी) खोल्नसमेत बाध्य पार्यो । पछि घनश्याम भुसाल र भीमबहादुर रावल निस्केपछि पनि उनका लागि विद्यादेवी भण्डारी अर्काे काँडो भइदिइन् । सरकारका विरोधीहरूलाई पनि अनेक लाञ्छना लगाउने, व्यक्तिगत तवरमा ओर्लेर तथानाम गाली गर्ने उनको प्रवृत्ति झन् झन् मौलाउँदो छ । माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नाम त दिनको एक पटकजसो मुखमा झुन्डिन्छ गाली गर्नका लागि । सबलाई तह लगाएँ भन्ने उनको घमन्डले युवा पुस्तालाई त मान्छे नै गनेको थिएन ।     

आफ्नै मन्त्रिपरिषद्का साह्रै गनाएका, भ्रष्टको आरोप लागेकाहरूलाई काखी च्यापेर राजीनामा नगराउन उनी उद्दत रहे । सबैले राजीनामा गरे त कुन मन्त्रीलाई पो काम दिनु र ? पोखराको जग्गा प्रकरणमा घुसको भिडिओ बाहिरिएपछि सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्रीले राजीनामा गरे पनि सोही काण्डमा मुछिएका बलराम अधिकारी अझै कुर्सीमा छन् जसले माफियाहरूलाई जग्गा दिन र हदबन्दीभन्दा बढीको गिरिबन्धु चिया बगान बिक्री गराउन भूमिसम्बन्धी विधेयक ल्याएका थिए । आफू ऐन ल्याएर हदबन्दीभन्दा बढी भएको जग्गा बेच्न स्वीकृति दिने प्रपञ्च गर्ने अनि आफ्ना विरोधी नेकपा (एस) का अध्यक्षलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत मुद्दा हाल्न लगाउने उनको नियत छर्लङ्गै थियो, छ ।

अझ भिजिट भिसा प्रकरणमा आरोपित अर्का मन्त्री रमेश लेखक पनि प्रधानमन्त्रीले च्याप्ने नै भए । योे सरकार बदनाम भएको त्यो पनि एक मुख्य काण्ड नै थियो र छ । आखिर छानबिन समिति गठनको नाटक गराएर लेखकलाई उम्काउने दाउ सबैले थाहा पाएकै थिए । लेखकले राजीनामा गरेमा सरकार दुनियाँका अगाडि झन् गिर्नेवाला थियो र पाठकरूपी जनताले कति गिल्ला गर्थे, गर्थे । आखिर उनलाई गोली काण्डले लगेरै छाड्यो । त्यति बाठा र तर्क गर्न सक्ने मन्त्रीले समेत आजका तन्नेरीहरू के खोज्दै छन् भन्ने भेउ पाउन सकेनन् जो दाजुभाउजुको मोहले बाँधिएका न थिए ।   

गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाका पालामा त गोली कति चले, चले, कति मरे मरे, हिसाब गिन्ती छ्रैन । यिनै ओलीले भने मनमोहन अधिकारीको नौमहिने कालमा एउटा पनि गोली नचलाएको भनी प्रशंसा गरिएको थियो । तर उनीभित्रको पाप भरिँदै भरिँदै गएर अहिले बिसौँ तन्नेरीलाई मारेपछि छताछुल्ल भयो । भ्रष्टको आरोप लागेका गृहमन्त्रीलाई च्याप्नु नै ओलीको पनि पाप भरिनु थियो । लेखकले भिजिट भिसा काण्डमा राजीनामा गरेका भए नेपाली कांग्रेसकै अर्काे बिचरा गृहमन्त्रीले ओलीका निर्देशनमा गोली हान्ने आदेश दिन्थ्यो, लेखक बच्थे, कमसे कम कलिला युवालाई मार्न उनले आदेश त दिनुपर्दैनथ्यो । आखिर गृहमन्त्री जो भए पनि युवाको बौद्धिकता र तिनले गरेको खबरदारीप्रति ईष्र्या र क्रोध त ओलीमा थियो नै ।  

राजतन्त्र विरोधी जनमतका कारण दुई जनाले गत वर्ष चैत १५ गते जीवन गुमाउनुपरे  पनि लेखकले राजीनामा गर्नुपरेन, ओली पनि जोगिए । यस पालि पनि तिनै राजावादी, राप्रपा र रास्वपालाई घुसपैठ गरेको आरोप लगाएर सरकारका कार्यकारी प्रमुख उम्कन खोज्दै छन्, उनका गृहमन्त्रीले त नाकाचालले राजीनामा गर्नैपर्‍यो । मोदी र सी जस्तो बन्ने इरादा राखेका बिचरा हाम्रा नेता आखिर फेरि प्रतिनिधिसभा विघटन गरेर चुनाव गराउन पाउँछु कि भन्दा हुन्, यसपालि पनि अदालतले त्यसो गर्न उनलाई दिँदैन ।

 कारागारमा परेका रवि लामिछानेको दलको अर्ली इलेक्सनको माग र हाम्रा कार्यकारी प्रमुखको मक्सद मिले पनि देउवा, दाहाल र नेपाल मिलेर फेरि परमादेश ल्याइदिन्छन् । केपी ओली हाइहाइ भन्ने जमात पो कता गएछ हँ ? जेनजीका अगाडि आज बन्दुक, गोली, सबै थुरथुर भएका छन् । अफगानिस्तानका तालिबान भनेका विद्यार्थी हुन्, यहाँका जेन्जी पनि विद्यार्थी । विद्यार्थीको तागत कस्तो हुन्छ भन्ने कुरा हाम्रा नेताहरूले २०३६ मै देखिसकेका छन्, अर्थाेक हाउगुजी किन चाहियो र भन्या !

टिप्पणीहरू