शेखरका कार्यकर्ताद्वारा काँग्रेस कार्यालयमा तोडफोड र तालाबन्दी
पूर्व एसएसपी विक्रम सिंह थापामाथि कारबाही गरिएको विषयलाई लिएर नेपाली काँग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ । शेखर कोइराला निकट मानिने थापालाई पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यबाट पदमुक्त गरिएको भन्दै उनका पक्षधर कार्यकर्ताले तौलिहवास्थित पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।
जिल्ला नेता अनुपकुमार पाण्डेयको नेतृत्वमा पुगेको करिब ४० जनाको समूहले कार्यालयभित्रका कुर्सी तोडफोड गर्दै मूल गेटमा तालाबन्दी गरेको बताइन्छ । पार्टी जिल्ला सचिव प्रेम रायमाझीका अनुसार कार्यालयभित्रका १३ वटा कुर्सी तोडफोड भएको छ ।
दुई वर्षअघि प्रदेश कमिटीमा मनोनयन गरिएका थापालाई जिल्ला सभापति अब्दुल कलामको दबाबमा कारबाही गरिएको आरोप थापा समर्थकहरूको छ ।
थापालाई साउन ११ गते कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले कारबाहीको पत्र पठाए पनि भदौ १५ गते मात्र उक्त पत्र सार्वजनिक भएको थियो। पत्र सार्वजनिक भएलगत्तै कांग्रेस नेता दीपकुमार उपाध्याय र उनका छोरा आशिष शर्माले सामाजिक सञ्जालमार्फत थापामाथिको कारबाही ‘प्रतिशोधपूर्ण’ रहेको बताउँदै कडा आपत्ति जनाएका थिए।

टिप्पणीहरू