सदा सम्झनामा रहिरहने यस्ता एक शासक
मिर्जा वाजिद अलि साह अवधका अन्तिम नवाब हुन् । उत्तरी भारतको एउटा राज्य अवधमा २५ वर्षकै उमेरमा नवाब अर्थात शासक बनेका थिए । उनी इरानको निशापुरका सदत खाँले सन् १७२४ देखि अवधमा नवाबी शासन शुरु गरेका थिए । पहिला फैजाबाद र पछि लखनउलाई राजधानी बनाए । शुरुमा यो मुगल शासनअन्तर्गत थियो, पछि स्वतन्त्र राज्य बन्यो अनि सन् १८५६ मा ब्रिटिशहरूले कब्जा गरे । बादशाह बन्नुअघि नै साहित्यकार, संगीतकार र गजलकारको रूपमा प्रसिद्धी कमाइसकेका थिए । नृत्य–संगीतप्रति लगाव थियो । बादशाह बनेको २ वर्षमै सिकिस्त बिरामी हुँदा चिकित्सकले घुमघाम, अतिरिक्त क्रियाकलापमा बढी ध्यान दिन सल्लाह दिए । यसपछि शेर र शायरी सुन्ने, सुनाउने, साहित्य, संगीत, नृत्य, नाटक मञ्चनको विकासमा लगाए ।
बाबुल मोरा, नैहर छुटो हि जाए
चार कहार मिल, मोरी डोलिया उठाएँ
मोरा अपना बेगाना छुटो जाए
अंगना तो पर्वत भयो और देहरी भयी विदेश
जाए बाबुल घर आपनो मैं चली पियाके देश ।
उनीद्वारा लिखित र भैरवी रागमा आधारित यो ठुमरीलाई धेरै भारतीय गायक÷गायिकाले गाएका छन् । सन् १९३८ मा निर्मित हिन्दी चलचित्र ‘स्ट्रिट सिंगर’ मा समेत यो गीत कुन्दनलाल सहगलले गाएका थिए । सत्यजीत रेको चलचित्र शतरञ्जके खिलाडी नवाब वाजिद अलि साहकै जीवनीमा आधारित चलचित्र हो । जसमा वाजिदको भूमिका अभिनेता अमजद खाँले निभाएका थिए । पहिलो बिहे १५ वर्षकै उमेरमा नवाब युसुफ खाँकी छोरीसित गरेका वाजिदले कूल ३ सय ६५ रानी भिœयाए । पहिलो पत्नी आलम आरालाई भारतीयहरू आजपर्यन्त उत्कृष्ट मान्दछन् । दोस्री पत्नी मुहमदी खानुम अर्थात् बेगम हजरत महलले सन् १८५७ मा ब्रिटिश सरकारविरुद्ध विद्रोहको नेतृत्वसमेत गरिन् ।
सन् १८५६ मा ब्रिटिश सरकारले अवधलाई आफ्नो शासनअन्तर्गत ल्याएर वाजिदलाई सिंहासनबाट हटायो । वाजिदले असन्तुष्टि पोख्न बेलायत जाने र महारानी भिक्टोरियालाई भेट्ने मन बनाए । आमा मल्लिका किश्वरबहादुर फख्र उज जमानी, भाइ सिकन्दर हसमत र विश्वासिला मन्त्री अनि नजिकका नातेदारहरूलाई लिएर कोलकाता पुगे । तर त्यहाँ पुग्नासाथ मन बदले र त्यहीं बस्ने भए । कोलकाताको बसाइमै उपरोक्त गीत ‘बाबुल मोरा, नैहर छुटो हि जाए’ लेखेका थिए । सन् १८५७ मा जब त्यहाँ क्रान्ति भयो, ब्रिटिश सरकारले यसमा उनको हात रहेको शंकासहित समातेर फोर्ट विलियम पठाइदियो, जहाँ उनी २ वर्ष रहे । रिहा भएपछि निकै टाढाको हुगलीमा बंगला र मासिक १ लाख भारु भत्ता पनि दिलाइदिए ।
वाजिदले बंगलाको नाउँ ‘सुल्तानखाना’ राखे, भित्र एउटा छुट्टै मस्जिद बनाए । सुल्तानाखाना निकै ठूलो थियो तर सबै रानी, केटाकेटी, मन्त्रीगण, लखनउबाटै ल्याइएका नोकरचाकर, भान्छेहरू राख्न अपर्याप्त भए र बाहिर २ वटा ठूला भवन भाडामा लिनुपर्यो । वाजिदले मासिक १ लाख पाउँथे तर त्यो रकम अपुग हुन्थ्यो । जव उनले खर्च कम गर्न लागे एक जना रानी मासुक महलको छोरोले ब्रिटिश सरकारसमक्ष सिकायत दर्ज गरे । सरकारले उनी र उनकी आमाको लागि भनेर छुट्टै मासिक २५ सय दिन थाल्यो । यो कुरो वाजिदलाई मन परेन । मासुकलगायत २७ पत्नीलाई सन् १८७८ को जुलाई ३१ मा एकैदिन तलाक दिए । उक्त घटना नवाबहरू कस्ता शौखिन हुन्छन् भन्ने दृष्टान्त दिन्छ । सन् १८५६ मा ब्रिटिश सेनाले लखनउमाथि कब्जा जमाउँदा दरबारियाहरू सबै भागाभाग भए । सेना ढोकाभित्र छिरिसक्दा पनि नवाब वाजिद भने भागेनन् । त्यसबखत उनी नाङ्गाे खुट्टामा थिए । सेनाले सोधे– नवाब साहब, सबै दरबारिया भागिसके तर तपाईं किन यहीँ ? उनको जवाफ थियो, ‘म जुत्ता लगाइदिने नोकर पर्खेर बसिरहेको थिएँ ।’
वाजिद अरु शासक जस्तो थिएनन् । तरबार भिरेर लडाईं लड्न जाँदैनथे । त्यसैले धेरै इतिहासकारहरू उनलाई काम नलाग्ने, ऐयासी, काँतर शासक भनेर आलोचना गर्छन् । यथार्थमा उनी उदारवादी शासक थिए । ब्रिटिश प्रशासक मेजर जनरल विलियम हेनरी स्लिमनले लेखेका छन्– अवधको गद्दीमा वाजिदजस्तो शानदार बादशाह कोही बसेनन्, उनले हिन्दू, मुस्लिम, सिख, इसाइमा कुनै बैरभाव राखेनन्, कतै लागेनन्, जबकि उनी मुसलमान शासक थिए । कोलकाता हिँडेपछि उनको अनुपस्थितिमा लखनऊ अनाथ जस्तो बनेको थियो । किनभने उनी सबैसित भेट्थे, गफ गर्थे, नाच्थे, गाउँथे । उनको ९ वर्षको शासनकाल अविस्मरणीय रह्यो ।
करिब सय वटा पुस्तकका धनी वाजिदले २६ वर्षको उमेरमा लेखेका थिए–परीखाना । आफ्नो ऐयासीबारे खुलेर वर्णन गरिएको छ । उनले ८ वर्षकै उमेरमा यौन सम्बन्ध राख्न कोसिस गरेका थिए, दरबारकै महिला परिचारिकासित । सानैमा आमाकी ३५ वर्षीया सहायिकासित यौनसम्बन्ध राखे । जुन सम्बन्ध २ वर्षसम्म चल्यो । यसपछि फेरि बन्नो साहिबासित प्रेमचक्कर चलाउँदा मात्र ११ वर्षका थिए । बन्नो विवाहित भएकीले शारीरिक सम्बध बनाउन पाएनन्, पछि उनैकी बहिनी हाजी खानमसित प्रेम गरेर सम्बन्ध राखे । यद्यपि, उनी पनि विवाहिता थिइन् । हाजीसित आफू १४ वर्षको हुँदासम्म सम्बन्ध राखिराखे । १५ वर्षमा त बिहे नै गरे ।
उनी ऐयासी त थिए नै ! तर, महिलाप्रति सम्मान पनि उत्तिकै राख्थे । प्रायः शासकहरू आफूलाई मन परेपछि जसलाई पनि दरबारमा हाजिर गर्न लगाउँथे र ‘रखैल’ बनाएर राख्थे । त्यसबखत ३ महिना र बढीमा ६ महिनासम्म रंगरंगेलियाँ मनाएर छाड्ने महिलालाई ‘रखैल’ को दर्जा दिइन्थ्यो तर वाजिदले कसैलाई त्यसो गरेनन्, मन परेपछि बिहे नै गरे र रानीको दर्जा दिए । साहित्यिक र कलाकारिताको मन भएका उनी रानीहरूलाई भेला गरेर उनीहरूको बीचमा बसिरहन मनपराउँथे । उनका राजनीतिक आलोचकहरू धेरै थिए, मन पराउने पनि उत्तिकै । अपदस्थ भई कोलकाता जान लाग्दा लखनउदेखि कानपुरसम्म रुँदै बिदाइ गर्नेहरूको ताँती लागेको थियो । उनी कृष्णजन्माष्टमीको दिन आफैँ कृष्ण बनेर नाच्थे, गाउँथे ।
नवाब बन्नुअघि पनि हिन्दू नृत्य परम्परालाई अघि बढाउन लागिरहन्थे । केटीहरूको लुगा लगाएर र खुट्टामा घुँघरा बाँधेर नाच्थे । दरवारियाहरू भविष्यका शासकको रवैया यस्तो नहोस् भन्ने चाहन्थे । एकपटक उस्तै पहिरनमा नाचिराखेको देखेपछि ४–५ जना दरवारिया दौडेर नवाब अमजद अलि साहकोमा पुगे । हजुरलाई यो केटो अवधको शासन चलाउन सक्षम हुन्छन् भन्ने लाग्छ ? भनेर बिन्ती चढाए । अमजदले सोधे – के भयो ?
उनीहरूले भने – उनी त पाउजु बाँधेर नाच्दै छन् ।
अमजदले रिसाउँदै भने – बोलाऊ उसलाई ।
वाजिद त्यही पहिरनमा दौडेर पितासामु पुगे र सलाम गरे । छोरालाई देखेर नवाब हाँसे अनि भने– भयो जाऊ । त्यसपछि छोराविरुद्ध उजुरी गर्न आउनेहरूलाई सोधे – थाहा छ, ऊ को हो ?
उजुरीकर्ताहरू – हजुरको पुत्र, सानो नवाब ।
अमजद – देख्यौ, ऊ यतिखेर कुन अवस्था र कुन पहिरनमा छ ? उसले पाउजु बाँधेर ऊ दगुर्दै यहाँसम्म आइपुग्दा र दगुर्दै फर्कंदाको आवाज तिमीहरूले सुन्यौ ? सुनेनौ ! अब भन, जुन व्यक्ति आफ्नो कलामा यति निपुण छ, गद्दीमा बस्दा उसले कति सन्तुलन मिलाएर शासन गर्छ होला ।
नभन्दै वाजिदले ९ वर्ष शासन गरे र सबै जाति, धर्म, लिंगका जनताको मन जिते । जीवनमा ‘अख्तर’ उपनाउँले धेरै शायरी लेखेका उनको निधन ६५ वर्षको उमेरमा सन् १८८७ मा भयो ।
टिप्पणीहरू