‘परिस्थितिका कारण दुई पटक बिहे गरेको सत्य हो’

‘परिस्थितिका कारण दुई पटक बिहे गरेको सत्य हो’

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग पारपाचुके (डिभोर्स) भइसकेको स्पष्टीकरण दिएका छन् । पार्टीले ३५ दिनसम्म सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’बाट उम्मेद्वार छनोट भएका उनीमाथि बहुविवाहको आरोप लागेपछि सामाजिक सञ्जालमार्फत् डिर्भोसका पत्रहरु सार्वजनिक गरेका गर्दै उक्त भनाइ राखेका हुन् । 

न्युरो चिकित्सक थापाले आफ्नो पारिवारिक जीवन ‘न गैरकानुनी, न समस्यापूर्ण’ रहेको दावी गरेका छन् । ‘ममाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिनँ होला, तर मैले बुझेको छु यो आक्रमण ममाथि होइन, यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो’, उनले भनेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो, र त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।’

थापाले प्राइमरी इलेक्सनमा भाग लिनुअघि नै आफ्नो निजी जीवनबारे पार्टीलाई जानकारी गराएको पनि बताएका छन् । भनेका छन्, ‘मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ ।’

पहिलो श्रीमतीसँग डिभोर्स भए पनि बच्चाको भविष्यको लागि अहिले पनि सुमुधुर सम्बन्ध रहेको उनले प्रष्ट पारेका छन् । ‘एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन’, उनले थपेका छन्, ‘तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो।’

थापाकी पहिलो श्रीमती सुलोचना घिमिरे हुन् भने दोस्रो नुमा शर्मा । उनका हालकी र पूर्वपत्नी दुवै जना मेडिकल फिल्डमा रहेको बताइन्छ ।

टिप्पणीहरू